शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुनकिरी घट्दा किसानलाई समस्या

बिहीबार, १८ माघ २०८०, ०६ : १९
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् । 

शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै आएको छ । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो ।

प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो सहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको हो ।

कृषि अनुसन्धान परिषद् ९नार्क० का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउछन् । जुनकिरीको सङ्ख्या घटेसँगै किसानको बालीमा शङ्खेकिराको प्रकोप बढेको उनले दाबी गरे । 

जुनकिरीको लार्भा अवस्थामा शङ्खेकिरा मुख्य आहार हुने भएको र जुनकिरीको सङ्ख्या घट्दा शङ्खेकिराको सङ्ख्या बढिरहेको उनले उल्लेख गरे । यो भनेको जङ्गलमा बाघको सङ्ख्या घट्दा मृग र खरायोको सङ्ख्या बढे जस्तै हो । जुनकिरीको सङ्ख्या घट्दा खेतबारीमा शङ्खेकिरा बढेको उनले स्पष्ट पारे । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप