मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

शनिबार, १२ फागुन २०८०, २० : ३९
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवम् जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ ।  

मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने अनि तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, तिनका आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव ददि सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ । ‘ददिजीको लेख्ने तरिका रमाइलो छ । पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उहाँको लेखन मलाई मन पर्छ,’ उनले भने ।  

वर्षौँअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताए । ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसस्वादन गराउँदै जाँदा मलाई थाहा भयो— कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ । जाडोयाम लाग्नासाथ भालेहरु हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’ उनले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ । हतारिँदै निकै दिन लगाएर खाइनखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन् । यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हे¥यै हुन्छन् । पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन् । त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन् ।’

यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र सबै मानिसमा नपुगेको जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ । ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’ उनी भन्छन्, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरूले स्त्रीलाई दुःख दिने रहेछन् । तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन् । चोरीचकारी अनि लुकीचोरी मायाप्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन् ।’

प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’मा आइपुगेको उनले जनाए । ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे वनको ‘वैभव पुस्तक’ लेखिसकेको मैले यस पटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप