मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

संसदीय दलको नेता चयनका विषयमा छलफल चलेको छैन : सांसद पन्त

सोमबार, २६ जेठ २०८२, २१ : ४९
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • नेकपा एसकी सांसद माया पन्तले सुदूरपश्चिम संसदीय दलको नेता चयनबारे हाल कुनै छलफल नभएको बताइन्।
  • पूर्व मुख्यमन्त्री दीर्घ सोडारीलाई पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा निलम्बन गरिएको छ।
  • अख्तियारले सोडारीमाथि मुद्दा दायर गरेपछि, अब संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुनेछ।

धनगढी । नेकपा एकीकृत समाजवादीकी सांसद माया पन्तले नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम संसदीय दल नेता चयनका विषयमा अहिले केही पनि छलफल नभएको बताएकी छिन्। उनले अहिले नै नेता चयनका विषयमा कुनै पनि छलफल नहुने बताएकी हुन्।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एसका चार ओटा सांसद थिए। प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री दीर्घ सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएसँगै प्रदेश सभामा नेकपा एसका सांसद तीन जना रहने छन्।

प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।

सोडारीले पदको दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो। उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रुपैयाँ वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।

त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिको छानबिन गरेको थियो।

सोडारीले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको भन्दै उनीमाथि थप कैद र जरिवाना समेत अख्तियारले माग गरेको हो। सोडारी निलम्बनमा परेसँगै अब संसदीय दलको नेता चयनका विषय प्रक्रिया थालिने छ। यश विषयमा अहिले केही छलफल नभएको सांसद पन्त बताउँछिन्।

‘अहिले केही पनि छलफल भएको छैन, अब बैठक बस्छ, अहिलेसम्म बैठक पनि बसेको छैन, त्यही भएर संसदीय दलको नेता चयनका विषयमा केही पनि छलफल भएको छैन,’ उनले भनिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप