आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
तेस्रो लगानी सम्मेलन

विदेशीको सहभागिताबाट स्वदेशी लगानीकर्ता उत्साहित (भिडियोसहित)

सम्मेलनमा आउने प्रतिबद्धता कार्यान्वयन चुनौतीपूर्ण
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सहभागी स्वदेशी उद्यमी तथा व्यवसायीमा उत्साह देखिएको छ । यसअघिका दुई लगानी सम्मेलनबाट खासै ठुलो उपलब्धि हात पार्न नसकेको नेपाल तेस्रो लगानी सम्मेलनबाट प्रतिफल हात पार्ने योजनामा छ । सोही कारण आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनबाट निजी क्षेत्रमा उत्साह छाएको हो ।

सम्मेलनमा सहभागी अधिकांश स्वदेशी उद्योगी व्यवसायी तथा लगानीकर्ता विदेशी लगानीकर्ताको उपस्थितिबाट उत्साहित बनेका छन् । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको हो । निजी क्षेत्रको विचारमा सम्मेलनमा आउने प्रतिबद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा सरकारले काम गर्नुपर्ने छ, जुन चुनौतीपूर्ण छ ।

लगानी सम्मेलनको उद्घाटन सत्रमा बोलेका सबैजसो वक्ताले नेपालको जलविद्युत क्षेत्रले नै लगानीको उच्चतम सम्भावना बोकेको बताए । भारत र बंगलादेश बजारका रूपमा रहँदा नेपालमा उच्चतम उत्पादनको सम्भावना रहेको उनीहरूको भनाइ छ । सोहीकारण भावी दिनमा नेपालको जलविद्युत क्षेत्रमा ठुलो लगानी गर्ने विदेशी लगानीकर्ता र उच्च ओहोदाका व्यक्तित्वहरूको भनाइ छ ।

सम्मेलनमा विदेशी लगानीकर्ताले नेपालमा जलविद्युतपछि सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्र लगानीको प्रमुख क्षेत्रका पहिचान गरेको पाइएको छ ।

लगानीको वातावरण बन्दै जानेमा विश्वस्त : अन्जन श्रेष्ठ (वरिष्ठ उपाध्यक्ष, एफएनसीसीआई)

सरकारको प्रतिबद्धता हेर्दा अब देशमा लगानीको वातावरण बन्छ भन्ने देखिन्छ । यसले निरन्तरता पाउनुपर्छ । सम्मेलनमा अत्यधिक विदेशी लगानीकर्ताको सहभागिता देखिएको छ । अमेरिका, चीन, भारत र बेलायतका राजदूतले नेपाललाई लगानी भित्र्याउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसबाहेक सम्मेलनमा सहभागी अन्य लगानीकर्ताले समेत नेपालको विकासका लागि लगानी बढाउने घोषणा गरेका छन् । सरकारले ९ वटा ऐन संशोधन गरेको छ भने अन्य ऐनसमेत संशोधन गर्ने सरकारको घोषणा छ । यसबाट भावी दिनमा लगानीको वातावरण झनै बन्दै जान्छ भन्नेमा निजी क्षेत्र विश्वस्त छ ।

लगानी सम्मेलन सफल भइसकेको छ : राजेश अग्रवाल (अध्यक्ष, सीएनआई)

पहिलो कुरा त यो लगानी सम्मेलन उद्घाटनसत्रबाटै सफल भइसकेको छ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट २ हजार हाराहारी लगानीकर्ता आउनु नै यसको सफलता हो । निजी क्षेत्रको नजरमा यो लगानी सम्मेलन सफल भइसकेको छ । लगानी सम्मेलनमा विश्वका ६० देशबाट लगानीकर्ता आएका छन् । पछिल्ला दिनमा सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न चाहेको देखिन्छ । यसैको परिणामस्वरुण ९ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । अब सम्मेलनपछि प्रतिबद्धता र इच्छाअनुसार विदेशी लगानीकर्तासँग निरन्तर सम्पर्कमा बस्नुपर्छ ।

लगानीको वातावरण छ भन्ने सन्देश गएको छ : राजेन्द्र मल्ल  (निवर्तमान अध्यक्ष, चेम्बर)

यो सम्मेलनबाट नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश गएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नेगरी आगामी दिनमा देशको रेटिङ गर्नुपर्छ । खस्केको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि अघिल्ला दुई सम्मेलनबाट पाठ सिकेर अघि बढ्नुपर्छ । विगतमा सम्मेलनको आयोजना गर्ने तर आयोजनामा आएको प्रतिबद्धतालाई बेवास्ता गर्ने क्रम थियो । यो सम्मेलन अघिल्ला दुई सम्मेलनको तुलनामा उत्कृष्ट छ ।

विदेशी लगानी ऊर्जामय बन्छ भन्ने बुझाइ छ : गणेश कार्की (अध्यक्ष, इप्पान)

आज सम्मेलनको उद्घाटन सत्रमा सहभागी स्वदेशी र विदेशी लगानीकर्ताको मुख्य प्राथमिकता नै जलविद्युत देखियो । यसबाट जलविद्युत क्षेत्र नै भावी दिनमा नेपालको विकासको आधार बन्ने देखियो । अब नेपालको जलविद्युत क्षेत्रलाई आर्थिक गतिविधि चलायमान बनाउन, विश्वको लगानीलाई नेपाल भित्र्याउने लक्ष्यका रूपमा लिनुपर्छ ।

यो सम्मेलनमा लगानीका लागि भनेर निजी क्षेत्रले धेरै परियोजना प्रस्तुत गरेका छन् । सरकारले विदेशी लगानीकर्तालाई स्वागत गर्न इच्छा देखायो, अब उनीहरूको चाहनाअनुरुप अघि बढ्नुपर्छ । भावी दिनमा नेपालमा आउने विदेशी लगानी ऊर्जामय बन्छ भन्ने बुझाइ सम्मेलनबाट हामीले पाएका छौँ ।

सम्मेलन नेपालको बैंकिङ क्षेत्रका लागि महत्त्वपूर्ण छ : सुनिल केसी (अध्यक्ष, बैंकर्स सङ्घ)

यो लगानी सम्मेलन नेपालको बैंकिङ क्षेत्रका लागि महत्त्वपूर्ण छ । यसबाट नेपालका बैंकसँग मिलेर विदेशी बैंकले विदेशी लगानी बढाउन सक्छन् । यसप्रकारको लगानी सम्मेलनले देशको आर्थिक गतिविधि चलायमान बन्नेमा दुई मत छैन । जसको परिणाम समग्र नेपाली बैंक क्षेत्रले पाउँछ ।

अहिलेको अवस्थामा नेपालका सबैजसो बैंक लगानीका लागि सहजपूर्ण स्थितिमा छन् । अब यो सम्मेलनबाट विदेशका बैंकसँग समेत काम गर्ने अवसर सिर्जना हुनेछ । यसबाट नेपालका बैंकको क्षमता वृद्धिमा समेत योगदान हुन्छ । सम्मेलनबाट आउने प्रतिबद्धतालाई कार्यान्वयन गर्न नेपालको बैंकिङ क्षेत्र पूर्णरुपमा तयार छन् ।

लगानी वर्ष नै घोषणा गर्न सक्नुपर्छ : आरके शर्मा (नेता, एनआरएनए)

लगानी सम्मेलन आज सम्पन्न भएपछि भोलि फल खाइहाल्ने विषय होइन । सम्मेलनमा सहभागी सबैजसो लगानीकर्ताले सूचना प्रविधि, जलविद्युत, पर्यटन र कृषिलाई महत्त्व दिएका छन् । यो लगानी सम्मेलनमा मात्रै अड्किने होइन, लगानी वर्ष नै घोषणा गर्न सक्नुपर्छ । भावी दिनमा नेपालको मन्त्रीस्तरीय टोली विदेशमा जानुपर्छ र ती देशका लगानीकर्तालाई नेपालमा लगानीको सम्भावनाबारे जानकारी दिनुपर्छ । नेपाल सरकार, राजनीतिक दल र अन्य सबैजसो सरोकारवाला निकायले लगानी वर्ष नै घोषणा गरेर अघि बढ्नुपर्छ । र अबको एक दशक आर्थिक क्रान्तिका लागि लड्नुपर्छ भन्ने मेरो विचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया