शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा विद्यार्थीको हजारौँ पाउण्ड ठगी गरेको गोर्खामाथि आरोप

शुक्रबार, ०४ फागुन २०८०, १४ : १८
शुक्रबार, ०४ फागुन २०८०

लन्डन । बेलायत आउनुअघि शैक्षिक कन्सल्टेन्सीको ठगी त छँदै थियो, यहाँ आइसकेपछि पनि नेपाली विद्यार्थी ठगिने क्रम रोकिएको छैन ।

काम र कोठा नपाएर सास्ती खेपिरहेका विद्यार्थीलाई अहिले ‘बेलायतमा पाउण्ड दिन्छु नेपालमा रुपैयाँ डिपोजिट गरिदिनु’ भनेर लुट्ने काममा नेपाली नै संलग्न भएका गुनासो व्यापक बढेको छ । ‘कोठा छ पहिले नै डिपोजिट गरिदिनु’ भनेर ठग्ने क्रम चलिरहँदा हुन्डी कारोबारमा झन् बढी नेपाली फस्न थालेका हुन् । तर, नेपालमा परिवारलाई चिन्ता हुन्छ भनेर विद्यार्थी आफ्नो पीडा भन्न सकिरहेका छैनन् ।

एगंलिया रस्किन युनिभर्सिटी, क्याम्ब्रीजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट कोर्समा मास्टर्स गरिरहेकी जयसवाल थरकी विद्यार्थी सयौँमध्ये एक पीडित हुन् । उनले ब्रिटिस आर्मीमा कार्यरत २७ वर्षीय विशाल राईलाई सामाजिक सञ्जालमा भेटिन् जसले नेपालको बैङ्कमा पैसा डिपोजिट गरिदिए यूकेमा पाउण्ड दिने विज्ञापन गरिरहेको थियो । ती विद्यार्थीले विश्वास गरेर यूनीको अर्जेन्ट फि तिर्न विशाललाई सम्पर्क गरिन् । उसले भने अनुसार नेपालमा दुई लाख रुपैयाँ पनि डिपोजिट गर्न लगाइन् । नेपालमा पैसा हालेपछि यता पाउण्ड माग्दा विशालले आलटाल गर्न थाल्यो । २(४ दिन छैन, हप्ता दिन छैन । पैसा नआएपछि जयसवालले फेसबुकमा स्क्रिनसटसहित विशालको सबै नालीबेली राखिदिइन् । त्यसपछि आफ्नो बेइज्जत गरेको भन्दै उसले पोस्ट हटाउनु नत्र पैसा नै दिन्न भन्न थाल्यो । उल्टै धम्क्याउने गरेको गुनासो पीडितको छ ।

ती विद्यार्थीले पैसा नपाएपछि फेसबुक लाइभमा आफ्नो गुनासो पोख्दा अहिले विशाल राईबाट ठगिएका ८ जना विद्यार्थी सम्पर्कमा आइसकेका छन् । उसले भाइ विवेक राईको अकाउन्टमा पैसा हाल्न लगाउने गरेको पीडितले बताएका छन् ।

विशालले विद्यार्थीबाट एक देखि १० हजार पाउण्डसम्म गरि हालसम्म ५० हजार पाउण्ड बढी ठगिसकेको भन्दै पीडितले उक्त व्यक्तिको फोटोसहित आफ्नो पीडा पोस्ट गरेका छन् । ‘डली कसजु’ का अनुसार विशाल राई ब्रिगेड अफ गोर्खा ब्याण्डमा आवद्ध छन् ।

यूके नेप्लिज कम्युनिटी ग्रुपका एक एडमिनले जोसंग कारोबार गरेको हो उसकै फोटो र आफूसंग भएका प्रमाण मात्र सार्वजनिक गर्न अनुरोध गरेका छन् । थोरै पैसाको लोभमा यस्तो धन्दामा नफस्न आग्रह गर्दै शुभम दाहालले भिडियो सन्देश जारी गर्दै नेपालको खाता नम्बर पनि नेपाल प्रहरीमा उजुरी दिन सुझाएका छन् ।

बेलायतमा विद्यार्थीले महिनौँसम्म काम नपाउँदा उनीहरू नेपालबाट पैसा झिकाउन विवश छन् । यस्तो अवस्थाको फाइदा लिँदै ठगी गर्नेहरू बढेका पाइएको छ ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार, विद्यार्थीले विश्वविद्यालयलाई फि तिर्नु परेमा नेपालबाट नेपाल राष्ट्र बैङ्कमार्फत विश्वविद्यालयको खातामा सिधै पैसा हाल्न सक्छन् । खर्चको पूर्व प्रबन्ध गर्न वा बेलायत आइसकेपछि पनि लिगल च्यानलबाट मात्र कारोबार गर्न दूतावासले सुझाएको छ ।

हुन्डी कारोबार गैर कानुनी मानिन्छ । त्यसमाथि विशाल राई ब्रिटिस आर्मीमा कार्यरत भएकाले उसलाई कम्प्लेन गरेमा जागिर जाने र जेल नै पर्ने एक गोर्खाले बताए । ‘विशाल जस्ता ठगहरुको लिष्ट आइरहेको छ । हामी उनीहरूको गलत धन्दा पर्दाफास गर्ने तयारी गरिरहेका छौँ । यस कार्यलाई निरुत्साहित गर्न जरुरी भइसकेको छ’, एनआरएनएका एक अभियन्ताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप