शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
किसानका पीडा

शीत भण्डारमै सुन्तला कुहिएकोबारे वैज्ञानिकको निष्कर्षसँग सहमत छैनन् किसान

शनिबार, २० माघ २०८०, ०६ : १२
शनिबार, २० माघ २०८०

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएको प्रकरणमा नार्कका वैज्ञानिकको निष्कर्षसँग पीडित किसानहरु सहमत हुन सकेका छैनन् ।

पाणिनी गाउँपालिका–२ पोखरा थोकमा रहेको शिव शक्ति शीत भण्डारमा सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन सुन्तलामध्ये ६३ मेट्रिक टन सुन्तला ढुसी लागेर नष्ट भएको हो । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरी प्रतिवेदन दिए पनि किसानहरु उक्त प्रतिवेदनमा उल्लेखित विषयसँग सहमत देखिएका छैनन् ।

उक्त प्रतिवेदनमा सुन्तला ‘रफ ह्याण्डलिङ र ट्रिटमेन्ट नमिलेका’कारण हरियो र निलो ढुसीले कुहिएको उल्लेख छ । भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, पञ्जा नलगाई शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण गर्ने क्रममा सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेका कारण अघिल्ला वर्षको ढुसीका जीवाणु नष्ट नभएको प्रतिवेदनमा जनाइएको छ ।

३ वर्ष अगाडि प्रदेश सरकार र स्थानीय शिव शक्ति मिश्रित किसान समूहको लगानीमा निर्माण भएको शीत भण्डारमा गत वर्ष पनि सुन्तला कुहिएका थिए । अहिले पनि भण्डारण गरिएको ७० प्रतिशत सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

किसान समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले शीत भण्डारणमा राखेका सुन्तला कुहिएको विषयमा आफूहरूलाई दोष देखाएर प्रतिवेदन आएको भन्दै उक्त प्रतिवेदनप्रति असहमत रहेको बताए ।

‘हामीले गत वर्ष पनि नोक्सान बेहोरेका थियौँ, अहिले प्रदेशबाट आएको प्राविधिक टोलीले तीन दिन तालिम दियो, उनीहरूले भने अनुसार नै औषधि तथा सबै व्यवस्थापन गरेर शीत भण्डारमा सुन्तला राखिएको थियो,’ उनले भने, ‘सुन्तला कुहिएकोमा हाम्रो दोष छैन ।’

7

अनुसन्धानमा आएका वैज्ञानिकहरूले युरोप र अमेरिकाको जस्तै गरी उपकरण तथा व्यवस्थापन हुनुपर्ने तर्क दिँदै प्रतिवेदन बनाएको पौडेलको आरोप छ । यहाँको अवस्था, उपलब्ध साधन स्रोतका आधारमा ती सबै मापदण्ड पूरा गर्न सम्भव नहुने उनको भनाइ छ ।

भण्डारण गरेको एक महिनामै सुन्तला कुहिएपछि अध्ययन गर्न प्रदेश कृषि निर्देशनालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई पत्राचार गरेको थियो । सोही बमोजिम वरिष्ठ वैज्ञानिक आचार्य अनुसन्धानका लागि आएका थिए ।

उनलाई साथ दिन कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागबानी अधिकृत सुनयना बराइली र कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको टोली सामेल थियो ।

‘क्षतिपूर्तिको लागि प्रक्रिया अगाडि बढाउँछौँ’

प्रत्येक वर्ष सुन्तला कुहिएपछि शीत भण्डार अब कसरी सञ्चालन गर्ने भन्नेबारे अध्ययन गरिएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले रातोपाटीलाई बताए ।

उनले प्रदेशमा शीत भण्डार सञ्चालनका लागि दक्ष जनशक्ति खोजी भइरहेको खुलाए । अर्घाखाँचीमा निर्माण भएको शीत भण्डारमा सुन्तला बाहेक गाजर, बन्दा काउली राख्ने प्रक्रिया अगाडि बढाउने बताए । सुन्तला भण्डार गर्न भारतका केही स्थानमा प्रदेश कृषि निर्देशनालयको लगानीमा किसानलाई भ्रमण समेत गराउने योजना रहेको उनले बताए ।

4

किसानले बेहोरेको क्षतिबारे जिल्ला कृषि ज्ञान केन्द्रबाट प्राविधिक पठाएर वास्तविक क्षति विवरण सङ्कलन गरी कृषि मन्त्रालयमा राहत लागि पहल गर्ने पाण्डेले जानकारी दिए ।

२०७५ सालमा किसान समूहको २५ प्रतिशत र प्रदेश सरकारको ७५ प्रतिशत गरी करिब २ करोडमा स्थापना भएको शीत भण्डारको निर्माण २०७७ सालमा सम्पन्न भएको थियो । २०७८ सालमा उक्त शीत भण्डारमा राखिएका सुन्तलामध्ये झण्डै आधाजसो कुहिएमा थिए । त्यो बेला सुरुको वर्ष भनेर किसानले आफैँ क्षति बेहोरेका थिए । गत वर्ष पनि सुन्तला कुहिएपछि प्रदेश कृषि मन्त्रालयबाट गएको प्राविधिक टोलीले सुन्तला शीत भण्डारमा राख्नुभन्दा अगाडि पूरा गर्नुपर्ने तयारीबारे तीन दिनसम्म तालिम दिएको थियो । तर सोही तालिम अनुसार सुन्तला भण्डारण गरे पनि सुन्तला कुहिएको भन्दै किसानले क्षतिपूर्ति माग गरेका छन् ।

131211

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप