सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
शनिबार विशेष : संघर्ष र सफलता

३०० रुपैयाँ बोकेर सहर छिरेका सरोज अहिले कमाउँछन् मासिक १२ लाख

अब नेपालमै केही गर्ने हुटहुटी
शनिबार, १७ जेठ २०८२, १९ : ००
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • सरोज थापा, एक नेपाली पेष्ट्री सेफ हुन् । साउदी अरबमा कार्यरत उनी मासिक १२ लाख रुपैयाँ कमाउँछन् ।
  • धादिङबाट काठमाडौं आएर संघर्ष सुरु गरेका उनी अहिले विदेश पुगेर आफ्नो पेसामा स्थापित हुन पुगेका छन्।
  • थापाले नेपालमा 'बेक जुजु धौ केक' र चकलेट उत्पादनको योजना बनाइरहेका छन्, जसमा स्थानीय जडीबुटीको समेत प्रयोग हुनेछ।

काठमाडौँ । कुरा, २०५४ सालको हो, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सपनाको खोजीमा काठमाडौँ हान्निए । गाउँबाट ३०० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी अहिले आफ्नो अथक सङ्घर्षको प्रतिफल स्वरूप मासिक १२ लाख रुपैयाँ हाराहारी कमाउन सक्ने हैसियतमा पुगेका छन् । त्यो पनि कुनै व्यापार व्यवसाय गरेर होइन, आफ्नो सीप बेचेर मासिक आम्दानी गरिरहेका हुन् ।  

यो सफलताको कथा अन्तर्राष्ट्रिय पेष्ट्री सेफ सरोज थापाको हो । हाल साउदी अरबको दमामस्थित युरोपियन लक्जरी होटल केम्पेस्कीमा एक्जुकेटिभ पेष्ट्री सेफको रूपमा कार्यरत थापाको चकलेट र बेकरी आइटममा विशेष दक्खल छ ।   आफूमा रहेको सोही विशेष क्षमताका कारण उनी हाल आफूलाई एक स्थापित सेफका रूपमा चिनाउन सफल भएका छन् । 

  • सङ्घर्षको कथा

उनको जन्म एक मध्यमवर्गीय परिवारमा भयो । बुबा नेपाली सेनाको जागिरे रहे पनि ग्रामीण परिवेशमा सामान्य रूपमै उनको बाल्यकाल बित्यो । परिवारका चार दिदीपछिका एक्ला भाइ भएकाले पनि उनी सबैको मायामा हुर्किए । तर, उनलाई सानैदेखि केही फरक गर्नुपर्छ भन्ने हुटहुटी थियो । पढाइमा अब्बल रहेका उनी २०५४ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका साथै केही जीवनमा गरौँ भन्ने सोचका साथ काठमाडौँ आएका थिए ।  जम्मा ३०० रुपैयाँ गाडी भाडा लिएर आएका उनी केही समय आफन्तसँग काठमाडौँमा बसे । तर, आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता बोकेका उनले लगत्तै ठमेलस्थित एउटा ट्राभल्समा काम गरे । तर, उनलाई त्यो कामले चित्त बुझेन, त्यो छाडेर उनले कालीमाटीमा एक आइसक्रिम पसलमा काम सुरु गरे । उनी दिनभर त्यहाँ काम गर्थे भने रातिमा सरस्वती क्याम्पसमा आईकम पढ्थे । ‘त्यहाँ मेरो ८ सय रुपैयाँ तलब थियो । अनि राति कलेज पढ्ने, दिउँसो आइसक्रिम बेच्थेँ’, उनी स्मरण गर्छन् । 

38317416-5b46-4370-8c31-e45e0199faed

कामकै बिचमा उनले  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान  (नाथम)मा होटेल मेनेजमेन्ट तालिम गर्न पाइने थाहा पाए । उनलाई त्यसमा रुचि भएकाले एक दिन साहुलाई भने, ‘नाथममा होटेल म्यानेजमेन्ट ट्रेनिङ गर्नका लागि एकदम इच्छुक छु । मलाई सहयोग गर्नुस् ।’ साहु सहयोगी थिए, नभन्दै काम गर्दै तालिम पनि गर्न अनुमति दिए । तर, उनलाई तलब आधा मात्रै दिने भनियो । त्यसलाई स्वीकार गर्दै उनले तालिम र काम सँगै अघि बढाएका थिए । साथमा रातिमा कलेज त छँदैथियो । सबै सन्तुलन मिलाउँदै त्यतिबेला काठमाडौँमा संघर्ष गरेको रातोपाटीसँगको कुराकानीमा उनले भने ।  

त्यसरी थापाले नाथममा नौ महिना तालिम गरे ।  त्यसपछि नाथमबाटै उनलाई सांग्रिला होटेलमा इन्ट्रानसिपको अवसर आयो । यससँगै उनले आइसक्रिम बेच्ने जागिर छाड्नुपर्‍यो । 

‘नाथमको तालिमपछि सांग्रिलामा मेरो तीन महिनाको इन्ट्रानसिप थियो’, उनले भने, ‘रोचक कुरा मैले त्यहाँ संयोगले आफूलाई प्रमाणित गर्ने अवसर पाए । 

  • त्यो २६ सयको जागिर !

कुरा २०५५ सालतिरको हो । त्यतिखेर लोडसेडिङ निकै हुन्थ्यो । उनको काम सांग्रिलामा सर्भिसमा थियो । एक दिन राति फ्रेन्च गेस्टहरू डिनर गर्दै थिए, त्यहीबेला लोडसेडिङ भएर झ्याप्पै बत्ती गयो । लोडसेडिङ भएपछि सांग्रिलामा ग्यासबाट बत्ती बालिन्छ छ भन्ने उनलाई थाहा थियो । थापाको त्यो जिम्मेवारी नभएपनि उनी बिजुली गएसँगै दौडेर गएर ग्यासको सिलिन्डर ल्याएर क्षणभरमै उज्यालो बनाए । 

‘मैले दौडेर गएर दुइटा हातमा सिलिन्डर बोकेर ल्याएँ । अनि तत्काल बत्ती बाल्दिएँ’, उनले त्यतिबेलाको घटना स्मरण गर्दै भने । त्यो दृश्य होटलकै  राजशेखर भन्ने म्यानेजरले देखेछन् । भोलिपल्ट उनलाई राजशेखरले अफिसमा बोलाएर भनेछन्, ‘तिमी एचआरलाई भेट !’ तर मेनेजरले किन त्यसो भने उनले भेउ पाएनन् । उनलाई लाग्यो, ‘मैले कुनै गल्ती गरेका कारण निकाल्न खोजिएको होला !’ उनी डराउँदै एचआरलाई भेट्न पुग्दा जागिरको पत्र पो थमाए । ‘एचआरले लौ, अफर लेटर साइन गर भन्नुभयो ।  अनि यसो हेरेको त अफर लेटरमा तलब हेरेको त छब्बीस सय । आठ सयमा काम गरिरहेको मान्छे त्यतिधेरै तलब हुने भएपनि म एकदम फिलिली भएँ’, उनले उत्साहित हुँदै विगत स्मरण गरे ।  नियुक्ति पाएपछि त्यहाँ आफूले करिब ६ महिना काम गरेको थापाले बताए । 

  • त्यसपछि आबुधाबी

त्यतिबेला उनको एक जना आफन्त युएईमा थिए । उनैले थापालाई यूएईको आबुधाबीमा होटेलमा काम गर्नेगरी बोलाए । उनी आफ्नो सपनाको पखेटा फैल्याउँदै यूएई उडे । ‘काठमाडौँ आउनासाथ मेरो एउटा सपना थियो । मेरो हातमा पैसा मिल्यो भने एउटा जग्गा किन्छु र घर बनाउँछु भन्ने थियो’, उनले भने, ‘यही सपना बोकेर म यूएई उडेको थिएँ ।’

सन् २००१ मा आबुधाबी गइसकेपछि त्यतबेला उनको तलब आठ सय दिराम थियो।  होलिडे इन नामक होटल जहाँ उनी वेटरमा गएको थिए । लगभग तीन वर्ष त्यहाँ उनले काम गरे । त्यही बिचमा उनले काम गरेकै ठाउँमा पेष्ट्री बेकरी पनि सिके । ‘त्यहाँ वेटरमा गएकाले राति ड्युटी गर्थेँ। बिहान चाहिँ म पेष्ट्री बेकरी ह्यान्डल गर्थेँ ।  काम सिक्नैका लागि मैले कुनै पारिश्रमिक नपाउने भएपनि बिहान पेष्ट्री बेकरीमा काम गर्थे,’ उनले भने । 

3226cf1d-836f-4c28-b1ea-3aa4b5bd67d3

उनले पेष्ट्री बेकरी सिकेपनि त्यहाँ सो काम नदिइएसँगै तीन वर्षपछि इमिरेट्स प्यालेस होटेलमा ट्रान्सफर भए । उनले स्मरण गर्दै भने, ‘मेरो रियल क्यारियर चाहिँ त्यहाँबाट सुरु भयो।’

  • सफलताको स्वाद

सन् २००५ मा इमिरेट्स प्यालेसबाट असली करियर सुरु गरेका उनले त्यहाँबाट कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।  त्यहाँ काम गर्दागर्दै उनले काठमाडौँमा घरजग्गा जोडिसकेका थिए, जुन उनको सुरुको सपना थियो । 

विदेश आउजाउकै बिच उनले सरस्वतीबाट आईकम पास पनि गरे । त्यसपछि औपचारिक शिक्षा भन्दा पनि व्यावहारिक शिक्षा अर्थात् करियरतिर नै उनी केन्द्रित हुन पुगे । उनले आफ्नो करिअरका क्रममा धेरै सेलिब्रिटीहरुलाई आफ्नो सिप चखाएका छन् । पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस दुबई पुग्दा उनलाई पनि आफ्नो सिपबाट तयार परिकार चखाउने मौका पाएको थापा बताउँछन् ।  जुन बेला उनी इमिरेट्स प्यालेस होटेलमा काम गर्थे, त्यति नै बेला थापाले त्यस्तो अवसर पाएका थिए । 

8cb64182-b023-4292-b8e1-3a58e9bb7ac9

इमिरेट्स प्यालेसमा उनले लगभग ३ वर्ष काम गरे । बेसिक कर्मचारीका रूपमा त्यहाँ पुगे पनि तीन वर्षको अवधिमा सुपरभाइजर बन्न सकेको उनले बताए । 

त्यसपछि उनले दुबईस्थित एट्लान्टिक होटेलमा सिनियर सेफका रूपमा काम गर्ने अवसर पाए । त्यतिखेर उनको तलब पैँतालीस सय रियाल पुगिसकेको थियो ।  

त्यसपछि अवसरकै खोजीमा उनी ओमानस्थित क्राउन प्लाजामा पुगे । त्यसपछि  कतार, कुवेत यूएई, साउदीलगायतका देशमा सञ्चालित होटेलहरुमा उच्च तहको सेफका रूपमा काम गरे । उनले जहाँ जहाँ काम गरे, त्यहाँ त्यहाँ आफूलाई प्रमाणित गरेर सबैको रोजाइको सेफ बन्न पुगे । अहिले पछिल्लो ४ वर्षयता भने उनी क्याम्पेन्स्की पुगेका हुन् । त्यहाँ आफ्नो बेसिक तलब मात्रै २४ हजार रहेको उनको दाबी छ । यसबाहेक विभिन्न सुविधासमेत जोडेर करिब ३४ हजार अर्थात् १२ लाख नेपाली रुपैयाँ बराबर तलब रहेको उनको भनाइ छ । साथसाथै उनी अहिले प्रशिक्षकका रूपमा युरोपसहितका विभिन्न देशमा पनि आउजाउ गरिरहन्छन् । 

9202caf4-3f45-4e34-9682-c4320c28ead7

पेष्ट्री सेफ भनेको मिठाई, बेकरी र पेष्ट्री परिकारहरू बनाउने विशेषज्ञ सेफ हो। यस्ता सेफ केक, कुकिज, ब्रेड, पाई, चकलेट, आइसक्रिम आदि बनाउनमा माहिर हुन्छन् । थापाले कलात्मक ढंगले यस्तै कार्य गरेर अरूको ध्यान आफूतर्फ आकर्षित गर्दै आम्दानी गर्दै आएका हुन् । उनले पेष्ट्री सेफका रुपमा विभिन्न सम्मानहरु पाइसकेका छन् भने आफूलाई समाजसेवामा पनि समर्पित गर्दै आएका छन् । 

  • नेपालमा केही गरौँ भन्ने हुटहुटी

उनले करिब २४ वर्षभन्दा बढी समय विदेश बिताए । सो बिचमा उनले प्रशस्त कमाए पनि । अब भने उनी नेपालमै पनि केही गरौँ भन्ने योजनामा जुटेका छन् । 

सोही अनुसार थापा अहिले काठमाडौँमा परम्परागत नेवारी दही जुजु धौ मिश्रित अनौठा स्वादयुक्त केकहरूको उत्पादनमा जुटेका छन् । हाल नेपालमा रहेका उनले ‘बेक जुजु धौ केक’ बनाएर बजारीकरकणका लागि होमवर्क गरिरहेका हुन् ।  

b60bce63-5230-4293-a4e3-d55922dd8162

सेफ थापाले आफ्ना केक उत्पादनहरू पूर्णतः अर्ग्यानिक हुने र अर्डर अनुसारको स्वाद तयार गरिने जानकारी दिए। यस व्यवसाय अन्तर्गत परम्परागत तथा जडीबुटीजन्य स्वाद मिसाएर तयार गरिएका केकहरू उपलब्ध हुनेछन् ।  जुन सामान्यतया अन्य बेकरीमा नपाइने उनको भनाइ छ ।  प्रस्तुत केकका स्वादहरूमा यार्सागुम्बा, मोरिंगा, सिस्नो, सखरखण्ड, गाजर, हरियो स्याउ, चुकन्दर, टिमुर, भ्यानिला, कोकोवा, नीम, हरियो चिया, जिम्बु, चिया सिड, आलस, पाँचऔँले, सालधूप, सिलाजित र जटामसी रहने उनको भनाइ छ । 

 फ्रान्स र जर्मनीबाट पेष्ट्री, बेकरी, आइसक्रिम र चकलेट बनाउने विषयमा डिप्लोमा समेत गरिसकेका थापाले नेपालमा ‘चकलेट बार’ र चकलेट बन बन’ उत्पादनको गृहकार्य समेत गरिरहेका छन् । अहिले आन्तरिक रूपमै अर्डरअनुसार उत्पादनका साथै परीक्षण गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यावसायिक रूपमा तीव्रता दिनेबारे योजना बनाइरहेको बताए । 

उसो त थापा मात्रै यस्ता पात्र होइनन्, पाककला क्षेत्रमा नेपाली सेफहरूले विश्वका विभिन्न चर्चित होटलहरुमा आफ्नो कौसल देखाउँदै राम्रो आम्दानी गरिरहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी बताउँछन् । यसरी आफ्नो क्षमता देखाउँदै १० लाख भन्दा धेरै आम्दानी गर्ने सेफहरु दर्जनौँ रहेको उनको भनाइ छ ।  सोसाइटीले गत महिना काठमाडौँमा विदेशमा कार्यरत नेपाली सेफहरूको भेला गरेर फुड फेस्टिभलका नाममा पाककलाको प्रवर्द्धन समेत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप