बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धन दलको निर्वाचन समन्वय समिति गठन

बिहीबार, २६ पुस २०८०, २२ : ४५
बिहीबार, २६ पुस २०८०

हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूले बागमती प्रदेश निर्वाचन समन्वय समिति गठन गरेका छन् । बिहीबार सम्पन्न सत्ता गठबन्धन दलहरूको प्रदेश स्तरको बैठकले आगामी माघ ११ म हुने राष्ट्रियसभा निर्वाचन केन्द्रीय निर्वाचन समन्वय समिति २०५० को बैठकको निर्णयअनुसार ‘बागमती प्रदेश निर्वाचन समन्वय समिति २०८०’ गठन गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धनका तीनै दलका प्रदेशका सभापति र अध्यक्षहरू, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, नगरपालिका महासङ्घ नेपालका बागमती प्रदेश अध्यक्ष, गाउँपालिका महासङ्घ नेपालका बागमती प्रदेश अध्यक्ष, तीनै दलका प्रदेश पदाधिकारीहरू र गठबन्धनबाट राष्ट्रियसभा सदस्यका चारैजना उम्मेदवारहरुको उपस्थितिमा काठमाडौँमा सम्पन्न बैठकले समन्वय समिति गठन गरि उम्मेदवारलाई विजयी बनाउन भूमिका खेल्ने निर्णय गरेको हो । 

बैठकले एकीकृत रुपमा चुनावी गतिविधि समन्वय गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश अध्यक्ष सावित्री भुसाल रहेको समिति गठन गरेको हो ।

बागमती प्रदेशसभा सदस्यहरूसँग चुनावी समन्वय गर्न नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनाल रहेको समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले प्रदेश भित्रका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट विजयी प्रमुख र उपप्रमुखहरूसँगको समन्वय नगरपालिका महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्कीले गर्ने, प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षहरूसँगको समन्वय गाउँपालिका महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा मगरले गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचन केन्द्रीय निर्वाचन समन्वय समिति २०८० को बैठकको निर्णय र निर्देशानुसार प्रदेशका १३ वटै जिल्लामा सत्ता गठबन्धन दलका अध्यक्ष र सभापतिहरूलाई अविलम्ब राष्ट्रियसभा निर्वाचन जिल्ला निर्वाचन समन्वय समिति २०८० गठन गरी सोको जानकारी प्रदेश समन्वय समितिमा पठाउन बैठकले आग्रह गरेको छ । 

बैठकले माघ ६ गते शनिवार काठमाडौँमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू र मतदाताहरूबिच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

ccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप