आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डीआईजी अर्जुन चन्दलाई १० दिन बिदा बस्न अनुमति, राजीनामा ‘छलफलमा’

सोमबार, २२ माघ २०८०, १९ : ००
सोमबार, २२ माघ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको राजीनामा अघि बढाउन प्रहरी प्रधान कार्यालयले आनाकानी गरेको छ । शुक्रबार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् ।

चन्दले दिएको राजीनामाबारे ‘छलफल’ भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । आईजीपी बसन्त कुँवरसँग छलफल गरेपछि चन्दले बिदा लिएका छन् । डीआईजी चन्दले पेस गरेको १० दिनको बिदा आईजीपी कुँवरले स्वीकृत गरेका छन् ।

राजीनामा ‘प्रक्रिया नपुगेको’ हुनाले छलफलमा राखिएको प्रहरीका ती उच्च अधिकृतले बताए । उनी भन्छन्,‘राजीनामा पत्र फरम्याटमा छैन, त्यसलाई मिलाउनुपर्ने हुनाले मन्त्रालयमा नपठाइएको हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिस प्रति डीआईजी चन्द असन्तुष्ट थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेलाई सचेत गराउन सिफारिस गरेको थियो । चेकजाँचमा संलग्न प्रहरी जवानलाई पनि विभागीय कारबाहीको सिफारिस गरेपछि चन्दले असन्तुष्टि जनाउँदै भनेका थिए,‘मेरो जवानको गल्ती नहुँदा पनि मैले जोगाउन सकिन ।’

चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गल्ती नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत अधिकृतहरु बताउँछन् । तर, डीआईजी चन्दले रातोपाटीसँग कुरा गर्दै ‘व्यक्तिगत कारणले राजीनामा दिएको’ बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप