बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा रोजगारी सृजना बढ्यो, ज्यालामा पनि वृद्धि

आइतबार, २१ माघ २०८०, १४ : ५४
आइतबार, २१ माघ २०८०

वाशिङटन डीसी । अमेरिकामा रोजगारी सृजना बढेको छ । त्यहाँको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको महिना अमेरिकी अर्थतन्त्रले ३ लाख २५ हजार नयाँ रोजगारी सृजना गरेको छ । 

पछिल्लो तथ्यांकले अर्थतन्त्रमा सुस्ती छाइरहेको प्रक्षेपणलाई गलत साबित गरिदिएको छ । योसँगै बेरोजगारी दर पनि ३ दशमलव ७ प्रतिशतमा रहेको छ ।

जनवरीको रोजगारी सृजना अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा धेरै हो । सन् २०२२ मा ब्याजदर बढाइएयता अर्थतन्त्र सुस्ताउने भविष्यवाणी अर्थशास्त्रीहरूबाट आइरहेको थियो । तर पछिल्ला महिनाहरूमा अर्थतन्त्रले अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरिरहेको छ । श्रम बजार मजबूत रहनुले छिटै ब्याजदर कटौतीको सम्भावना बलियो बनाएको विश्लेषण गर्न लागिएको छ । 

रोजगारी तथ्यांकले अमेरिकी अर्थतन्त्र मजबूत रहेको देखाएकोले मार्चमा ब्याजदर कटौती हुन्छ भनेर सोचिरहेकाहरूका लागि यो झट्का भएको प्रिमियर मिटन इन्भेटर्सका निल बिर्रेलले भनेका छन् । फेडले महँगी नियन्त्रण गर्न २ वर्षअघि ब्याजदर बढाउन सुरु गरेको थियो ।

सन् २०२३ को जनवरीको तुलनामा गएको महिना घण्टाको औसत ज्याला साढे ४ प्रतिशतले बढेको छ । यसले महँगी तत्कालै घट्छ भनेर आशा गरिरहेकाहरुका लागि यसले अर्को चिन्ता थपिदिएको छ । 

श्रम बजार कसिलो छ, तलब उच्च दरमा बढिरहेको छ । यो फेडको लागि टाउको दुखाई भएको फिच रेटिङसका प्रमुख अर्थशास्त्री ब्रियन कल्टन भन्छन् । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यस्तोमा मासिक प्रतिवेदनहरु राजनीतिक बहसको विषयमा बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप