सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

सोमबार, २६ जेठ २०८२, ०७ : १६
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ।
  • यातायातका साधन र पार्टपुर्जा आयातबाट १५ अर्ब २४ करोड राजस्व संकलन भएको छ भने फलामजन्य सामानबाट ५ अर्ब २५ करोड राजस्व संकलन भएको छ।
  • भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ र सवारी साधन मुख्य राजस्वका स्रोत हुन्।

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ ।  आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट रु १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १० दशमलव ९३  प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपुर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको छ । 

त्यस्तै  सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप