शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘विवाद समाधानका लागि संवाद नगरे राजेन्द्र महतोलाई नै घाटा हुन्छ’

लोसपाको भारतसँग विशेष र चीनसँग राजनीतिक सम्बन्ध छ : अकवाल अहमद शाह, वरिष्ठ उपाध्यक्ष, लोसपा नेपाल
मङ्गलबार, २३ माघ २०८०, १६ : ०४
मङ्गलबार, २३ माघ २०८०

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आन्तरिक विवाद छताछुल्ल भएको छ । पार्टी नछाडे पनि सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो अलग भएका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि महतोलाई महत्त्व दिन छाडेर आफ्नै तरिकाले पार्टीलाई अगाडि बढाएका छन् । नेता महतो यतिबेला आन्दोलनको तयारीमा लागेका छन् । अब लोसपासँग नेता महतोको सम्बन्ध के हुन्छ, विवाद कसरी मिलाउन सकिन्छ, पार्टीले के गर्दैछ लगायतका विषयमा रातोपाटीका लागि एस.के यादवले लोसपाका वरिष्ठ उपाध्यक्ष अकवाल अहमद शाहसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  •  तपाईंको पार्टी त विभाजन हुन लागेको छ नि, किन ?

–छैन, कसले भन्यो तपाईंलाई । हाम्रो पार्टी तन्दुरुस्त छ र आफ्नो गतिमा काम गरिरहेको छ । पार्टी कार्यालयमा हरेक दिनजसो छलफल भइरहेका हुन्छन् । जिल्ला तथा प्रदेशमा पनि संगठनका काम भइरहेका छन् । पार्टी विभाजन हुने वा कुनै विवाद भएजस्तो मलाई लाग्दैन ।

  •  तपाईंकै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो अर्को पार्टी बनाउने तयारीमा लागिसक्नु भएको छ, होइन र ?

–हो, मैले पनि मिडियाबाट यो कुरा सुनेको छु कि उहाँले के के गरिरहनु भएको छ रे । तर अहिलेसम्म त्यसको आधिकारिक जानकारी पार्टीमा आएको छैन । पार्टीमा उहाँको केही असन्तुष्टि होला, त्यतिले मात्र उहाँ पार्टी छाडेर जानु हुन्छ, अर्को पार्टी बनाउनु हुन्छ जस्तो मलाई लाग्दैन ।

मैले बुझे अनुसार उहाँ कुनै आन्दोलनको तयारीमा लाग्नु भएको छ । त्यो आन्दोलनले सबैलाई हित हुन्छ, पार्टीको हितमा हुन्छ भने हामी पनि सघाउँछौँ । आन्दोलन आफैँमा खराब हुँदैन तर त्यो आन्दोलन किन र केका लागि गर्ने भन्ने पुष्टि हुनुपर्छ ।

  •  खासमा पार्टीभित्र राजेन्द्र महतोको असन्तुष्टि के हो ?

–उहाँले आफ्नो असन्तुष्टि पार्टीमा राख्नु भएकै छैन । बाहिर मिडियामा आएका कुरामात्र हुन् । त्यो कति सत्य हो, कति असत्य हो भन्ने कुरा त पार्टीमा त्यो विषय आएपछि मात्र छलफल हुने कुरा हो । मेरो विचारमा पार्टीप्रति वा कसैप्रति श्रद्धेय नेता राजेन्द्रजीको कुनै असन्तुष्टि छ भने त्यो कुरा पार्टीमा राखेर छलफल गर्नुपर्छ ।

समाधान आफैँभित्र खोज्नुपर्छ, बाहिर बोलेर समाधान हुने होइन, झन् बढी बिग्रिन्छ । त्यो बिग्रिन नदिनका लागि पनि संवाद हुनु जरुरी छ । एउटा परिवारमा भाइभाइ, बाबुछोरा, आमाछोरी बिचमा मनमुटाव हुन्छ भने पार्टीभित्र नहुने कुरा नै हुँदैन तर समाधान त्यहीँ खोज्नुपर्छ । समाधानका लागि पहल गर्नुपर्छ ।

  •  राजेन्द्र महतोसँग संवादका लागि तपाईंको पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पहल नै गर्नुभएको छैन भनिन्छ नि, के हो कुरा ?

–तपाईंलाई कसले भन्यो यस्तो कुरा ? पार्टीका आन्तरिक कुरा सबै बाहिर आउँछ वा आउनुपर्छ भन्ने होइन । भइरहेका पहलहरु तपाईं मिडियाका साथीहरु समक्ष नपुगेको होला, त्यो बेग्लै कुरा हो तर पार्टीभित्र संवादका लागि पहल भइरहेको छ । पार्टीका अध्यक्ष महन्थजीले नै यसका लागि पहल गरिरहनु भएको छ अरु साथीहरुले पनि पहल गरिरहनु भएको छ । मेरो विचारमा सानोतिनो मनमुटाव छ, त्यो चाँडै मिल्छ सायद ।

  •  विवाद मिल्ने आधार देख्नुभएको छ ?

–मेरो विचारमा मिल्छ जस्तो लाग्छ । यदि मिलेन भने यसले राजेन्द्र महतोलाई नै घाटा गर्छ । र, यसले मधेस आन्दोलनलाई क्षति गर्छ । मधेसलाई क्षति हुने काम कसैबाट हुन्छ जस्तो लाग्दैन ।

  •  लोसपामा हालसम्म कुनै राजनीतिक गतिशीलता देखिएको छैन नि ?

–मैले अघि नै भनेको थिएँ कि लोसपा पूरै गतिशील छ । संगठन निर्माणका लागि विभिन्न कार्यदल बनेका छन् । ती कार्यदलले आफ्ना प्रतिवेदन तयार गरिरहेका छन् । जनकपुरमा केन्द्रीय समितिको बैठक बस्नेछ, त्यो बैठकमा कार्यदलहरूले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । राजनीतिक प्रतिवेदनदेखि लिएर भ्रातृ संगठन गठनसम्म, पार्टी सुदृढीकरणदेखि लिएर अन्तरिम विधान संशोधनसम्मको विषयमा कार्यदलहरूले आआफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । र त्यो प्रतिवेदनको आधारमा पार्टी संगठित रूपमा अगाडि बढाइनेछ ।

  • भारतीय विदेश मन्त्री एस.जयशंकरको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता भएका छन्, ती सम्झौतालाई तपाईंको पार्टीले कुन रूपमा लिएको छ ?

–जयशंकरजीको भ्रमणको क्रममा भएको सम्झौतालाई हाम्रो पार्टीले स्वागत गरेको छ । १० हजार मेगावाट बिजुली नेपालले निर्यात गर्ने सम्झौता भएको छ, यो दुवै देशका लागि ऐतिहासिक सम्झौता हो । यो सम्झौता कार्यान्वयनमा आयो भने यसले नेपालको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने विश्वास हामीले लिएका छौँ । भारतले पनि यो बिजुलीबाट आफ्नो देशमा विकास गर्नेछ ।

  •  तर चिनियाँ लगानीमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने भनेको छ, यो त विवादास्पद भएन र ?

–भारत सरकारले यो १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्नुभन्दा पहिले नै यसबारे प्रस्ट पारिसकेको थियो । यो १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौतापछि भारतले यो कुरा भनेको होइन । चीनले बनाएको जलविद्युत आयोजनबाट उत्पादन भएको बिजुली खरिद नगर्ने भारतले पहिला नै स्पष्ट पारिसकेको थियो, त्यसमा अब टिप्पणी गर्नुको कुनै अर्थ रहेन । भारत यो निर्णय गर्न स्वतन्त्र छ । उसले कुनै सामान खरिद गर्दा कुन सामान लिने र कुन नलिने भन्ने उसको स्वतन्त्रता हो । यसमा नेपालले टाउको दुखाउन हुँदैन । भारत भनेको ग्राहक वा उपभोक्ता हो, नेपाल भनेको बिक्रेता हो । उपभोक्ताले खोजेको सामान बिक्रेताले दिनुपर्छ ।

  •  भारतले नेपालमा २० करोड रुपैयाँसम्मको रकम खर्च गर्न सक्ने विषय पनि विवादमा आएको छ, त्यसमा लोसपाले कुनै प्रतिक्रिया अहिलेसम्म जनाएको छैन नि, किन ?

–भारतले नेपालमा २० करोडसम्मको बजेट खर्च गर्न सक्ने विषयलाई यहाँ जबर्जस्ती रूपमा विवादमा ल्याइएको छ । यस्तो यो पहिलो पटक होइन, पहिला तीन करोड थियो, पछि पाँच करोड भयो । अहिले त्यसैलाई २० करोड गरिएको हो । यो कुनै नयाँ कुरा होइन । तर दुई देशबिचको सम्बन्धलाई कसरी बिगार्न सकिन्छ भनेर एकथरी लागेको छ । छिमेकी देशको नाताले भारतले आफ्नो धर्म निर्वाह गरिरहेको छ । नेपालको विकास निर्माणमा सहयोग पु¥याइरहेको छ तर कतिपय यस्ता तत्वहरु छन्, जसलाई यो कुरा टाउको दुखाइको विषय बनेको छ ।

जसले पैसा दिन्छ, त्यसलाई आफूले दिएको पैसा कहाँ कसरी खर्च भइरहेको छ भन्नेबारे अलिकति चासो भइहाल्छ नि । राम्रो ठाउँमा, राम्रो काममा खर्च भइरहेको छ कि छैन भन्ने चासो राख्नु स्वाभाविक हो तर फलानै ठाउँमा खर्च गर्नुपर्छ, फलानै कुरामा खर्च गर्नुपर्छ भनेर भारतको हस्तक्षेप हुँदैन । नेपाल सरकारले आफूले चाहेको ठाउँमा खर्च गर्न सक्छ । संघीय सरकारले सिफारिस गरिएको ठाउँमा मात्र खर्च गर्न पाउने प्रावधान छ । यो कुरा संघीय सरकारले स्पष्ट पारिसकेको छ । तै पनि पटकपटक यसलाई विवादमा ल्याउने काम भइरहेको छ ।

  •  नेपाल–भारत सम्बन्ध विश्वमै उत्कृष्ट छ तर सबैभन्दा बढी विवादमा पनि यही सम्बन्ध आउने गरेको छ, यस्तो किन ?

–नेपाल भारत सम्बन्ध विश्वमै दुर्लभ छ । दुई देश बिचमा कूटनीतिक सम्बन्धमात्र नभएर जनता–जनता बिचको सम्बन्ध पनि छ । सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायत हरेक खालको सम्बन्ध नेपाल–भारत बिचमा छ । यस्तो सम्बन्ध विश्वका कुनै पनि देशसँग छैन । तर यही सम्बन्धलाई बिगार्ने प्रयास भइरहेको छ । पछिल्लो समय नेपाल–भारत सम्बन्धलाई बिगार्न सुनियोजित रूपमा केही दलका नेता तथा तथाकथित केही बुद्धिजीवीहरूले अनर्गल प्रचार गरिरहेका हुन्छन् ।

  •  लोसपाले भारतको हरेक कुरालाई बचाउ किन गर्छ ?

–लोसपाले केही गरेको छैन । एउटा असल छिमेकीको धर्म निर्वाह गरेको छ । लोसपाले पञ्चशील सिद्धान्तका आधारमा हरेक देशसँग समान सम्बन्ध राखेको छ । लोसपाले अहिलेसम्म गलतलाई गलत र सहीलाई सही भन्दै आएको छ । भारतको हरेक कुराको बचाउ पनि गरेको छैन र समर्थन पनि गरेको छैन ।

  •  हाम्रो छिमेकी देश चीन पनि हो तर सम्बन्ध भारतसँग मात्र देखिएको छ नि ?

–होइन, चीनसँग पनि हाम्रो मित्रवत् सम्बन्ध छ । छिमेकी देशका नाताले हाम्रो सम्बन्ध राजनीतिक स्तरमा राम्रै छ । तर भारतसँग अलि विशेष रहेको पनि सही हो । भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्धमात्र नभएर पारिवारिक सम्बन्ध पनि छ । बेटीरोटीको सम्बन्ध छ । भारतसँग हाम्रो संस्कृति मिल्छ, भाषा, भेषभुषा मिल्छ । खुला सीमा भएको कारण जुनसुकै बेला आउजाउ गर्न सकिन्छ । आउन जान हामीले कसैसँग अनुमति लिनुपर्दैन तर चीन जति नजिकको छिमेकी देश भए पनि हामी नेपालीका लागि हरेक कुरा गाह्रो छ । भाषा, संस्कृति मिल्दैन । आउजाउ गर्न पनि त्यतिकै समस्या हुन्छ । कुनै कुराको प्रतिबद्धता तत्कालै गर्न सक्दैनौँ । चीनको हरेक कुरामा नेपालीको पहुँच छैन । यद्यपि राजनीतिक र कूटनीतिक सम्बन्ध उच्च छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप