आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व हिन्दी दिवस

नेपालमा हिन्दी भाषाको महत्त्व र सान्दर्भिकता

बुधबार, २५ पुस २०८०, १३ : ५३
बुधबार, २५ पुस २०८०

नेपालमा हिन्दी भाषालाई विदेशी भाषा ठानेर यसलाई कमजोर पार्ने काम पञ्चायती कालदेखि हुँदै आएको छ । लोकतान्त्रिक शासनको तीन दशकमा पनि यही मानसिकता देखियो । सुरुमा हिन्दी भाषालाई कमजोर बनाउन मैथिली भाषीलाई उचाल्ने काम गरियो र अब मैथिलीलाई कमजोर बनाउन मगही, बज्जिका, थारु र अन्य भाषालाई चर्चामा ल्याउने काम भइरहेको छ । यसको एक मात्र उद्देश्य वडादेखि केन्द्रसम्म एक मात्र नेपाली भाषालाई स्वीकार्य बनाउनु हो ।

भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित रहन सक्दैन । जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिक रूपमा त्यति नै धनी र समृद्ध मानिन्छ । नेपालमा हिन्दी र संस्कृत भाषाहरूलाई विदेशी भाषा मान्न सकिँदैन, किनभने यसको उपयोग हाम्रो धर्म–संस्कृति, संस्कार र सभ्यतामा पनि अभिन्न रूपमा हँुदै आएको छ । नेपालमा हिन्दी भाषाको औचित्य र सान्दर्र्भिकता आज पनि छ । 

नेपालमा राणा शासनकालमा खासगरी २००७ सालसम्म एउटा क्याम्पस र स्कुल मात्रै थियो र त्यसको परीक्षाको सञ्चालन पनि पटना विश्वविद्यालयमार्फत हुने गरेको थियो । स्वाभाविक रूपमा त्यतिबेला हिन्दी भाषा नेपाली विद्यार्थीका निम्ति अनिवार्यजस्तै हुन गएको थियो । राणाशासक पनि तराईवासीसँग हिन्दी भाषामै कुराकानी गर्न रुचाउँथे । त्यसपछिका दिनमा देशका अनेकौँ प्रधानमन्त्रीले तराई–मधेसको क्षेत्रमा हिन्दी भाषाको प्रयोग गरेका छन् । हिन्दी भाषा नेपालीका निम्ति पराई भाषा होइन, यो हाम्रो निम्ति नेपालीपछि दोस्रो सम्पर्क भाषाको स्थान ग्रहण गर्ने अवस्थामा छ । 

प्रत्येक नेपालीले दिनहु“ कुनै न कुनै रूपमा हिन्दी भाषाको प्रयोग गरिरहेका छन् । चाहे त्यो माध्यम भजन–कीर्तन, गीत–सङ्गीत, समाचारपत्र, साहित्यिक पत्रिका, धर्मशास्त्र, गजल अथवा हिन्दी भाषाका समाचार, कार्टुन, सिनेमा एवं टीभी सिरियलहरू नै किन नहोस् । 

हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि भारतको संविधानले मान्यता दिएको छ । अर्को देशको भाषालाई आत्मसात गर्दा कुनै देशको सार्वभौमिकता र अखण्डतामाथि खतरा आएको उदाहरण आजसम्म हेर्नमा आएको छैन ।

२००८ सालदेखि देशमा शिक्षा संस्कृतिको क्षेत्रमा पनि जागरण आउन थाल्यो । रेडियो आदि सञ्चारमाध्यममा हिन्दी भाषाको प्रयोग हुन थाल्यो । हिन्दी भाषामा अनेकौँ समाचारपत्र प्रकाशित हुन थाले, साथै यसको विरुद्धमा षड््यन्त्र पनि हुन थाले । यस षड्यन्त्रको जन्मदाताका रूपमा एक अमेरिकी शिक्षा सल्लाहकार (डा. एचबी उड)ले नेपाल सरकारलाई बुझाएको आफ्नो प्रतिवेदनमा प्रस्ट रूपमा लेखेका थिए– संस्कृत मातृभाषा हो । जब कि उनले हिन्दीलाई विदेशी भाषा बताएका थिए । त्यतिबेला यसको चारैतिर उग्रविरोध भएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले यस अनावश्यक विवादलाई समाप्त पार्ने काम गरे । 

एकपटक फेरि २०१० सालतिर हिन्दी भाषालाई विद्यालय र क्याम्पसको शिक्षाबाट हटाउने षड्यन्त्र भयो । सम्पूर्ण तराईमा यसको कडा विरोध पनि भयो र यसको प्रतिक्रिया महेन्द्रनारायण निधिको अध्यक्षतामा ‘हिन्दी रक्षा समिति’को गठन पनि भएको थियो । त्यस समितिले तराईवासीको अधिकार रक्षाको सम्बन्धमा एउटा ज्ञापन पनि सरकारलाई बुझाएको थियो, जसमा विधिवत रूपमा एउटा प्रस्ताव पारित गरी हिन्दीलाई सम्पूर्ण तराईको प्रतिनिधि भाषा तथा तराई र पहाडबिचको सम्पर्क भाषाको रूपमा स्थान दिइएको थियो । 

देशमा नयाँ शिक्षा योजना लागू गरिएपछि प्राथमिक स्तरबाटै हिन्दी भाषालाई हटाई नेपाली भाषालाई अनिवार्य मााध्यम बनाउने काम भयो । जब तल्लो कक्षाबाट नै हिन्दी भाषालाई हटाउने काम भयो, अनि स्वाभाविक रूपमै निम्न माध्यमिक, माध्यमिक तथा क्याम्पसमा हिन्दी भाषा पढ्नेहरूको सङ्ख्या कम हुने नै भयो । बिस्तारै बिस्तारै नेपालका क्याम्पसमा पनि हिन्दी भाषाको पढाइ कम हुँदै गयो । हुन त त्रिभुवन विश्वविद्यालयमा अहिले पनि हिन्दी भाषाको पढाइ हुने गर्दछ, तर त्यसमा पढ्ने विद्यार्थीको उत्साह भने कमजोर हुन्छ । हिन्दी भाषा नेपालमा प्राथमिक कक्षादेखि क्याम्पससम्म प्रचलनमा थियो र नियमित रूपमा यसको पठनपाठनमा रोक नलगाइएको भए यसले नेपालमा नेपालीपछिको दोस्रो राष्ट्रभाषाको स्थान पनि ग्रहण गरिसकेको हुने थियो ।

नेपालमा प्रायः सबैजसो ठुला साहित्यकार, कवि एवं पूर्वप्रधानमन्त्रीहरू, स्व. बीपी कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दी भाषामा उत्कृष्ट रचना गरेका छन् । हिन्दी भाषालाई विदेशी भाषाको रूपमा प्रचारप्रसार गर्ने तथा हिन्दीविरोधी जनमत बनाउने तथा भारतलाई विस्तारवादी भएको आरोप लगाउने हाम्रो देशका कथित राष्ट्रवादीहरू भारतीय भूमिमा पाइला टेक्नेबित्तिकै आफ्नो राष्ट्रियतालाई बिर्सिदिन्छन् र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा बोल्नुको सट्टा हिन्दी भाषामै बोल्न थाल्छन् किनभने भारतीय सीमामा प्रवेश गर्नेबित्तिकै रिक्साचालक, बस कन्डक्टर, रेल–वे प्लेटफार्म तथा रेल–वेका कर्मचारी तथा रेलका सहयात्रीसँग हिन्दी भाषामै कुराकानी गर्ने गर्छन् । देशभित्र जुन भाषालाई घृणा गर्दछ, भारतमा गएर त्यही भाषालाई आत्मसात गर्छन् । 

जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिक रूपमा त्यति नै धनी र समृद्ध मानिन्छ । नेपालमा हिन्दी र संस्कृत भाषाहरूलाई विदेशी भाषा मान्न सकिँदैन, किनभने यसको उपयोग हाम्रो धर्म–संस्कृति, संस्कार र सभ्यतामा पनि अभिन्न रूपमा हुँदै आएको छ । नेपालमा हिन्दी भाषाको औचित्य र सान्दर्भिकता आज पनि छ ।

हिन्दी भाषा धेरथोर उर्दू भाषासँग पनि मिल्दोजुल्दो खालको हुन्छ । भारतमा ५० लाखभन्दा बढी नेपाली कुनै न कुनै रूपमा जागिर गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । त्यसैगरी अरब राष्ट्रहरूमा पनि लाखौँको सङ्ख्यामा गएका छन् । अरब राष्ट्रहरूमा नेपालीले हिन्दी भाषाको प्रयोग नै गरिरहेका हुन्छन्, तसर्थ हिन्दी भाषाको मान्यताले नेपालीलाई भारतसहित अरब राष्ट्र मात्रै होइन, विश्वका अधिकांश देशमा बस्न र जागिर गर्न अपेक्षाकृत सहजता हुनेछ । 

हिन्दी भाषालाई लिएर हाम्रो देशमा आडम्बर देखाउने काम पनि अलि बढी नै भएको छ । भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका दौरान भारतीय पत्रकारले हिन्दीमा प्रश्न सोध्दा उनले हिन्दीमै जवाफ फर्काएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने अङ्ग्रेजीमै जवाफ फर्काएका थिए । उनै डा. भट्टराई एक रात्रिको विश्राम सिरहाको कुनै दलितको घरमा बिताउनुपर्ने अवस्था आयो, उनले हिन्दी भाषाको प्रयोग गरेका थिए । नेपालमा हिन्दी बोल्दा हीनताबोधको अनुभूति हुने तर भारतमा गएर हिन्दी बोल्दा आफूलाई बहुभाषी विद्वान् ठान्ने आडम्बरका कारण जनता सामु समस्यामा उत्पन्न हुने गरेको छ । 

विगत साढे दुई दशकदेखि नेपालको संसद्मा हिन्दी भाषा बोलिन्छ । रेडियो नेपालबाट दिनहु“ समाचार पनि प्रसारण हुने गर्दछ, तसर्थ हिन्दी भाषा तराई–मधेस तथा पूर्वी एवं पश्चिम पहाडका जनताका निम्ति मात्रै होइन, पूरै देशको सम्पर्क भाषा बन्ने अवस्थामा छ । नेपाली भाषापछि हिन्दीको स्थान नेपालमा अवश्य पनि छ । 

राजकीय संरक्षण र सहयोगको अभावमा कुनै पनि भाषा एवं संस्कृतिको विकास हुन सक्दैन । नेपालमा जब–जब नेपाली भाषाको समकक्ष हिन्दी भाषालाई दोस्रो सम्पर्क भाषाको रूपमा मान्यता दिलाउने प्रयास गरिन्छ, अनि क्षेत्रीय भाषाका अभियन्ताहरूलाई उचाल्ने काम गरिन्छ । यसको परिणामस्वरूप क्षेत्रीय भाषाका केही सीमित अगुवाहरू सरकारी बजेट हात पार्न सफल हुन्छन् तर यसबाट क्षेत्रीय भाषाको विकास भएको पाइँदैन । आजसम्म नेपालीबाहेक अर्को कुनै पनि भाषा एवं साहित्यको उत्थान हुन नसक्नु यसको ठुलो उदाहरण हो ।

नेपालको संविधानको धारा ६ मा राष्ट्रभाषाको शीर्षकमा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने लेखिएको छ, जब कि धारा ७ मा सरकारी कामकाजको भाषा सम्बन्धमा ‘देवनागिरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने उल्लेख छ । जब कि सोही धाराको उपधारा २ मा ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ’ भन्ने उल्लेख छ । यस्तै उपधारा ३ मा ‘भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ’ भन्ने उल्लेख छ । यसरी उपधारा ३ को प्रावधानले भोलिका दिनमा विभिन्न किसिमको समस्या सिर्जना गर्ने र अन्ततः एक भाषाकै नीति प्रदेशमा पनि लागू हुने निश्चित छ । 

नेपालको संविधानको धारा ३ मा राष्ट्रको परिभाषामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मानिएको छ । यस्तो अवस्थामा यहा“का सबै जातजाति एवं भाषाभाषीले आफ्नो भाषा एवं संस्कृतिको संरक्षण एकनासले गर्न पाउनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन । 

नेपालमा नेपालीपछि सर्वाधिक बोलिने, बुझिने र व्यवहारमा आउने भाषा हिन्दी नै हो । हिन्दीलाई विदेशी भाषा भनेर यसको स्वीकार्यता, आवश्यकता, महत्त्व एवं सान्दर्भिकतालाई औचित्यहीन साबित गर्न सकिँदैन । 

२००७ सालसम्म एउटा क्याम्पस र स्कुल मात्रै थियो र त्यसको परीक्षाको सञ्चालन पनि पटना विश्वविद्यालयमार्फत हुने गरेको थियो । स्वाभाविक रूपमा त्यतिबेला हिन्दी भाषा नेपाली विद्यार्थीका निम्ति अनिवार्यजस्तै हुन गएको थियो । राणाशासक पनि तराईवासीसँग हिन्दी भाषामै कुराकानी गर्न रुचाउँथे ।

विश्वका अन्य कतिपय देशका भाषाले भौगोलिक सीमालाई नाघी अन्य देशमा मान्यता प्राप्त गरेको अनेकौँ उदाहरण छन् । अङ्ग्रेजी भाषा त विश्वकै भाषा बन्न गएको छ । हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि भारतको संविधानले मान्यता दिएको छ । अर्को देशको भाषालाई आत्मसात गर्दा कुनै देशको सार्वभौमिकता र अखण्डतामाथि खतरा आएको उदाहरण आजसम्म हेर्नमा आएको छैन । अरबी भाषा, साउदी अरबको भाषा हो तर अल्जेरिया, इराक, कुवेत, लेबनान, सिरिया, मोरक्को, ओमान, कतार, सुडान, ट्युनेसिया, यमन र युएईजस्ता दर्जनौँ राष्ट्रले यसलाई आफ्नो राष्ट्रभाषा बनाएका छन् ।

स्पेनिस स्पेनको भाषा हो तर भेनेजुयला, पेरु, पाराग्वे, पनामा, निकारागुवा, मेक्सिको, क्युबा, चिली, ग्वाटेमाला र ब्राजिलको भाषा पनि स्पेनिस नै हो । 

फ्रेन्च फ्रान्सको भाषा हो तर बेल्जियम, कङ्गो तथा आइभरकोस्टको भाषा पनि फ्रेन्च नै हो । जर्मन चाहिँ स्विट्जरल्यान्डको प्रमुख भाषा हो । ग्रिक साइप्रसको भाषा हो, जब कि ग्रिस देशको स्थापना नै भाषाकै नाममा भएको हो । पोर्चुगलको भाषा पोर्चुगिस हो तर यो अल्जेरिया, ब्राजिल र मोजाम्बिकको भाषा बन्न गएको छ । बङ्गाली भाषा बङ्गलादेशको राष्ट्रभाषा हो, जब कि यसको राष्ट्रिय गीतकै रचनाकार भारतीय कवि हुन् । बङ्गाली भाषाका प्रायः सबै विद्वान् एवं कविहरू भारतीय नै हुन् । 

२०१७ सालसम्म नेपालमा हिन्दीको उच्च स्थान थियो र यसको सान्दर्भिकता अहिले पनि छ । नेपालमा राणाविरोधी आन्दोलन होस्, पँुजीपति तथा जमिनदारविरोधी किसान आन्दोलन होस् अथवा २०४६ सालको पञ्चायतविरोधी आन्दोलन होस्, सबैमा हिन्दी भाषाका पर्चा, पोस्टर, नारा, कविता र साहित्यले ठूलो सहयोग गरेको थियो, तसर्थ कवि, लेखक, विद्वान र साहित्यकारको आफ्नो भौगोलिक सीमा नभएजस्तै भाषाको पनि कुनै भौगोलिक सीमा हँुदैन । नेपालमा हिन्दी भाषाको महत्त्व र सान्दर्भिकता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीमन्नारायण
श्रीमन्नारायण
लेखकबाट थप