आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

चैतेधानको खेती कसरी गर्ने ?

मङ्गलबार, २३ माघ २०८०, ०८ : ५४
मङ्गलबार, २३ माघ २०८०

हामीकहाँ धानलाई मुख्य अन्न बालीका रूपमा लिइन्छ । नेपालको कुल खेतीयोग्य जग्गाको १५.६ लाख हेक्टरमा धानखेती गरिन्छ । हामीकहाँ धानको राष्ट्रिय औसत उत्पादन ३.८ टन प्रतिहेक्टर रहेको छ । 

नेपालमा लगभग ५० अर्ब रुपैयाँ जतिको चामल भारतबाट बर्सेनि आयात गरिन्छ । साना तथा सीमान्त कृषकहरू खेतीलाई परापूर्वकाल आफ्नो मुख्य पेसाको गर्दै आइरहेका छन् । आफ्नो ज्ञान र सीपका आधारमा हावापानी तथा माटो सुहाउँदो धानका जातहरूलाई खेती गर्दै आएका छन् ।

  • माटोको किसिम 

धानखेतीका लागि खासगरी चिम्टाइलो र दोमट माटो उत्तम मानिन्छ । धान बालीलाई चारदेखि ७.५ पीएचसम्म भएको माटोमा लगाउन सकिन्छ । 

  • जग्गाको तयारी

साधारणतया एकपटक माटो पल्टाउने हलोले र दुई–तीनपटक देशी हलोले वा ट्र्याक्टरको सहायताबाट खेत जोती जग्गा तयार गर्न सकिन्छ ।

  • बिउको मात्रा 

४५ केजी प्रतिहेक्टर ।

  • ब्याड व्यवस्थापन

चैतेधानको ब्याड धुले वा हिले दुवै किसिमले राख्न सकिन्छ । ब्याडलाई रोगकिरा र झारपातरहित गर्न ३०० गेजको प्लास्टिकले एक हप्तासम्म बिउ राख्नुभन्दा अगाडि छोप्दा रोगकिरा र झारपातहरूलाई नियन्त्रण गर्न सकिन्छ । ब्याड माघको अन्तिम वा फाल्गुनको दोस्रो हप्तासम्म राख्दा उपयुक्त हुन्छ । 

  • चैते धानका प्रमुख जातहरू 

चैत–२, चैते–६, चैते–४, चैते–५, घैया–१, हर्दिनाथ–१, हर्दिनाथ–५, सिएच–४५ । 

  • बेर्नाको उमेर र दूरी 

यसलाई २० दिनको बेर्ना रोप्दा उपयुक्त हुन्छ तर केही कारणवश रोप्न सकिएन भने २५ दिनसम्मको बेर्ना रोप्दा पनि सन्तोषजनक उत्पादन लिन सकिन्छ । बोटदेखि बोटको दूरी १५ सेन्टिमिटर र हारदेखि हारको दूरी २० सेन्टिमिटरमा रोप्दा उपयुक्त हुन्छ ।

मलखादको मात्रा : माटोको उर्वरा शक्तिलाई ध्यानमा राखी कम्तीमा १० टन प्रतिहेक्टर कम्पोस्ट मल र ८० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र ३० केजी पोटासप्रतिहेक्टरको दरले प्रयोग गर्नुपर्दछ । 

सिँचाइ : सिँचाइ गर्दा अन्तरालमा दिने र सकाउने गर्नु उपयुक्त हुन्छ । यसरी ४० प्रतिशत सिँचाइमा बचत गर्न सकिन्छ ।

झारपात नियन्त्रण : धान रोपेको २–३ दिनभित्र दुई मिलि बुटाक्लोर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्ने र रोपेको ३० दिनपछि एकपटक हातले गोडमेल गर्दा झारपात नियन्त्रण राम्रो हुन्छ ।

यदि रोपेको २–३ दिनभित्र बुटाक्लोर छर्न सकिएन भने नुमनिगोल्ड १–२ लिटर प्रतिहेक्टरका दरले रोपेको २५ दिनपछि छर्दा पनि झारपात नियन्त्रण गर्न सकिन्छ ।

  • रोगकिरा नियन्त्रण कसरी गर्ने ?

रोगकिरा अवरोधक जातहरू लगाउने । रोगकिरा लागेमा एकीकृत रोगकिरा व्यवस्थापन गर्नुपर्दछ । 

फट्याङ्गाका लागि मालाथियान धुलो २० किलोग्रामका दरले धानको पातमा एकनाशले पर्नेगरी छर्ने ।

पतेरोका लागि बिहान मालाथियान धुलो २० केजीका दरले धानको पातमा एकनाशले पर्ने गरी छर्ने । मेटासिस्टाक्स १.५ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

खैरो फड्केका लागि बिपभिन बिसादी १.५–२ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

पात बेरुवाका लागि मेटासिस्टाक्स १.५ मिलिका दरले प्रतिलिटर पानीमा मिसाएर छर्ने वा अरु कुनै सिस्टेमिक विषादीको प्रयोग गर्ने ।

  • डढुवा रोगमा के गर्ने ?

नाइट्रोजनयुक्त मलखादको कम प्रयोग गर्ने ।

रोग लागेको खेतबाट सिँचाइ नगर्ने ।

२० ग्राम गोबबर मल प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

एग्रिमाइसिन विषादी एकदेखि दुई ग्रामप्रति लिटर पानीमा मिसाएर छर्ने ।

  • मरुवारोगमा के गर्ने ?

हिले ब्याड राख्न लगाउने ।

बिउ बेभिस्टिन नामक विषादीले उपचार गर्ने ।

रोग देखापरेमा हिनोसान १ मिलि प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

  • बाली काट्ने

धानको दानाको चिस्यान १८–२० प्रतिशत भएपछि बाली काट्नुपर्छ ।

  • भण्डारण 

तीन–चार दिन घाममा सुकाएर दानाको चिस्यान १३ प्रतिशतमा भण्डारण गर्दा चामल राम्रो पर्नुको साथै रोगकिराबाट पनि बचाउन सकिन्छ । 

(लेखक वरिष्ठ वैज्ञानिक, जो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथमा कार्यरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामवरन यादव
रामवरन यादव
लेखकबाट थप