बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

लघुकथा : उदारता

शनिबार, २० माघ २०८०, ०८ : ०४
शनिबार, २० माघ २०८०

प्राइभेट क्लिनिकका डाक्टरले दुई जना बिरामीको पालैपालो चेक जाँच गरे । ती थिए, एक जना व्यापारी र अर्को मजदुर । 

`ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले व्यापारी बिरामीलाई बिल दिए । `मसँग भएको पैसाले पुगेन, डाक्टर साहेब ! पाँच सय अपुग हुन्छ । बरु औषधि घटाइदिनुस् । म भोलि पैसा ल्याएर बाँकी पाँच सयको औषधि पनि भोलि नै लैजान्छु ।´ व्यापारी बिरामीले यति भनेपछि डाक्टरले `बाँकी पाँच सय दिँदै गर्नुहोला, सबै औषधि लैजानुस् ।´भनेर उदारता देखाए ।

'ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले मजदुर बिरामीलाई पनि त्यस्तै भाषा प्रयोग गरेर बिल दिए । बिरामी व्यापारीलाई डाक्टरले गरेको उदार व्यवहारबाट मजदुर प्रभावित भएको थियो । त्यही बुझेर डाक्टरप्रति विश्वस्त हुँदै मजदुरले आफूसँग सय रुपैयाँ अपुग हुने कुरा गर्‍यो र भोलि नै तिरिदिने विश्वास दिलाउन खोज्यो । 

मजदुर बिरामीको कुरा सुनेपछि डाक्टरले बिरामीको हातबाट झोला खोसे अनि दुई पत्ता जति औषधि झिकेर टेबुलमा राख्दै भिन्नै खालको उदारताका साथ बाँकी औषधि थमाएर भने- `तपाईंले बाँकी पैसा पनि दिनु पर्दैन । भोलि आउने झन्झट पनि व्यहोर्नुपर्दैन । यति औषधिले तपाईंलाई सन्चो हुन्छ ।´

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे
लेखकबाट थप