सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फेरि बढ्न थाल्यो बैंकिङ सङ्कट

आइतबार, १६ वैशाख २०८१, १३ : ३४
आइतबार, १६ वैशाख २०८१

वासिङ्टन डिसी । अमेरिकामा बैंकिङ सङ्कट गहिरो बनेको छ । यसको ताजा उदाहरण रिपब्लिक फर्स्ट बैंक बनेको छ । सन् २०२४ मा डुब्ने यो पहिलो अमेरिकी बैंक हो । 

गएको वर्ष तीन ओटा बैंक डुबेका थिए । अमेरिकी सञ्चार माध्यमहरूमा छापिएको खबरका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले बैंक जफत गरिदिएको छ ।

अमेरिकी नियामकहरूले रिपब्लिक फर्स्ट बैंक आफ्नो नियन्त्रणमा लिएर यसलाई फुल्टन बैंकलाई बेच्ने सम्झौता गरेका छन् । रिपब्लिक फर्स्ट बैंक पेन्सिलभेनिया, न्यू जर्सी र न्यूयोर्कमा व्यवसाय रहेको क्षेत्रीय स्तरको बैंक हो । यो बैंकसँग सन् २०२४ को जनवरी ३१ सम्ममा ६ अर्ब डलरको सम्पत्ति र करिब ४ अर्ब डलर निक्षेप थियो । बैंक असफल भएसँगै एफडीआईसमाथि ६६ करोड ७० लाख डलरको भार थपिन सक्ने बताइएको छ ।

फुल्टन बैंकले रिपब्लिक फर्स्ट बैंकको टेकओभर गरेको बताइएको छ । यसले बैंकको सबै निक्षेप र सम्पत्ति किनेको छ । यस अघि गएको वर्ष सिलिकन बैंक, सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएका थिए । रिपब्लिक फष्र्ट बैंकले २०२३ मा एउटा लगानी समूहसँग सम्झौता गरेको थियो । तर सन् २०२४ को फेब्रुअरीमा सम्झौता भंग भएपनि एफडीआईसीले बैंकलाई जफत गर्ने र बेच्ने प्रक्रिया पुनः सुरु गरेको थियो ।

धितो कर्जाको मूल्यमा निरन्तर कमी आउनु बैंक धराशायी हुनेको मुख्य कारण बताइएको छ । मुद्रास्फीतिमा अङ्कुश लगाउन अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाइरहँदा मुख्य ब्याजदर उच्च स्तरमा उक्लिएको छ भने व्यावसायिक रियल इस्टेटको मूल्यमा कमी आउँदा अमेरिकामा कयौं क्षेत्रीय र सामुदायिक बैंकको वित्तीय जोखिम बढेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप