मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

मङ्गलबार, २७ जेठ २०८२, ०६ : ४२
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • म्याग्दीको मालिका गाउँपालिका-३ पात्लेमा 'एक घर, एक धारा' योजना सम्पन्न, ५८९ जना लाभान्वित।
  • योजना निर्माणमा नेवा संस्था, गाउँपालिका र उपभोक्ताको सहभागिता, कुल लागत ६५ लाख ५७ हजार २७७ रुपैयाँ।
  • घरघरमा धारा जडानपछि स्थानीयवासी समय र झन्झटबाट मुक्त, सरसफाइमा सहजता, र मिटर जडानले पानीको मितव्ययिता।

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् । 

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् । 

पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

म्याग्दीको भौगोलिक रूमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो । 

स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ । 

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप