शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

वैदिककालदेखि आजसम्म हामीले कस्तो युगसापेक्ष शिक्षाको अभ्यास गर्दै आयौँ ?

मङ्गलबार, १५ फागुन २०८०, ०९ : १४
मङ्गलबार, १५ फागुन २०८०

सृष्टिको रचना अपरम्पार छ । यही सृष्टिको अनुपम उपहार मानव जाति हो । मानवलाई सृष्टिको एउटा कडीका रूपमा लिइएको छ । मानवसँगै अन्य प्राणीको पनि उपस्थिति रहँदै आएको छ । जंगली अवस्थाका मानवले जीविकोपार्जनका लागि सिकार र सुरक्षाका लागि ढुङ्गे औजारको विकास गरे । त्यस समयमा उनीहरूको सोच र युगको आवश्यकता त्यही थियो । 

जब मानिसमा चेतनाको ज्वारभाटा चल्न थाल्यो र आवश्यकतामा वृद्धि हुन थाले, उसले नयाँ कुराहरूको आविष्कार र प्रयोगमा आफ्नो बुद्धिलाई केन्द्रित गर्न थाल्यो । यसैको प्रत्युत्पादकस्वरूप उसले कृषि र पशुपालन समाजको विकास गर्‍यो । यो उसको अनुभव र ज्ञानको उपज थियो । 

जब मानव जाति कृषि युगको विकास गरी त्यसको अभ्यासमा लाग्यो, तब धनको महत्त्वलाई प्राथमिकता दिन थाल्यो र सामन्तवादी युगको प्रारम्भ भयो । साधारण किसानहरू दासका रूपमा रूपान्तरित हुन थाले । कृषि युगको चरमोत्कर्ष कालमा वैज्ञानिक युगको प्रादुर्भाव भयो । सामन्तहरू उद्योग र कारखानाका मालिक भए भने साधारण किसानहरू मजदुरका रूपमा रूपान्तरित भएर गए । युगसापेक्ष रूपमा लेखक, वैज्ञानिक, राजनीतिशास्त्रीहरू, अर्थशास्त्रीहरू र दार्शनिकहरू पैदा भए । विकास भएका दिमाग र दर्शनहरू पूर्वजका ज्ञान र अनुभवबाटै पुस्तान्तरण भएर आएका हुन् ।

आउनुस्, विभिन्न कालका शिक्षालाई नियालौँ । 

  • वैदिककालीन शिक्षा

वेद मानव जातिले आर्जन गरेको ज्ञान र अनुभवको भण्डार हो । ब्राह्मण जनिएकाहरू वेद र प्रचलित धर्मशास्त्रका विधि–विधानको अध्ययन गर्दथे भने क्षेत्रीय तथा राजा–महाराजाहरू सैनिक शिक्षा, युद्धकलाको ज्ञान र धनुर्विद्या लगायत शस्त्रकलाको ज्ञान लिन्थे । राज्य सञ्चालन तथा संरक्षणका लागि शस्त्रकला र युद्धकलासम्बन्धी ज्ञान लिएको पाइन्छ । वास्तवमा यो तत्कालीन युग सापेक्षा थियो । गुरुकुलको चर्चा गर्ने हो भने गुरुहरू देवतुल्य थिए । सम्मानका दृष्टिले हेर्ने हो भने देव र राजाभन्दा पहिले गुरुको सम्मान हुन्थ्यो । 

  • पौराणिक शिक्षा 

कालक्रमका दृष्टिले हेर्ने हो भने वेदकालपछि पौराणिक काललाई लिइन्छ । पौराणिक कालका घटनाहरू पुराणमा लिपिबद्ध भएका छन् । भगवान श्रीराम, श्रीकृष्ण, पाण्डव तथा कौरवहरूले गुरुकुलमा शिक्षा लिएका थिए । त्यहाँ अनेकौँ क्षेत्रसँग सम्बन्धित शिष्यहरू ज्ञानार्जनका लागि प्रवेश गर्दथे । जातका दृष्टिले मात्र नभई क्षमता र प्रतिभाका दृष्टिले पनि शिक्षा लिन पाउने थिति थियो, कर्णलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । गुरु परशुराम, द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा ब्राह्मण कुलका भएर पनि युद्धकला र शस्त्रकलाका प्रख्यात हस्तीहरू थिए । 

शिक्षाको महिमा युग युगान्तरसम्म कायम रहँदो रहेछ । युग फेरिन्छ, मानिसका सोचाइ, चिन्तन फेरिँदै जान्छन् तर उसले प्राप्त गर्ने शिक्षाको तिर्खा कहिल्यै मेटिँदो रहेनछ ।

यस कालमा पनि वैदिककालको जस्तो शिक्षा पद्धतिले निरन्तरता पाएको थियो । ब्राह्मणहरू शास्त्र, क्षेत्रीय तथा राजाहरू शस्त्रकला, युद्धकलाका ज्ञान लिन्थे । रामायणकालमा आयुर्वेदको ज्ञान भरपूर प्रयोगमा आएको थियो । लंकाका राजा रावणको दरबारमा सुसेनजस्ता आयुर्वेदका ज्ञाता पनि थिए । यस समयमा औषधी विज्ञानका ज्ञान प्राप्त ज्ञानीहरू पनि थिए । यस समयमा पनि गुरुको उच्च स्थान थियो । गुरुको मर्यादा भूर्लोक तथा देवलोकमा पनि सम्मानित थियो । महाभारतको कथा प्रसङ्गमा भीष्म पितामहले भनेका थिए, ‘यदि बालापन फिर्ता आउने भए धनुर्विद्या मैले द्रोणाचार्यसँग नै सिक्ने थिएँ ।’ यस भनाइले यही पुष्टि गर्छ कि भीष्मले गुरु द्रोणाचार्यप्रति उच्च आदर तथा सम्मान प्रकट गरेका थिए । यसर्थ तत्कालीन युगमा शिक्षा र गुरुको महिमा अपरम्पार थियो । वैदिककाल र पौराणिककालको शिक्षाको मुख्य उद्देश्य आदर्श नागरिक र आदर्श समाजको स्थापना गर्नु थियो, जुन युग सापेक्ष थियो भन्ने कुरामा कुनै शंका भएन ।

ancient-gurukul-system-of-education

  • प्राचीन (ऐतिहासिककालीन) शिक्षा 

शिक्षाको महिमा युग युगान्तरसम्म कायम रहँदो रहेछ । युग फेरिन्छ, मानिसका सोचाइ, चिन्तन फेरिँदै जान्छन् तर उसले प्राप्त गर्ने शिक्षाको तिर्खा कहिल्यै मेटिँदो रहेनछ । वैदिककाल, पौराणिककाल हुँदै आएको शिक्षा ऐतिहासिक कालसम्म एउटै रफ्तारमा आएको पाइन्छ । 

प्राचीन ग्रिसको कुरा गर्ने हो भने शिक्षाको महिमा त्यहाँ प्रस्फुटन भएको थियो । महान् दार्शनिक सुकरात, प्लेटो र अरस्तुजस्ता व्यक्तिले ज्ञानको समाह खोलेका थिए । कोपर्निक्स, ग्यालिलियोजस्ता वैज्ञानिकले अन्धविश्वासको घोर अन्धकारमा डुबेका मानिसलाई यथार्थताको मझेरीमा विज्ञानको वास्तविकतालाई पस्केका थिए । यो युगको माग नै थियो । शिक्षालाई जनमानसमा लादेर उत्पादन आउन सक्दैन र यो प्रत्युत्पादक पनि हुन सक्दैन । प्राचीन रोममा नागरिक कानुन निर्माण भई लागु भइसकेको थियो । आफैँ नियम, मर्यादा र अनुशासनमा बस्नुपर्छ भन्ने सोचको विकास मानिसमा भइसकेको थियो भने पछिल्ला पिँढीहरूले यसमा इँटा थप्ने कार्य गरे । शिक्षा थप्दै जाने विषय हो, यसलाई कटाएर, घटाएर अन्य नौलो काल्पनिक ज्ञान दिन्छु भनेर कसैले प्रयास गर्दछ भने त्यो महान भुल हुन्छ ।

नीलघाँटीको सभ्यता, बेबिलोनको सभ्यतामा धेरै कुराको विकास भइसकेको थियो । भित्तेपात्रो, ज्योतिषशास्त्र, आयुर्वेद, हातेकलहरू, वास्तुकलाको ज्ञान व्यवहारमा आइसकेको थियो । ह्वाङ्गो सभ्यता विश्वप्रख्यात थियो । चिनियाँले ज्ञान तथा विज्ञानको क्षेत्रमा लामो फड्को हानिसकेका थिए । उनीहरूले त्यस समयमा बारुदको आविष्कार गरिसकेका थिए । यी उल्लिखित प्रसङ्गलाई मनन गर्ने हो भने तत्कालीन शिक्षा युगसापेक्ष थियो र यसले ज्ञानको दायरालाई सर्वत्र विस्तार गरिसकेको थियो । 

प्राचीनकालमा शिक्षाको वास्तविक उद्देश्य निर्धारण गरिएको हुन्थ्यो । त्यस समयमा शिक्षाको उद्देश्य शिक्षार्थीलाई शारीरिक, मानसिक र सामाजिक गुणको विकास गरी सुयोग्य नागरिक निर्माण गर्नु हुन्थ्यो ।

सिन्धुघाँटी सभ्यताको कुरा गरिएन भने ज्ञानको अध्ययन अपुरो र अधुरो हुन जान्छ । सिन्धुवासीहरू ज्ञान–विज्ञान र दर्शनका क्षेत्रमा अग्रणी थिए । कृषि र वास्तुकलामा उनीहरू कति अगाडि थिए भन्ने मोहनजोदारोको उत्खननले प्रस्ट पारिसकेको छ । 

यी माथि उल्लिखित कथनहरू कल्पना होइनन्, वास्तविकताको कसीमा घोटिएका यथार्थ हुन् । एउटा प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ, यी ज्ञान कसले कहाँ कसरी दियो होला ? पक्कै पनि यसको जवाफ सहज छ । ज्ञानगुरुले दिने हो र यो ज्ञान विद्वता र अनुभवले खारिएका महापुरुषले आश्रम र गुरुकुलमा दिने गर्दथे । त्यस समयमा शिक्षा राज्यको आवश्यकता र युगको माग सम्बोधन हुने गरी दिइएको हुन्थ्यो । त्यस समयमा जाति विशेषबाहेक अरुले रुचि र क्षमता अनुसार शिक्षा प्राप्त गर्ने परिपाटी रहेको पाइन्छ । 

  • प्राचीनकालीन शिक्षा

प्राचीनकालमा शिक्षाको वास्तविक उद्देश्य निर्धारण गरिएको हुन्थ्यो । त्यस समयमा शिक्षाको उद्देश्य शिक्षार्थीलाई शारीरिक, मानसिक र सामाजिक गुणको विकास गरी सुयोग्य नागरिक निर्माण गर्नु हुन्थ्यो । त्यतिबेला नेपाललगायत भारतमा शिक्षाको ठूलो विकास भएको थियो । भारतका प्रख्यात विश्वविद्यालयमा तक्षशिला, विक्रशील, नालन्द थिए । यी विश्वविद्यालयमा रुचि र आवश्यकता अनुसारको शिक्षा प्रदान गरिन्थ्यो । शिक्षामा राज्यको हस्तक्षेप हुँदैनथ्यो । गुरुहरू सम्पूर्णतः राज्यप्रति जिम्मेवार हुने हुनाले राजाहरू नै गुरुको परामर्श अनुसार शिक्षाको नीति र स्तर निर्धारण गर्दथे । तत्कालीन समयको शिक्षा युगसापेक्ष थियो, जसले राज्यको आवश्यकतालाई पूर्ति गर्दथ्यो । 

  • नेपालको प्राचीनकालीन शिक्षा

नेपालको सन्दर्भमा प्राचीनकालीन शिक्षाको प्रसङ्ग उठान गर्दा नेपालको जनकपुर (मिथिला)मा राजा जनकको प्रख्यातिले शिखर चुमेको थियो । राजा जनक नै राजर्षी थिए । ऐतिहासिक कालक्रमका दृष्टिले हेर्ने हो भने किरातकालमा मानव सभ्यताको विकास भइसकेको थियो । किरातहरू युद्धकला र धनुर्विद्यामा पारङ्गत थिए । विशेष गरी यो समाज कृषि र सिकारमा केन्द्रित थियो, तापनि विधि र कलाको प्रशिक्षण गुरुहरूबाटै गरिन्थ्यो । 

लिच्छविकाललाई ऐतिहासिक कालका दृष्टिले स्वर्णकाल मानिन्छ । लिच्छविहरू भरतको वैशालीबाट आएकाले उनीहरूले यहाँका परम्परागत कुरालाई यथावत राख्दै आफूहरूले ल्याएका नवीन अनुभवलाई व्यवहारनुकूल प्रयोगमा ल्याएका थिए । यस समयमा लिच्छविहरूले शिक्षालाई विशेष महत्त्व दिएर यसको विकासका लागि अग्रहार नामक एक अड्डा गठन गरेका थिए । राजा मानदेवले शिलालेख राख्ने पद्धतिको विकास गरे भने वास्तुकलाको विकासको क्षेत्रमा मानगृह नामक दरबार बनाएर नमुना पेस गरेका थिए । यो सबै शिक्षाको प्रतिफल थियो । 

नेपालको मध्यकालीन शिक्षा प्रणालीलाई हेर्ने हो भने शिक्षाका क्षेत्रमा विविधता पाइन्छ । त्यस समयमा काठमाडौँ उपत्यका शिक्षाको केन्द्रमा थियो । विशेषगरी यहाँ बौद्ध शिक्षाको प्रभाव ज्यादा रहेको थियो ।

यसैगरी राजा अंशुवर्माको समय पनि शिक्षाका लागि स्वर्णिम युग थियो । उनले शब्दविद्या नामक ग्रन्थ नै लेखेका थिए । वास्तुकलाको क्षेत्रमा नमुना प्रदर्शन गरेका थिए । कैलाशकुट भवन यस कालको नमुना नै मानिन्छ । यस कालमा संस्कृत भाषाको प्रयोग बढी हुन्थ्यो । राजा नरेन्द्रदेव कला पारखी थिए । यस समयमा शिक्षाका केन्द्रहरू राजकुल, गुरुकुल र विहार थिए । विहारहरूमा तन्त्रशास्त्र, मूर्तिकला, धातुकला, काष्ठकला, संगीत र पुस्तक लेखनसम्बन्धी ज्ञान दिइन्थ्यो । यसबाट के पुष्टि हुन्छ भने नेपालको प्राचीनकालीन शिक्षाको उद्देश्य अध्यात्मवादको विकास र व्यवहारमूलक शिक्षामा केन्द्रित थियो, त्यस युगले अपेच्छा गरेको शिक्षा नै यही थियो, जुन समय सापेक्ष थियो । 

  • नेपालको मध्यकालीन शिक्षा

नेपालको मध्यकालीन शिक्षा प्रणालीलाई हेर्ने हो भने शिक्षाका क्षेत्रमा विविधता पाइन्छ । त्यस समयमा काठमाडौँ उपत्यका शिक्षाको केन्द्रमा थियो । विशेषगरी यहाँ बौद्ध शिक्षाको प्रभाव ज्यादा रहेको थियो । काठमाडौँ तथा पाटनका विहारमा बौद्ध शिक्षाको आकर्षण बढी थियो । विहारमा ज्ञानकेन्द्रित शिक्षाका अतिरिक्त व्यावहारिक शिक्षाको ज्ञान प्रदान गरिन्थ्यो । यस कालमा बौद्ध शिक्षाको सैद्धान्तिक ज्ञानका अतिरिक्त तन्त्रशास्त्र, शिल्पशास्त्र, कर्मकाण्ड, मूर्तिकला, धातुकला, प्रस्तरकला, वास्तुशास्त्र, संगीतका साथै व्यावसायिक शिक्षाको ज्ञान दिइन्थ्यो । यसै ज्ञानको प्रभावले महान् कलाकार अरनिकोले आफ्नो प्रतिभा तिब्बत र चीनमा पैmलाउन पाए । यही शिल्प शिक्षाको ज्ञानले आज काठमाडौँ उपत्यकाले सभ्यता र संस्कतिको अनुपम नमुना पस्किरहेको छ । 

अर्कोतर्पm संस्कृत शिक्षाको माध्यमबाट गुरुकुल शिक्षा आश्रमहरूमा द्रूतगतिमा दौडिरहेको थियो । जात, वर्ग र पारिवारिक पेसावलम्बीहरूले युगानुकूल शिक्षा लिई व्यावहारिक भएका थिए । जयस्थिति मल्लले त शिक्षाको विकासका लागि शिक्षाकेन्द्रको हेरचाह गर्न गुठीको प्रबन्ध गरेका थिए । राजा प्रताप मल्ल आफैँमा राजा थिए । उनलाई १५ भाषाको ज्ञान थियो । उनले बौद्ध शिक्षा र वैदिक शिक्षालाई उच्च प्राथमिकता दिएका थिए ।

  • आधुनिक नेपाल र शिक्षा प्रणाली

१८२६ सालमा गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि पूर्णरूपमा विजय हासिल गरेपछि पनि परम्परागत शिक्षा प्रणालीमा कुनै परिवर्तन आएन । गोरखा राज्यले त्यस समयमा गोरखाका उत्तरी हिमाली भागमा बौद्ध शिक्षाको विकासका लागि गुम्बा स्थापना गरेका थिए । बिर्ता र गुठीको व्यवस्था समेत गरेर  बौद्ध शिक्षाको विकासमा जोड दिइएको थियो । गुरुकुल र ब्राह्मण कुलमा शिक्षा पुस्तान्तरण हुने क्रम जारी थियो । 

युद्धकालीन समयमा गोरखामा १२ वर्षदेखि ७० वर्ष उमेरकाले युद्धमा भाग लिनुपथ्र्यो । यस समयमा शस्त्रकला र युद्धकलाको शिक्षा दिइन्थ्यो ।

शिक्षा युगसापेक्ष हुनुपर्दछ भन्ने मान्यताले गोरखामा प्रश्रय पाएको देखिन्छ । गोरखा राज्य स्थापनाकालदेखि नै प्रायः युद्धमा भिजिरहेको हुनाले परम्परागत शिक्षाबाहेक नवीन प्रणालीको शिक्षाको विकास हुन पाएन । पृथ्वीनारायण शाहको एकीकरण अभियान सञ्चालन भएपछि गोर्खालीहरू युद्धमा केन्द्रित भएकाले कुनै शिक्षालय खोलेर शिक्षा दिनेजस्ता कार्य भएनन् तर गोरखामा सैनिक शिक्षा अनिवार्य गरिएको थियो । 

युद्धकालीन समयमा गोरखामा १२ वर्षदेखि ७० वर्ष उमेरकाले युद्धमा भाग लिनुपथ्र्यो । यस समयमा शस्त्रकला र युद्धकलाको शिक्षा दिइन्थ्यो । कुनै सैनिक योद्धाले वीरगति प्राप्त गरेमा उसका छोराहरू खुँडा, तरबार, खुकुरी चलाउन सक्ने नहुन्जेलसम्म गोरखा दरबारले मरवट दिएर भरणपोषण गरी सैनिक तालिम दिएर युद्धमा पठाउँथ्यो । यसबाट मूलभूत कुरा के प्रस्टिन आउँछ भने राज्य एकीकरणका लागि युद्धमा होमिएको हुनाले राज्यले यस प्रकारको शिक्षा प्रणाली अपनाउनु युगसापेक्ष मान्नुपर्छ । यो क्रम नेपाल–अंग्रेज युद्धसम्म कायमजस्तै थियो । यसका अतिरिक्त पृथ्वीनारायणले इच्छुकलाई संस्कृत र फारसी भाषामा शिक्षा लिन प्रेरित गरेको पाइन्छ । 

  • राणाकाल र आधुनिक शिक्षा 

राणाकालीन शासन व्यवस्था एक प्रकारको अर्धसैनिक व्यवस्थाजस्तो थियो । यस कालमा नागरिकले पढेर जान्ने–सुन्ने हुनु शासकका दृष्टिमा अपराध थियो । जंगबहादुरले बेलायत यात्रा गरेपछि दरबार हाई स्कुलको स्थापना गर्नु कोसेढुङ्गा साबित भयो । यहीँबाट आधुनिक शिक्षाको सुरुवात भएको थियो । जंगबहादुरले बदलिँदो युगलाई मध्यनजर राखेर आधुनिक शिक्षा प्रणाली सुरुवात गरेको आभास पाइन्छ । चन्द्रशमशेरले प्रशासनको साधारण कार्य गराउनका लागि श्रेस्ता पाठशालाको स्थापना गरेका थिए । त्रि–चन्द्र कलेजको स्थापना चन्द्रशमशेरका लागि बाध्यता थियो । 

२००७ सालको क्रान्ति पनि शिक्षाकै देन थियो । राणाशासनको समाप्तिपछि तत्कालीन सरकारहरूले शिक्षामा जोड त दिए तर त्यो व्यवस्थित थिएन । शिक्षालाई व्यवस्थित गर्ने काम राष्ट्रिय शिक्षा पद्धति ऐन, २०२८ ले नै गर्‍यो । राजा वीरेन्द्रले २०३१ मा प्राथमिक शिक्षालाई अनिवार्य गरेपछि गाउँ–गाउँमा शिक्षाको ज्वारभाटा चलेको हो । 

यहाँ एउटा सवाल उठ्ने गरेको छ, नयाँ शिक्षा प्रणाली र पुरानो शिक्षा प्रणालीका अन्तरका सम्बन्धमा । पुरानो शिक्षा प्रणालीले शिक्षार्थीलाई युगसापेक्ष शिक्षा दिएर व्यावसायिक बनाएर राज्यको आवश्यकतालाई पूर्ति गरेको पाइन्छ । नयाँ शिक्षा प्रणालीले युगलाई नेतृत्व त गर्‍यो तर शिक्षाको गतिसँगै औद्योगिक, व्यापारिक, कृषिको आधुनिकीकरण हुन नसक्नाले शैक्षिक बेरोजगारको संख्या वृद्धि गरायो । शिक्षाले युगसापेक्ष फड्को त मार्दै आयो तर मुलुकमा पूर्वाधार विकास र समयसापेक्ष आधुनिकीकरण हुन नसक्नाले अहिले शैक्षिक बेरोजगारको भार थेग्न नसक्ने अवस्था छ । 

मानिस पाषण युग हुँदै आजको उपग्रहीय युगसम्म आउनुमा शिक्षाको गहन भूमिका छ, तर नेपालको सन्दर्भमा हामी कहाँ छौँ त ?

२०४६ सालको परिवर्तनपछि नेपालमा नवउदारवादी धारणा प्रबल भएर आयो । यस धारणाको प्रभाव अर्थतन्त्रका यावत क्षेत्रमा पर्न गए । शिक्षामा निजी क्षेत्रको लगानीले व्यापकता पाउँदै गयो । यसको परिणामले सामुदायिक विद्यालय र सामुदायिक क्याम्पस थिलथिलो हुन पुगे । राज्यको दायित्वभित्र पर्ने क्षेत्रहरू नाफामुखीहरूको हातमा गयो र सर्वसाधारणहरू यसको पहँुचबाट धेरै टाढा पुगे । संविधानले राज्यलाई समाजवाद उन्मुख भने तापनि व्यवहारमा कतिको लागु भएको छ त ? माध्यमिक शिक्षा अनिवार्य भनिए पनि सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा शुल्क तिरेर पढ्नुपर्ने अवस्था छ । विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु भएपछि उच्च शिक्षाको आकांक्षा भएका निम्न वर्गका कामकाजी विद्यार्थी अध्ययनको अवसरबाट वञ्चित भएका छन् । 

विश्व अहिले एउटै आँगन भएको छ । यसको अर्थ संसार भूमण्डलीकरणको चपेटामा चेपिएको छ । यसको असर निर्धन, स्रोत–साधनको पहँुच नभएका मुलुकले भोग्नुपरेको छ । शिक्षामा अर्थशास्त्रीय प्रभावले जरा गाडेपछि व्यापार, ब्याज, लगानी र नाफाको सिद्धान्तलाई आर्थिक विकासको अस्त्र मानियो । उदारवादी युगको सूत्रपातपछि व्यक्तिको आय–आर्जनको माध्यम खुकुलो बनाइयो । 

‘शिक्षामा व्यापार गर्न पाउनुपर्छ र यसलाई राज्यको हातबाट टाढा राख्नुपर्छ’ भन्ने एडम स्मिथ, थोमस रोबर्ट माल्थस, डेभिड रिकार्डोे, जोन स्टुर्अट मिल र जेरेमी बेन्थमजस्ता अर्थशास्त्रीका भनाइले मान्यता पायो, जसले गर्दा पश्चिमा देशका लाखौँ विद्यार्थी शिक्षा आर्जनबाट वञ्चित भए । सेवाका अतिरिक्त बौद्धिक क्षमताको विकास गराउनुको सट्टा राज्यले शिक्षालाई नाफा कमाउने औजारको रूपमा लिन थाल्यो । यही मान्यता मौलाएर आज शिक्षालाई व्यापारको क्षेत्र मानिएको छ । यसमा विदेशी लगानी लगाउनुपर्छ भन्ने अवधारणा तेर्साइएको छ । विदेशी अनुदानले शिक्षालाई मौलिकपनबाट परनिर्भर र परावलम्बी बनाएको छ । दाताले चाहेको जस्तो अन्तर्राष्ट्रिय कामदार र सस्ता मजदुर उत्पादन भएका छन् । मौलिकतामा आधारित शिक्षाको अवसान गराई परावलम्बी शिक्षाले दिने गन्तव्य भनेको प्रतिभा पलायन हो भन्ने कुरा प्रस्ट देखिएको छ । 

मानिस पाषण युग हुँदै आजको उपग्रहीय युगसम्म आउनुमा शिक्षाको गहन भूमिका छ, तर नेपालको सन्दर्भमा हामी कहाँ छौँ त ? विश्व परिवेशको सकारात्मक पक्षलाई आत्मसात गर्दै मौलिक पक्षलाई जोगाएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आजको आवश्यकता हो । विदेशी कामदार र सस्ता मजदुरहरू उत्पादन गर्ने कारखानाहरू हाम्रा विद्यालय र विश्वविद्यालय बन्नु हुँदैन । सरोकारवाला पक्षले यसमा ध्यान केन्द्रित गर्नु आजको टड्कारो आवश्यकता हो । 

(लेखक काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको श्री चाँपाबोट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजनाथ दंगाल
तेजनाथ दंगाल

author

लेखकबाट थप