शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।
मिनुस्मा मिसन नाम दिइएको मालीको शान्ति मिसनमा संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकका करिब १५ हजारभन्दा बढी शान्ति सैनिक तथा कर्मचारी खटिएका थिए ।
विद्रोही समूह र सरकार पक्षको लामो तनावपछि सन् २०१३ मा नयाँ सैनिक सरकारको गठन भएसँगै त्यहाँ शान्ति मिसनको अनुमति दिइएको थियो । १० वर्षको अवधिमा शान्ति सैनिकमा कार्यरत ३११ जनाले मालीमा ज्यान गुमाएका थिए भने अन्य सात सय जनाभन्दा बढी घाइते भएका थिए ।
पश्चिम अफ्रिकी भूपरिवेष्ठित मुलुक मालीका विभिन्न भेगमा द्वन्द्व रहँदारहँदै पनि शान्ति सैनिकले त्यहाँको नागरिकको जिउधनको रक्षासँगै स्थानीयलाई नेतृत्वदायी सिप विकास क्षमता बढाउन सघाएका थिए ।
मालीमा अहिलेसम्म गरेको काम सराहनीय रहेको र आवश्यक परेको खण्डमा फेरि तैनाथ गर्न सकिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । शान्ति सैनिक मिसन हटे पनि संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसले सञ्चालन गर्ने परियोजनाका कार्यालय र तिनका काम भने मालीमा कायम रहने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन मालीमा सकिएपछि नेपाली सैनिक फिर्ता हुने क्रम जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार १८२ जनामध्ये अब १६ जना मात्र फर्कन बाँकी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश