सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

बुटवलको कान्ति मावि विज्ञान विषयमा विशिष्टीकृत विद्यालय, प्रवर्द्धनात्मक कार्यक्रम तीव्र गतिमा

सोमबार, २६ जेठ २०८२, ०९ : ४६
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • बुटवलको कान्ति माविले विज्ञान विषयलाई प्राथमिकता दिँदै आएको छ, जसअनुसार विभिन्न प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
  • विद्यालयले विज्ञान प्रवर्द्धनका लागि विभिन्न शीर्षकमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा प्रयोगशाला सुधार, छात्रवृत्ति, शिक्षक प्रशिक्षण, र विज्ञान प्रदर्शनी जस्ता गतिविधिहरू छन्।
  • विद्यालयले आगामी वर्ष मन्टेश्वरी कक्षालाई व्यवस्थित गर्ने, डिजिटल स्मार्ट स्कूल बनाउने र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ।

बुटवल । बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयले विज्ञान विषयलाई आफ्नो विशिष्टीकरणका रूपमा निरन्तरता दिँदै आएको छ। 

देशभरकै सबैभन्दा बढी विद्यार्थी संख्या भएका दश सामुदायिक विद्यालयहरूमध्ये पर्ने यस विद्यालयले सरकारसँगको सम्झौता अनुसार चालु आर्थिक वर्षमा विद्यालय विकास योजना कार्यक्रम अन्तर्गत विज्ञान विषय प्रवर्द्धनका गतिविधिहरू तीव्र रुपमा सञ्चालन गरिरहेको छ।

शिक्षा मन्त्रालयले विनियोजन गरेको बजेटमा बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा हाल ११ वटा शीर्षकमा विज्ञान प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। २०७४ सालमा लुम्बिनी प्रदेश सरकारले विद्यालयलाई विज्ञान विषयमा नमुना बनाउने उद्देश्यले भवन निर्माण र अन्य सहयोग उपलब्ध गराएको थियो। नेपाल सरकारको शिक्षा मन्त्रालयले पनि यस विद्यालयलाई दश ठूला सामुदायिक विद्यालयहरूमध्ये समेटी विज्ञान विषय प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडेले रातोपाटीसँग बताए।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार विद्यालयले विज्ञान विषय प्रवर्द्धनका लागि १२ शीर्षकमा सम्झौता गरेको छ। कम्प्युटरसम्बन्धी अधिकांश तालिम यही विद्यालयको प्रयोगशालामा हुँदै आएको र ऐच्छिक विषयको रूपमा कम्प्युटर रोज्ने विद्यार्थीको संख्या उल्लेखनीय रहेको उनले जानकारी दिए। अङ्ग्रेजी माध्यमसँगै कम्प्युटर र विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढेसँगै शिक्षाको गुणस्तर पनि निरन्तर उकासिँदै गएको मेयर पाण्डेयको भनाइ छ।

प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार चालु आर्थिक वर्षमा प्रयोगशाला र उपकरण अपग्रेड, छात्रवृत्ति तथा पुरस्कार, शिक्षक प्रशिक्षण तथा क्षमता विकास, विज्ञान प्रदर्शनी, विज्ञान क्लब स्थापना, विद्यार्थी संलग्नता कार्यक्रम, शिक्षक सम्मान तथा पुरस्कार, पुस्तकालय व्यवस्थापन, वनस्पति उद्यान संरक्षण, शैक्षिक अवलोकन भ्रमण तथा असल अभ्यास आदान–प्रदान लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्। साथै इन्टरनेट तथा नेटवर्क पूर्वाधार विस्तार, स्मार्ट बोर्ड तथा टिभी, सफ्टवेयर सुरक्षा र नवीकरणसम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।

हाल कक्षा ११ मा मात्र विज्ञान विषय पढ्ने ५०० विद्यार्थी छन् भने ४०० क्षमताको छात्रावासमा ३०० विद्यार्थी आवासीय रुपमा शिक्षारत छन्। विद्यार्थीको चाप बढेपछि छात्रावासका ६ कोठाहरू पनि कक्षा कोठाका रूपमा प्रयोग गर्न थालिएको छ। कक्षा १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायहरू सञ्चालन भइरहेका छन्। व्यवस्थापन संकाय अन्तर्गत होटेल म्यानेजमेन्टसमेत पढाइ हुने गरेको छ। उत्कृष्ट नतिजा र व्यवस्थापनकै कारण कान्ति मावि नेपालकै पहिलो आईएसओ सर्टिफाइड सामुदायिक विद्यालय बन्न सफल भएको हो।

सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीका अनुसार शिक्षकहरूलाई पेशागत पुनर्ताजगीका लागि नियमित रूपमा तालीम दिइँदै आएको छ। कक्षा ११÷१२ विज्ञान समूह संयोजक मोहन भट्टराईका अनुसार अध्ययनसँगै अनुसन्धान र प्रविधिमा रुचि भएका विद्यार्थीहरूबाट उत्कृष्ट नतिजा आएको छ। हालै विद्यालयले प्रयोगशालामा सम्भावित जोखिमहरूको पहिचानसम्बन्धी तीनदिने तालीम ३५ जना शिक्षकलाई प्रदान गरेको उनले जानकारी दिए।

आगामी वर्षहरूमा विद्यालयले मन्टेसरी कक्षालाई थप व्यवस्थित बनाउने, डिजिटल स्मार्ट स्कूलको रूपमा रूपान्तरण गर्ने र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विद्यार्थी संख्या सूचीअनुसार कान्ति मावि हाल देशको चौथो ठूलो विद्यालय हो। विद्यालयले कक्षा ६ देखि संस्कृत विषयलाई ऐच्छिकको रूपमा सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य विद्यार्थीहरूमा नैतिकता र संस्कारको विकास गर्नु रहेको छ।

पूर्व जिल्ला शिक्षा अधिकारी तथा शिक्षाविद् टेकबहादुर थापाले कान्ति माविको निरन्तर प्रगति र विज्ञान विषयमा देखिएको अग्रसरता प्रशंसनीय रहेको बताए। उनले विद्यालयका असल अभ्यासहरू अन्य सामुदायिक विद्यालयका लागि पनि अनुकरणीय रहेको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप