बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय
नेपाली खेलकुदका सदाबहार ‘सेकेन्ड’ मुकुन्दहरि श्रेष्ठ
खेलाडी

नेपाली खेलकुदका सदाबहार ‘सेकेन्ड’ मुकुन्दहरि श्रेष्ठ

‘जब जनताका छोरा रघुराजले अधिराजकुमार धीरेन्द्रसँग हात मिलाउने दुस्साहस गरे’
सोमबार, २२ माघ २०८०

काठमाडौँ । ओलम्पियन मुकुन्दहरि श्रेष्ठले जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका छन् । अर्का ओलम्पियन बैकुण्ठराज मानन्धरले भाग लिएको हरेक स्पर्धामा उनी सधैँ दोस्रो भए, तर म्याराथनको रिबन चुम्ने प्रतिस्पर्धाले यी दुई धावकको मित्रतामा कुनै हानि पुर्‍याएन ।

यी दौँतरीले एउटै स्कुलमा पढेका हुन्, मरुको भगवतीबारीस्थित शान्ति निकुञ्ज माविमा । सुरुवाती दिनमा मुकुन्द र बैकुण्ठले एउटै स्पर्धामा भाग लिँदैनथे । त्यसैले उनीहरू आ–आफ्नो स्पर्धामा प्रथम हुन्थे । पछि उनीहरूले एउटै स्पर्धामा जतिपटक सँगसँगै भाग लिए, त्यति नै पटक मुकुन्दहरि सधैँ सेकेन्ड (दोस्रो) भए, अर्थात् बैकुण्ठ सधैँ प्रथम । विभिन्न कारणले बैकुण्ठ सहभागी नभएको स्पर्धाको स्वर्ण मुकुन्दको पोल्टामा पर्‍यो । आफूहरूको सम्बन्धबारे मुकुन्दहरि भन्छन्, ‘खेल मैदानमा प्रतिस्पर्धा र मित्रता फरक कुरा हुन् । मित्रतामा कुनै पनि कुरा तगारो बन्नु हुँदैन । हामी अहिले पनि एकअर्काका घनिष्ठ मित्र हौँ ।’

त्यतिबेला नेपाली एथलेटिक्समा जितबहादुर केसी र भक्तबहादुर सापकोटाको दबदबा थियो । नेपाली सेनामा कार्यरत यी दुई धावक सफलता र चर्चाको शिखरमा रहँदा बैकुण्ठ र मुकुन्द म्याराथन मार्गमा अभ्यासरत थिए । २०२८ सालसम्म आइपुग्दा यी दुई किशोर धावकले भविष्यमा जितबहादुर र भक्तबहादुरको विरासत थाम्ने संकेत दिए । 

२०२८ सालमा वीरगन्जमा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा मुकुन्दले जुनियरतर्फ स्वर्ण जिते, जतिबेला उनी १६ वर्षका थिए । यस प्रतियोगितामा उनले आठ सय र १५ सय मिटर दौडमा स्वर्ण जित्दा बैकुण्ठले पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । त्यतिबेलै यी दुई उदीयमान धावकले धेरैको ध्यान खिचेका थिए । त्यहीँबाट सुरु भएको यी दुई धावकको आपसी प्रतिस्पर्धा रोमाञ्चक रह्यो । 

२०२९ सालमा भैरहवामा भएको एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा मुकुन्द आठ सय मिटर दौडमा प्रथम भए । त्यतिबेला बैकुण्ठ भने सहभागी थिएनन् । २०३० सालमा विराटनगरमा आयोजित प्रतियोगितामा बैकुण्ठ पहिलो भए, अर्थात् मुकुन्द दोस्रो ।

२०३१ सालमा राजविराजमा भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पाँच हजार र १० हजार मिटर दौड तथा म्याराथनमा बैकुण्ठ पहिलो भए, मुकुन्दहरि दोस्रो । त्यतिबेला राजविराजमा चर्को गर्मीका कारण म्याराथनका लागि २१ किलोमिटर दूरीको तोकिएको थियो । २०३२ सालमा नेपालगन्जमा भएको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पनि मुकुन्द दोस्रो भए, बैकुण्ठ पहिलो । 

२०३३ सालमा काठमाडौँमा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको पाँच हजार र १० हजार मिटर दौडमा मुकुन्दहरि पहिलो भए । कारण, यी दुवै स्पर्धामा बैकुण्ठले भाग लिएका थिएनन् । सोही प्रतियोगितामा बैकुण्ठले सहभागिता जनाएको म्याराथनमा भने मुकुन्दहरि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।

२०३४ सालमा भद्रपुरमा आयोजित राष्ट्रिय एथलेटिक्सको पाँच हजार र १० हजार मिटर दौड तथा म्याराथन गरी तीनवटा स्पर्धामा मुकुन्दहरि दोस्रो भए, अर्थात् बैकुण्ठ पहिलो ।

२०३५ सालमा काठमाडौँमा आयोजित प्रतियोगिताको पाँच हजार र १० हजार मिटर दौडतर्फ बैकुण्ठ नै पहिलो भए, मुकुन्दहरि दोस्रो । यस प्रतियोगिताको म्याराथन स्पर्धामा भने मुकुन्दहरिले स्वर्ण पदक चुमेका थिए । किनभने, व्यक्तिगत कारण बैकुण्ठले म्याराथनमा भाग लिएका थिएनन् । 

२०३६ सालदेखि २०३९ सालसम्मका प्रतियोगितामा यही क्रम चलिरह्यो, अर्थात् बैकुण्ठले भाग लिएको स्पर्धामा मुकुन्दहरि सधैँ दोस्रो, बैकुण्ठले भाग नलिएको स्पर्धामा सधैँ प्रथम । 

सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा ओलम्पिक आयोजना हुँदै थियो । त्यसका लागि नेपालमा राखिएको एथलेटिक्सको छनोट प्रतियोगितामा मुकुन्दहरि बैकुण्ठसँग पछि परेका थिए । 

  • पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक

सन् १९६४ मा जापानको टोकियोमा सम्पन्न १८औँ संस्करणदेखि हालसम्म आइपुग्दा ८८ जना खेलाडीले गृष्मकालीन ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । त्यसैमध्येका एक हुन्, मुकुन्दहरि । उनले सन् १९८० मा रुसको मस्कोमा सम्पन्न ओलम्पिक खेलकुदको १० हजार मिटर दौडमा देशको प्रतिनिधित्व गरेका थिए ।

mukundra hari shrestha (2)

मुकुन्दले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै देशका लागि पदक जिते । सन् १९७५ मा भारतको बैंग्लोरमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘अल इन्डिया एथलेटिक्स च्याम्पियनसिप’मा उनले रजत पदक हात पारेका थिए, अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उनको पहिलो सहभागिता थियो ।

खेल जीवनबाट बिदा लिनुअघि उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका थिए । पहिलो अन्तर्राष्ट्रिय पदकसँगै सन् १९७६ मा थाइल्यान्डको बैंककमा कांस्य पदक, सन् १९७६ मा भारतको बम्बईमा कांस्य पदक र सन् १९७६ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य पदक जित्दाको क्षण उनको स्मरणमा अझै ताजै छ ।

तीनवटा एसियाली खेलकुद प्रतियोगिता (इरानको तेहरान (१९७४), थाइल्यान्डको बैंकक (१९७८) र भारतको नयाँ दिल्ली (१९८२) मा आयोजित) मा भाग लिएका मुकुन्द आठौँ एसियाली खेलकुदमा पाँच हजार मिटर दौडमा सातौँ स्थानमा आएका थिए । 

‘जोसमा आएर मैले दशरथ रंगशालाको २७ चक्कर लगाइदिएँ छु,’ किशोर बेलाको आफ्नो ऊर्जा सम्झँदा उनको मुहार उज्यालिन्छ, ‘४० मिनेटसम्म कुदेको कुद्यै । उनले पनि रोकेनन्, मैले पनि कुद्न छाडिनँ ।’ 
  • रंगशालाको २७ चक्कर, तीनपिप्लेसम्म दौड 

सुरुमा उनले छोटो दूरीको दौडमा भाग लिन्थे— दुई सय, चार सय र आठ सय मिटरसम्मको प्रतिस्पर्धामा । बिस्तारै उनले छोटो दूरीको दौडमा आफ्नो भविष्य देख्न छाडे । ‘छोटा दूरीको दौड (स्प्रिन्ट स्पर्धा)मा विश्वभर थुप्रै चर्चित धावक थिए । उनीहरूको टाइमिङ (दौड पूरा गर्ने समय) पनि हाम्रो तुलनामा निकै कम थियो । जतिसुकै प्रयास गरे पनि हामी उनीहरूको छेउछाउ पुग्न सक्ने अवस्था थिएन । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न नसकेपछि देशभित्र आफ्ना साथीभाइलाई मात्र हराउनुको कुनै अर्थ हुँदैन,’ लामो दूरीको दौड रोज्नुको कारण भन्छन् उनी, ‘लामो दूरीको दौड र म्याराथनका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने राम्रो गर्न सक्ने पर्याप्त सम्भावना थियो ।’ 

२०२७ सालतिर, एथलेटिक्स खेलाडीलाई प्रशिक्षण दिन एकजना अमेरिकी प्रशिक्षक नेपाल आएका थिए । ती प्रशिक्षकले सुरुमै मुकुन्दको क्षमता जाँच्न खोजे । ‘जोसमा आएर मैले दशरथ रंगशालाको २७ चक्कर लगाइदिएँ छु,’ किशोर बेलाको आफ्नो ऊर्जा सम्झँदा उनको मुहार उज्यालिन्छ, ‘४० मिनेटसम्म कुदेको कुद्यै । उनले पनि रोकेनन्, मैले पनि कुद्न छाडिनँ ।’ 

उनको समयमा खेलाडीबिच प्रतिस्पर्धाको भावना बढी हुन्थ्यो । खेलाडीहरू प्रशिक्षणकै बेला एकअर्कालाई पछि पार्न सक्दो प्रयास गर्थे । ‘प्रशिक्षणको कुनै निश्चित शैली थिएन । हामी बढीभन्दा बढी कुद्नुलाई नै प्रशिक्षण सम्झन्थ्यौँ । प्रशिक्षणका क्रममा हामी दौडँदै २७ किलोमिटर लामो रिङरोड (चक्रपथ)को तीन चक्कर लगाउँथ्यौँ । त्यतिबेला रिङरोड भर्खर बन्न थालेको थियो । बिहान ६ बजेदेखि दौडन सुरु गथ्र्यौं,’ उनी आफ्नो समयको प्रशिक्षण शैली सम्झन्छन् । 

प्रशिक्षणकै क्रममा दौडिएर उनी धेरैपटक काभ्रेको बनेपा, धुलिखेल हुँदै तीन पिप्लेसम्म पुगे र दौडिएरै फर्के । गुरुहरूले उनीहरूलाई जतिसक्दो दौडन भन्थे । ‘फर्कंदा केही समय बनेपामा रोकिएर खाना खान्थ्यौँ,’ मुकुन्द भन्छन्, ‘त्यसपछि दौडँदै दशरथ रंगशाला पुग्दासम्म ज्यान गलेर खुत्रुक्कै हुन्थ्यो ।’

उनको पालामा प्रशिक्षणको शैली कठोर भए पनि खानपिनको अवस्था दयनीय थियो । प्रशिक्षणका क्रममा मासु पाउनु एकादेशको कथा थियो । अन्डा, चना, चिया, पाउरोटीको भरमा प्रशिक्षण गर्नुपथ्र्यो । अहिले खेलाडीको प्रशिक्षण शैलीदेखि डाइटसम्ममा निकै सुधार आएको देखेर उनी खुसी छन् ।

  • फुटबल मैदान छाडेर धावक

खेलजीवनको प्रारम्भमा फुटबलर बन्न हौसिएका मुकुन्दहरिलाई समय चक्रले चर्चित एथलेटिक्स खेलाडीका रूपमा स्थापित गरायो । सुरुवातमा मुकुन्दले फुटबलसँगै एथलेटिक्सका प्रतियोगिताहरूमा पनि भाग लिन्थे । यी दुवैमा दौड (कुदाइ) आवश्यक भएकाले एउटा खेलको प्रशिक्षणले अर्कोलाई सहयोग पुग्थ्यो । 

१४ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका उनले व्यावसायिक रूपमै संकटा, भक्तपुर–११, सुन्धारा स्पोर्टस, भक्तपुरको श्री टिम हुँदै देशकै सबैभन्दा प्रतिष्ठित शहिद स्मारक लिग खेल्न भ्याए । सुन्धारा स्पोर्टस क्लबलाई ‘बी’बाट ‘ए’ डिभिजनमा उकाल्न पनि उनको योगदान महत्त्वपूर्ण रह्यो । उनले रूपकराज शर्मा, जीवन शाही, शैलेन्द्र तुलाधर, सुरेश पन्थी, ध्रुव शाह लगायत आफ्नो समयका चर्चित फुटबलरसँगै फुटबल खेलेका थिए । 

एकपटक फुटबल टोली चीन जाँदै थियो । त्यस टोलीमा आफू छानिनेमा उनी विश्वस्त थिए, तर उनको नाम परेन । यसपछि फुटबलतर्फ मुकुन्दको मोह घट्दै गयो । त्यतिबेला लक्ष्मणविक्रम शाह (चर्चित फुटबल खेलाडी मणिविक्रम शाहका पिता) र मधु शमशेर राणाले मुकुन्दहरूलाई एथलेटिक्सको प्रशिक्षण दिन्थे । यी दुवै गुरुले उनलाई फुटबल छाडेर एथलेटिक्स मात्र खेल्ने सल्लाह दिए ।

‘फुटबलसँगै एथलेटिक्स पनि खेल्थेँ । लामै समय फुटबल खेलियो । तर, यो खेलले मलाई बाँधेर राख्न सकेन । त्यसमाथि सिनियर खेलाडी र प्रशिक्षकहरूले पनि फुटबल छाडेर एथलेटिक्समा मात्र ध्यान केन्द्रित गर्न सुझाव दिए,’ फुटबल छाडेर एथलेटिक्सतर्फ एकोहोरिनुको कारण खुलाउँछन् उनी, ‘टिम गेम भएकाले फुटबलमा एउटा खेलाडीले मात्र राम्रो खेलेर हुँदैन । एथलेटिक्समा राम्रो प्रदर्शन गर्‍यो भने त्यसको प्रतिफल आफैँलाई प्राप्त हुन्छ । त्यसैले फुटबल छाडेर म एथलेटिक्समा सक्रिय भएँ ।’ 

  • भुल्नै नसक्ने पोखरा घटना

२०४० सालमा पोखरामा आयोजित दोस्रो बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले म्याराथनमा भाग लिएका थिए । करिब ३५ किलोमिटर दौडिएपछि उनको खुट्टाको मांसपेशीमा समस्या आयो । खुट्टामा समस्या आउनुअघिसम्म उनले प्रतिद्वन्द्वीहरूलाई पछाडि पारेका थिए । एकाएक ‘मसल्स क्र्याम्प’ भएपछि उनले पीडाका कारण स्वाभाविक प्रदर्शन गर्न सकेनन्, चौथो स्थानमा खुम्चिए । 

सक्रिय खेल जीवनबाट बिदा लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भए । २०४१ सालमा तत्कालीन वागमती अञ्चल खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकका लागि आवेदन खुला गरिएको थियो ।

त्यतिबेला पहिलो भएका अमिरी यादवले दुई घन्टा ४४ मिनेटमा दौड पूरा गरेका थिए । जबकि त्यसअघिका प्रतियोगितामा मुकुन्दले केवल दुई घन्टा २५ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेका थिए । 

त्यो प्रतियोगिताले सन् १९८४ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ओलम्पिकका लागि खेलाडी छनोट गर्‍यो, अमिरी सिफारिस भए । आफू खेलका क्रममा घाइते भएको र समग्रमा अमिरीको भन्दा आफ्नो प्रदर्शन राम्रो रहेको मुकुन्दको दाबी थियो । यही दाबीका साथ उनले एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद्मा निवेदन पनि हाले । उनको निवेदनमाथि कुनै सुनुवाइ भएन । विरक्तिएर उनले सक्रिय खेल जीवनबाटै बिदा लिने अप्रिय निर्णय गरे । त्यसयता उनले कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका छैनन् । उनी भन्छन्, ‘खेलाडी मन न हो, त्यसको केही समयपछि फेरि राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा पलाएर आयो, तर अवसर पाइनँ ।’

  • उनलाई रोक्न नयाँ नियम बनाइयो 

सक्रिय खेल जीवनबाट बिदा लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भए । २०४१ सालमा तत्कालीन वागमती अञ्चल खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकका लागि आवेदन खुला गरिएको थियो । निवेदन दिएर मुकुन्दले प्रशिक्षकको भूमिका पाए । उनी वागमती अञ्चल खेलकुद विकास समितिको पहिलो एथलेटिक्स प्रशिक्षक हुन् । 

त्यतिबेला प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले प्रतियोगिता खेल्न नपाउने भन्ने कुनै नियम थिएन । त्यसैले उनले २०४१ सालमा आयोजना हुने राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा खेलाडीका रूपमा सहभागिता जनाउने योजना पनि बनाए ।

mukundra hari shrestha (1)

‘प्रशिक्षक भइसकेको व्यक्तिले खेलाडीका रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने वा नपाउने भनेर निकै छलफल भयो । त्यतिबेलासम्म यस्तो कुनै नियम थिएन । अन्ततः प्रशिक्षक भएको व्यक्तिले प्रतियोगिता खेल्न नपाउने भनेर नयाँ नियम बनाइयो । यसरी मैले चाहेर पनि राष्ट्रिय प्रतियोगिता खेल्न पाइनँ,’ यो अनुभव सुनाउँदा मुकुन्दहरि हाँसिरहेका थिए । 

  • अधिराजकुमारसँग हात मिलाउने रघुराज

२०३७ सालमा एथलेटिक्सको राष्ट्रिय प्रतियोगिता भएको थियो । वागमती अञ्चलको नेतृत्व मुकुन्दहरिले गरेका थिए । पुरस्कार वितरण गर्न प्रमुख अतिथिका रूपमा तत्कालीन अधिराजकुमार धीरेन्द्र पुगेका थिए ।

त्यतिबेला राजपरिवारका सदस्यलाई असाध्यै सम्मान प्रकट गर्ने प्रथा थियो । मुकुन्दका अनुसार, खेलकुदका पदाधिकारी नै राजपरिवारका सदस्यको अगाडि घुँडा टेकेर दुवै हात जोडी बस्थे । 

प्रथा र परम्परा एकातिर थियो, अर्कोतिर रघुराज वन्तजस्ता विद्रोही खेलाडी पनि थिए । त्यो प्रतियोगितामा एक सय मिटर दौडमा स्वर्ण जितेका रघुराजले पुरस्कार ग्रहण गर्ने क्रममा अप्रत्याशित दृश्य सिर्जना हुन पुग्यो । 

२०२८ सालमा वीरगन्जमा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा मुकुन्दले आठ सय र १५ सय मिटर दौडमा स्वर्ण जित्दा बैकुण्ठले पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । त्यतिबेलै यी दुई उदीयमान धावकले धेरैको ध्यान खिचे । त्यहीँबाट सुरु भएको यी दुई धावकको आपसी प्रतिस्पर्धा रोमाञ्चक रह्यो ।

‘हामी सबै खेलाडीले आधा झुकेर अभिवादन गर्दै धीरेन्द्रसँग पुरस्कार थाप्यौँ, तर रघुराजले पुरस्कार लिएर धीरेन्द्रसँग हात मिलाउनुभयो । उहाँले हात दिएपछि एकछिन त धीरेन्द्र छक्क पर्नुभो, तर तुरुन्तै हात मिलाउनुभयो,’ मुकुन्दहरि त्यो घटना सम्झन्छन्, ‘अप्रत्याशित त्यस घटनाले त्यहाँ उपस्थित सबै अक्कबक्क परेका थिए । परिषद् र संघका पदाधिकारीहरूको अनुहार पूरै कालोनीलो भएको थियो ।’

साधारण नागरिकले राजपरिवारका सदस्यसँग हात मिलाउनु कल्पनाभन्दा बाहिरको कुरा थियो । जापानबाट पढेर आएका, हक्की स्वभावका रघुराज आफ्नो समयका प्रभावशाली खेलाडी थिए, अरुको तुलनामा उनको ज्ञान र बौद्धिकताको स्तर पनि फराकिलो थियो ।

कार्यक्रम सकिएपछि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघका पदाधिकारीले रघुराजलाई धीरेन्द्रसँग माफी मागेर बिन्तीपत्र हाल्न चर्को दबाब दिए । त्यतिबेला परिषद्को सदस्यसचिवमा शरदचन्द शाह र संघको अध्यक्षमा बलभद्रविक्रम शाह थिए ।

‘त्यो घटनामा मेरो कुनै दोष थिएन । तैपनि मैले मजैले गाली खाएँ । रघुराजले धीरेन्द्रसँग हात मिलाउनुहोला भनेर हामीले कल्पनासम्म गरेका थिएनौँ । रघुराजलाई माफी माग्न भनियो, तर उहाँले माफी माग्न अस्वीकार गर्नुभयो,’ मुकुन्द भन्छन्, ‘त्यसपछि रघुराजलाई खेलकुद परिषद् प्रवेशमै रोक लगाउने प्रयास गरियो । धीरेन्द्रले पछि उहाँलाई बोलाएर खेलकुद विकासको विषयमा कुराकानी गरेको हल्ला पनि चल्यो, तर यथार्थ हामीलाई थाहा भएन । बिस्तारै त्यो घटना सेलाएर गयो । त्यो घटनापछि रघुराज तत्कालीन खेलकुद नेतृत्वको आँखाको कसिङ्गर नै बन्न पुग्नुभयो ।’ 

त्यतिबेला रघुराजको सक्रियतामा जापानीले नेपाली एथलेटिक्सलाई जोडेर ‘वे टु काठमाडौँ’ नामको वृत्तचित्र बनाएका थिए । त्यस वृत्तचित्र खासगरी बैकुण्ठ मानन्धर र मुकुन्दहरिका बारेमा बढी केन्द्रित थियो । मुकुन्दहरि भन्छन्, ‘तर रघुराजले धीरेन्द्रसँग हात मिलाएकै कारण प्रशासनले त्यो वृत्तचित्र बाहिर आउनै दिएन ।’

  • बहुदल आएपछि जागिर चैट ! 

२०४१ सालमा सहायक प्रशिक्षकमा नियुक्ति पाएका मुकुन्दले त्यसपछि लामो समय आफूजस्तै प्रतिभाशाली खेलाडी उत्पादन गर्नमा बिताए । पुलिस, आर्मीजस्ता विभागीय क्लबदेखि काठमाडौँका विभिन्न विद्यालयमा खेलाडीलाई प्रशिक्षण दिन्थे उनले । ग्यालेक्सी, लिटिल एन्जल्स, एभीएम, बूढानीलकण्ठ, भानुभक्त मेमोरियलजस्ता स्कुलमा नियमित रूपमा खेलकुदको प्रशिक्षण हुन्थ्यो । इन्द्रमान तुलाधर, ज्ञानेन्द्र श्रेष्ठ, सुरेन्द्र शिखाकारजस्ता नेपाली खेलकुदका हस्तीहरू उनकै प्रशिक्षणमा हुर्किएका हुन् । 

मुकुन्दको अनुभवमा, खेलाडी उत्पादन गर्नु भनेको बच्चा हुर्काउनुभन्दा गाह्रो काम हो । उनको समयमा प्रशिक्षक र खेलाडीबिच नजिकको सम्बन्ध हुन्थ्यो । खेलाडीले प्रशिक्षकलाई आदर गर्थे । ‘कुनै दिन खेलाडी प्रशिक्षणमा नआउँदा हामी नै खेलाडीको घरमा पुगेर अभिभावकलाई सम्झाउँथ्यौँ,’ उनी भन्छन्, ‘अहिले त समय फेरिएजस्तो लाग्छ ।’

नेपाली एथलेटिक्ससँग गाँसिएको एउटा पुरानो र महत्त्वपूर्ण प्रतियोगिताले निरन्तरता पाउन नसकेकामा भने मुकुन्दलाई अहिलेसम्म दुःख छ ।

उनले आफ्नो प्रशिक्षण कार्यलाई औपचारिक रूपमा सेवा निवृत्त नहुँदा (२०६८ चैत २९ गते)सम्म जारी राखे । त्यसबिचमा उनले केही समय बेरोजगार हुनुपर्‍यो । २०४६ सालमा सबै सहायक प्रशिक्षकलाई एकैपटक अवकाश दिइयो । 

‘देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि खेलकुद क्षेत्रको मुहार फेरिएला भन्ने सोचेका थियौँ, तर कुनै समय देशका लागि रगत–पसिना बगाउने हामी प्रशिक्षकको जागिरै चैट भयो,’ उनी भन्छन्, ‘सायद राजनीतिक दलहरूलाई खेलकुदमा आफ्ना कार्यकर्ता भित्र्याउनु थियो । अवकाश पत्रसँगै चार लाख १० हजार रुपैयाँ उपदान पाएको थिएँ । त्यही पैसाले कोटेश्वरको जडिबुटीमा जग्गा किनेर घर बनाएँ ।’

देशका लागि लामो समय खेलेका खेलाडीको जागिर खोसिएपछि त्यसको चर्को विरोध भयो । २०४७ सालमा पुनः उनले खेलकुद परिषद्मा करारमा प्रशिक्षकको जागिर पाए । २०५० सालमा स्थायी भएपछि उनले सेवा निवृत्त नभएसम्म एथलेटिक्स खेलाडी उत्पादन गरिरहे । 

६९ वर्षीय मुकुन्दा अहिले पनि जडीबुटीबाट हिँड्दै गणबहालसम्म आउँछन् र त्यहाँ नेपाल आदर्श स्कुलमा स–साना बालबालिकालाई प्रशिक्षण दिएर हिँडेरै जडिबुटी फर्कन्छन् । ‘हेरौँ कहिलेसम्म यो शरीरले साथ दिन्छ,’ मुकुन्दहरि फिस्स हाँस्छन् ।

  • ‘हिमालय अन्तर्राष्ट्रिय म्याराथन’ बन्द हुँदा...

नेपाली एथलेटिक्ससँग गाँसिएको एउटा पुरानो र महत्त्वपूर्ण प्रतियोगिताले निरन्तरता पाउन नसकेकामा भने मुकुन्दलाई अहिलेसम्म दुःख छ । २०३२ सालमा काठमाडौँमा पहिलोपटक ‘हिमालय अन्तर्राष्ट्रिय म्याराथन’ आयोजना भएको थियो । लगातार दुई संस्करण आयोजना भएपछि अप्रत्याशित रूपमा त्यो प्रतियोगिता बन्द भयो । यति ट्राभल्सले आयोजना गर्ने त्यो अन्तर्राष्ट्रिय प्रतियोगिताको दुवै संस्करणमा मुकुन्दहरिले स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको पहिलो संस्करणको दौड रंगशालाबाट सुरु भएर चक्रपथ परिक्रमा गरी पुनः रंगशालामै आएर टुंगिएको थियो । 

उनका अनुसार, हिमालयन म्याराथन नेपाली एथलेटिक्ससँग जोडिएको ऐतिहासिक प्रतियोगिता थियो । त्यो म्याराथनमा विदेशीले पनि भाग लिन्थे । त्यतिबेलै १२ राष्ट्रका धावक सहभागी भएका थिए । यही म्याराथनका कारण विभिन्न राष्ट्रमा नेपालको नाम चर्चित भएको थियो । काठमाडौँमा अहिलेको जस्तो ठुल्ठुला घर थिएनन् । चक्रपथमा दौडँदा हिमालै हिमाल देखिन्थ्यो । विदेशी सहभागीहरू पनि मख्ख पर्थे । त्यसैले त्यो म्याराथन तस्बिरसहित अन्तर्राष्ट्रिय समाचारको विषय पनि बन्थ्यो । मुकुन्द भन्छन्, ‘यस्तो ऐतिहासिक प्रतियोगिताले निरन्तरता पाउन नसकेकामा दुःख लाग्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया