आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ

आइतबार, २१ असार २०८३, ११ : ५४
आइतबार, २१ असार २०८३

सारांश

  • थाइल्याण्डको बैंककबाट चक्लेटको प्याकेटभित्र लुकाएर लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारतको कोलकाता घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन्, जसको साथबाट २ किलो ८०० ग्राम गाँजा बरामद भएको छ ।
  • प्रारम्भिक अनुसन्धानमा उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।

काठमाडौँ । थाइल्याण्डको बैंककबाट चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको कोलकाता, पश्चिम बंगाल घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार, क्षेत्री थाई एयरवेजको उडानमार्फत आइतबार बैंककबाट काठमाडौं आएका थिए । विमानस्थलमा उनको लगेज (सामान) जाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र लुकाइछिपाई ल्याइएको २ किलो ८०० ग्राम थाइल्याण्डको गाँजा फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएको उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।

प्रहरीले क्षेत्रीको साथबाट गाँजाका अतिरिक्त एक थान पासपोर्ट र एक थान मोबाइल समेत बरामद गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप