आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पेनाल्टी सुटआउटमा बाजी मार्दै रोमा युरोपा लिगको अन्तिम १६ मा

शुक्रबार, ११ फागुन २०८०, ०९ : ५६
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा डच क्लब फेयनुर्डलाई हराउँदै इटालियन क्लब रोमा युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ । रोमाले बिहीबार राति सम्पन्न खेलमा फेयनुर्डलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो ।

प्रतियोगिताको पहिलो र दोस्रो लेग खेल बराबरीमा सकिएपछि हार–जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको हो । यी दुई टोलीबिचको पहिलो लेग खेल १–१ र दोस्रो लेग खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि कूल गोल भिन्नतामा पनि २–२ भएको थियो ।

बिहीबार राति सम्पन्न दोस्रो लेग खेलमा सुरुआती अग्रता भ्रमणकारी टोली फेयनुर्डले लिएको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै फेयनुर्डका लागि सान्टियागो जिमेन्जले गोल गरेका थिए । तर, फेयनुर्डको त्यो अग्रता लामो समय टिक्न सकेन ।

निर्धारित समयको १५औँ मिनेटमा घरेलु टोली रोमाका लागि लोरेन्जो पेलेग्रिनीले जवाफी गोल फर्काएका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो र त्यसमा सफलता हात पार्दै रोमा अन्तिम १६ मा पुग्न सफल भयो ।

अन्तिम १६ को खेल तालिका भने शुक्रबार सार्वजनिक गरिने छ । रोमासँगै इटालियन क्लब एसी मिलान, जर्मन क्लब एससी फ्रेइबर्ग, पोर्चुगिज क्लब स्पोर्टिङ सीपी, अजरबैजानको क्वाराबाग, पोर्चुगिज क्लब बेनफिका, पाराग्वेको स्पार्टा पाराग्वे र फ्रान्सेली क्लब मार्से पनि अन्तिम १६ मा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप