सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोशीको सभामुख विवाद

लोहनीलाई सिटौलाको चुनौती : ४२ जना सांसद ब्याक गराउने तागत छ ?

बिहीबार, २६ पुस २०८०, ११ : ५२
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख अम्बरबहादुर विष्टलाई फिर्ता नबोलाउने अडान राखेका छन् ।

राप्रपा निर्देशन समितिले सभामुख विष्टलाई फिर्ता बोलाउन पार्टी केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको निर्देशनप्रति सिटौलालाले असन्तुष्टि जनाए  ।

निर्देशन समितिले सभामुख भइसकेपछि निर्देशन दिँदा छलफल समेत गर्न सम्भव नभएको उनको भनाइ छ । ‘कोशीको सभामुखलाई फिर्ता बोलाउनु भनेर निर्देशन समितिका संयोजक प्रकाशचन्द्र लोहनीको वक्तव्य आयो । त्यो वक्तव्य हामीले सभामुख बनाइसकेपछि आयो,’ उनले भने, ‘पहिले आएको भए पार्टीको आग्रज नेताहरूले भनेको कुरा गम्भीरताका साथ लिएर छलफल गर्थ्यौँ । उहाँहरूले वक्तव्य पठाउन विलम्ब गरिदिनुभयो ,’  

दलका नेता सिटौलाका अनुसार सभामुखले राजीनामा दिने वा फिर्ता बोलाउने सम्भावना छैन । ‘राजीनामा किन दिने ? राजीनामा दिँदैनौँ हामीहरू  । चुनाव, सडक र सदनलाई सदुपयोग नीति लिएर पार्टी अगाडि बढेको छ । त्यही अनुसार हामी चुनाव लडेको हो । किन चुनाव नै लड्नुहुन्थेन,’ उनले भने ।

पार्टीको निर्देशन समितिको तागत भए संघीयसहित ४२ जना सांसदलाई फिर्ता बोलाउने निर्देशन दिन सिटौलाको चुनौती छ ।  

 ‘एउटा सभामुख नबन भन्ने मात्र होइन । निर्देशन समितिसँग यत्रो ठुलो दल छ भने ४२  (प्रतिनिधिसभाका १४ र प्रदेशसभाका २८ ) जनालाई ब्याक गर्नुपर्‍यो,’ उनले चुनौती दिँदै भने, ‘जति मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य सबैलाई ब्याक गर्नुपर्‍यो नि सडकमा बसेर आन्दोलन हुन्छ भने । त्यत्रो तागत राख्ने निर्देशन समितिले यसरी पो निर्देशन गर्नुपर्‍यो त ।’

सभामुखका सन्दर्भमा राप्रपा कोशी प्रदेश संसदीय दल एक कदम पछाडि नसर्ने सिटौलाको अडान छ । पुस २४ मा राप्रपा प्रदेश सांसद विष्ट कोशी प्रदेशको सभामुखमा सर्वसम्मत चयन भएका थिए । उनलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो । सभामुख चयन भएपछि विष्टले पार्टीबाट अलग भएको पत्र बुझाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप