सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्फ्यु

वीरगन्जको सुरक्षा व्यवस्था कडा : १ हजार सुरक्षाकर्मी परिचालन

सोमबार, ०७ फागुन २०८०, १८ : २४
सोमबार, ०७ फागुन २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले  कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो ।  

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । प्रशासनले  कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । 

उनले भने,‘अहिले वीरगन्जको अवस्था तनाव ग्रस्त छ, त्यही भएर  कर्फ्यु लगाइयो । हामीले थप मद्दतका लागि अन्य जिल्लाबाट पनि प्रहरी मगाएका छौँ, बागमती प्रदेशबाट पनि थप मद्दतमा प्रहरी आउँदै छ । शान्ति सुरक्षाभंग हुन नदिन पुरै सतर्कता अपनाइन्छ ।’

साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका अनिश्चितकालीन  कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम  कर्फ्यु आदेश जारी गरेको जनाए । 

कुन–कुन क्षेत्रमा लाग्यो  कर्फ्यु ?

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका सीमा क्षेत्रभित्र  कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल,उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म  कर्फ्यु लगाइएको छ ।  

केके गर्नमा रोक ?

प्रशासनले  कर्फ्यु अवधिभर हिँड्डुल गर्नमा पूर्णरुपमा बन्देज लगाएको छ । योसँगै जिल्ला प्रशासन कार्यालयले  कर्फ्यु अवधिभर कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङ्खल गतिविधि गर्न नपाउनेमा रोक लगाएको छ । 

कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही गरिने समेत प्रशासन चेतावनी छ । 

यसैबिच सोमबार दिउँसो वीरगन्जमा भएको विवादमा परी नेपाल र सशस्त्र प्रहरीका ११ जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित ९ जना र सशस्त्र प्रहरीबाट २ जना प्रहरी घाइते भएका थिए । प्रहरी घाइते हुनुको साथै उग्र अवस्था बन्दै गएपछि प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्याँस समेत प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप