सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबल लिग अर्को महिना हुने

आइतबार, १६ वैशाख २०८१, २० : २९
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेपाल भलिबल संघको आयोजनामा आठौँ प्रधानमन्त्री कप/एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ ।

जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । गत चैतमा काठमाडौँमा भएको आठौँ आरबीबी/एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुने छन् ।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ । महिलामा प्रहरी, एपीएफ, न्यु डायमन्ड, आर्मी, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्ने छन् । पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष/महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एक आपसमा खेल्ने छन् । शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने छ । उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइने छ । उपत्यकाका टिमको हकमा खाजा खर्च बापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २ सय ५० रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । २०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशि करिब २ लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनीय वृद्धि गरिएको अध्यक्ष चन्दले बताए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ । बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

आयोजक भलिबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार्दै प्रतियोगिता अझ व्यवस्थित ढंगले आयोजना गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप