मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
शुक्रराज ट्रपिकल हस्पिटल

४ अर्बको ठेक्कामा सतर्कता केन्द्रले चलायो कैँची

शुक्रबार, २६ माघ २०८०, १९ : ३३
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रको नयाँ बन्न लागेको भवनको ठेक्का सम्झौतापछि खरिद कार्य सुरु गर्न लाग्दा सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ । केन्द्रले स्रोत सुनिश्चितता नभई खरिद प्रक्रिया अगाडि नबढाउन सघन सहरी तथा भवन निर्माण आयोजनालाई पत्र पठाएको हो ।

आयोजनाले टेन्डरमार्फत हस्पिटलको भवन बनाउन शर्मा एण्ड कम्पनी, समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभीलाई प्राविधिक रुपमा छनौट गरेको थियो । भवन बनाउन ठेक्का सम्झौता गर्न आयोजनाले दोस्रो सम्झौता गरेको हो । यसअघि आयोजनाले गत वर्ष चैतमा कोन्टेक – गौरी पार्वती जेभीसँग सम्झौता गरेको थियो । त्यतिबेला उक्त कम्पनी कालोसूचीमा परेपछि आयोजनाले गत मङ्सिर १५ मा पुनः टेन्डर गरेर ठेक्का सम्झौता गरेको थियो ।

गत वर्ष चैतमा गरेको ठेक्का सम्झौतामा २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार रुपैयाँ लागत अनुमान कायम गरिएको थियो । अहिले गरेको सम्झौतामा ३ अर्ब ८६ करोडको लागत अनुमान गरिएको छ । हस्पिटलको भवन निर्माणसँगै फर्निचर, अक्सिजन पाइपलाइन, अप्रेसन थिएटर, शय्या लगायतका ठेक्का सम्झौता गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा सरकारले बजेट मार्फत ३०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो ।

केन्द्रले आयोजनालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयबाट निर्माण हुन लागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चितता नभई प्रक्रिया अगाडि बढेको भन्ने उजुरीका विषयमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम २ (क) बमोजिम कारबाही सुरु गर्दा ऐ नियमावलीको नियम ६ को उपनियम ५ मा भएको व्यवस्था बमोजिम स्रोतको सुनिश्चितता गरी मात्र नियमानुसार खरिद कार्य गर्न गराउन हुन मिति २०८० माघ २३ गतेको (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ ।’

नियमावलीको नियम ६ को उपनियम ५ मा सार्वजनिक निकायले बहुवर्षीय सम्झौता बमोजिम गरिने खरिदको हकमा उपनियम २ को खण्ड क बमोजिम अन्य वर्षको लागि खरिद कारबाही गर्दा आवश्यक पर्ने बजेटको स्रोत सुनिश्चितता गरेर मात्रै खरिदको कारबाही सुरु गर्नु पर्ने उल्लेख छ ।

आयोजनाले नियम ६ को उपनियम २ (क) मा बहुवर्षीय सम्झौता बमोजिम गरिने खरिदको हकमा पहिलो वर्षको लागि आवश्यक बजेट व्यवस्था भएपछि अन्य वर्षको लागि खरिद कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

केन्द्रले आयोजनालाई पत्र पठाउँदा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई बोधार्थ दिएको छ ।

केन्द्रका सचिव रामआधार साहका अनुसार आयोजनाले ठेक्का सम्झौता गरेर स्रोत सुनिश्चितता नभई खरिद कार्य गर्न थालेपछि ध्यानाकर्षण पत्र पठाइएको हो । उनले भने, ‘यति ठुलो निर्माण कार्यका लागि बजेटको सुनिश्चितता नभई खरिद कार्य गर्न दियो भने भोलि ठेकेदारले काम गर्न सक्दैन र भवन निर्माण बिचमै अलपत्र पर्ने सम्भावना देखिन्छ, त्यही भएर सुरुमै हामीले सचेत गराएका हौँ ।’

आयोजना प्रमुख गणेश कर्माचार्यले पहिला बहुवर्षीय खरिद योजना स्वीकृत गरेर काम अगाडि बढाएको बताए । उनले भने, ‘हामीले खरिद योजना स्वीकृत गर्दा स्रोत सुनिश्चितताको कुरा थिएन, अहिले आएको हो । हामीले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएका छौँ ।’

उनले अहिले काम रोकेको र स्रोत सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने बताए ।

नेपालको एकमात्र सरुवा रोग अस्पतालले कोरोना महामारीका बेला संक्रमितको उपचारमा राम्रो सेवा दिएको थियो । तर भवन लगायतका संरचना अभावका कारण आवश्यकता अनुसार बिरामीलाई सेवा दिन सकेको छैन ।

आयोजनले तयार पारेको डिजाइन अनुसार तीन सय शय्याको अस्पतालको नयाँ भवन ६ तलाको हुनेछ । सबैभन्दा तल बेसमेन्टमा पार्किङ, भुइँतलामा आकस्मिक, बहिरङ्ग कक्ष र रेडियोलोजी विभाग रहनेछन् । पहिलो तलामा प्रयोगशाला, बहिरङ्ग कक्ष, फिभर वार्ड, दोस्रो तलामा अनुसन्धानमूलक विशेष प्रयोगशाला, जनरल वार्ड, इमर्जिङ आइसोलेसन वार्ड रहने आयोजनाले जनाएको छ ।

तेस्रो तलामा प्रत्यारोपण, पोषण, हेमाटोलोजी, मेलिगेन्सी वार्ड, नवजीवन वार्ड, चौथोमा छालारोग विभाग, रेबिज÷टिटानस र टीबी वार्ड रहने छन् ।

आयोजनाले तयार पारेको डिजाइन अनुसार पाँचौँ तलामा ३० बेडको आईसीयू कक्ष, भीभीआइपी क्याबिन, शल्यक्रिया, सेमिनार हल र छैटौँ तलामा लन्ड्री तथा क्यान्टिन रहने छ । बिरामी र कर्मचारीका लागि छुट्टाछुट्टै लिफ्ट राखिने भएको छ ।

पूर्व निर्देशक डा. सागर राजभण्डारीको पालामा तीन सय बेडको अस्पताल बनाउने गुरुयोजना बनेको थियो । अस्पतालका अनुसार अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ । नयाँ भवन बनाउन करिब १७ रोपनीमात्र प्रयोग हुने छ । बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप