शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

चालु आर्थिक वर्षको ७ महिना : खनिज इन्धनबाटै उठ्यो ६५ अर्ब राजश्व

राजश्व सङ्कलन २४ अर्बले बढ्यो, कूल २ खर्ब ३६ अर्ब सङ्कलन
आइतबार, १३ फागुन २०८०, ०८ : २७
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । खनिज इन्धनको खपतमा सामान्य वृद्धि आउन थालेसँगै भन्सार राजश्व बढ्न थालेको छ । भन्सार विभागको ७ महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात बढेको छ । आन्तरिक खपत बढेसँगै पेट्रोलियम पदार्थको आयातमा समेत वृद्धि देखिन थालेको हो । यससँगै, विभागले सङ्कलन गर्ने भन्सार राजश्वमा समेत उल्लेख्य वृद्धि देखिएको हो ।

चालु आर्थिक वर्ष २०८०-८१ को ७ महिनाको अवधिमा २ खर्ब ३६ अर्ब ३८ करोड २५ लाख रुपैयाँ भन्सार राजश्व उठेको छ । साउनदेखि माघ महिनासम्मको अवधिमा विभागले उक्त मूल्य बराबरको भन्सार राजश्व सङ्कलन गरेको हो । यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ अर्ब २६करोड रुपैयाँ बढी राजश्व सङ्कलन हो । गत आर्थिक वर्ष २०७९-८० को ७ महिनाको अवधिमा भन्सार विभागले २ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ राजश्व उठाएको थियो । यसबाट, भन्सार राजश्व विस्तारै लयमा फर्किन थालेको प्रस्टै देखिन्छ ।

गत आर्थिक वर्षको ७ महिनाको अवधिमा विभागले पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको थियो । यो वर्षको ७ महिनाको अवधिमा गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातबाट धेरै राजश्व सङ्कलन भएको विभागले जनाएको छ । यस अवधिमा पेट्रोल २२ अर्ब ३८ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ ।

यस अवधिमा विदेशबाट ३८ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको पेट्रोल भित्रिएको छ । यसपछि, डिजेलको आयातबाट २९ अर्ब ६९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा ७७ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको डिजेल भित्रिएको छ । यस्तै, १२ अर्ब रुपैयाँको हवाई भित्रिँदा १ अर्ब ६८ करोड राजश्व सङ्कलन भएको छ । यस अवधिमा खाना पकाउने एलपी ग्यासबाट मात्रै ५ अर्ब ६५ करोड रुपैयाँ कर उठेको छ ।

७ महिनाको अवधिमा खानीजन्य पेट्रोलियम पदार्थ, कोइला र सबैप्रकारका खनिज इन्धनको आयातमा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बाहिरिएको छ । यो मूल्यको इन्धन आयात हुँदा राज्य कोषमा ६५ अर्ब ७३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सबैभन्दा धेरै कर केबाट उठ्यो ?

tax

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप