शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

शुक्रबार, ०५ माघ २०८०, ०६ : २६
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ ।

लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा) र डा सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ । महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा छन् भने साह आन्दोलनमै छन् । साहले ११ माघमा मधेस बन्दको आह्वान गरेका छन् । यस्तै, उनले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । उता, संघीय र प्रदेश दुवै सरकारमा सहभागी डा राउत सरकारकै विरुद्ध आन्दोलनमा छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर २०७८ भदौमा गठन भएको लोसपाको केन्द्रीय समिति दुई वर्षपछि विस्तार भयो । लोसपामा अध्यक्ष महन्थ ठाकुरको परिवारवाद हावी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप लगाउँदै वरिष्ठ नेता महतो असन्तुष्ट छन् । केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छाडेका छन् । हालै उनी नयाँ दिल्ली पुगेर काठमाडौँ फर्किएपछि नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा जुटेका छन् ।

नयाँ दिल्ली पुगेका महतोले भारतीय जनता पार्टी (बीजेपी)का पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको उनीनिकट एक नेताले जनाएका छन् । बीजेपी नेतासँग भेटघाट गरेर नेपाल फर्किपछि उत्साहित भएका महतोले मधेसमा आन्दोलन चर्काउने योजनाअनुसार पार्टीका केन्द्रीय नेतालाई काठमाडौँ बोलाएर छलफल थालेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप