आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर, हरेक दिन ४ जनाको मृत्यु

बिहीबार, २४ फागुन २०८०, २० : ०२
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेपालमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ । सो क्यान्सरबाट हरेक दिन ४ जनाको मृत्यु हुने सरकारी तथ्याङ्क छ । 

परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाकी शर्मिला दाहालका अनुसार सन् २०२२ मा २ हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको थियो । सोमध्ये १ हजार ३१३ जनाको मृत्यु भएको थियो । 

हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर पुष्टि हुने गरेको पाइएको उनको भनाई छ । ‘नेपालमा सन् २०२२ अघि स्तन क्यान्सर पहिलो नम्बरमा थियो,’ उनले भनिन्, ‘२०२२ मा परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा देखिएको छ ।’

पाठेघरको मुखको क्यान्सर जाँच गराएकामध्ये अधिकांशमा सो रोग पुष्टि भएको पाइएको छ । दाहालले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका ११ प्रतिशत महिलामध्ये ७ प्रतिशतमा सम्भावित क्यान्सर पोजेटिभ देखिएको उल्लेख गरिन् । यसो हुनुमा चेतनाको अभाव भएको उनले सुनाइन् । 

‘पाठेघरको मुखको क्यान्सरको जाँच एकदमै कम मात्रले परीक्षण गराउने गरेका छन्,’ उनले भनिन्, ‘जनचेतनाका कमीका कारणले जाँच गराउनेको सङ्ख्या न्यून छ । ’

३० देखि ४९ वर्षका महिलालाई प्राथमिकताका साथ स्क्रिनिङ गर्नुपर्नेमा नेपालमा १० मध्ये १ जनाको मात्रै स्क्रिनिङ हुने उनले उल्लेख गरिन् । 

२०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारणको लक्ष्य 

सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य छ । सो लक्ष्य प्राप्त गर्न सरकारले आगामी ६ वर्षमा ९ देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको पूर्ण मात्रा लगाउनुपर्नेछ । यस्तै, ३० देखि ४९ वर्षका ७० प्रतिशत महिलालाई कम्तीमा २ पटक पाठेघरको मुखको परीक्षण गरिएको हुनुपर्नेछ । यस्तै, सो लक्ष्य प्राप्तिका लागि पाठेघर मुखको क्यान्सर पत्ता लागेकामध्येको ९० प्रतिशत महिलाको उपचार भएको हुनुपर्नेछ ।

पाठेघर मुखको क्यान्सरका लागि सरकारी पहल 

पाठेघर मुखको क्यान्सरको पहिचान, उपचारका लागि विभिन्न पहल भएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । पाठेघरको मुखको क्यान्सरको विषय सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ तथा नियमावली २०७७ मा समावेश गरिएको दाहालले उल्लेख गरिन् । यस्तै, स्क्रिनिङ तथा रोकमथाम कार्य व्यवस्थित गर्नका लागि पाठेघरको  मुखको क्यान्सर रोकथाम सम्बन्धी निर्देशिका २०८० नै जारी गरिएको सुनाइन् । 

यस्तै, चालु आर्थिक वर्षको २०८०/८१ मा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशः देशभर विस्तार गरिने दाहालले उल्लेख गरिन् । पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने भनेर उल्लेख भए अनुसार कार्यक्रम भइरहेको दाहालले बताइन् । 

दाहालले पाठेघरको मुखको क्यान्सर रोकथामसम्बन्धी निर्देशिका अनुसार पहिलो चरणमा खोप सेवा सञ्चालन गरिएको छ । दोस्रो चरणमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा क्यान्सर गराउन सक्ने पूर्वावस्थाको उपचार गरिने योजना रहेको बताइन् । यस्तै, तेस्रो चरणमा क्यान्सरको पहिचान भएकाहरूको शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी र प्रशामक सेवाको कार्य हुने योजना सुनाइन् । 

पाठेघर मुखको क्यान्सर रोकथाममा चुनौती 

पाठेघर मुखको क्यान्सर रोकथामका लागि सरकारले नीतिगत रूपमै योजना तयार गरी कार्य गरे पनि विभिन्न चुनौतीहरू देखापरेका छन् । क्यान्सरको स्क्रिनिङ सेवा आधारभूत स्वास्थ्य सेवामा समावेश भए पनि स्थानीय तहबाट कार्यान्वयनमा चुनौती देखिएको दाहालले सुनाइन् । यस्तै, बजेट विनियोजन, जनशक्ति व्यवस्थापन, गुणस्तरीय सेवा, प्रेषण प्रणालीमा समस्या भएको छ । 

सरकारी, गैरसरकारी र निजी स्वास्थ्य संस्थाबाट प्रदान भएको सेवाको अभिलेखीकरण र प्रतिवेदन नहुनु पनि पाठेघर मुखको क्यान्सर रोकथामको चुनौती भएको उनले जिकिर गरिन् ।

स्थानीय तहमा योजनाबद्ध रूपमा स्क्रिनिङ हुन नसक्नु, एचपीभी खोप लक्षित वर्गसम्म पुग्नमा ढिलाइ, नीति तथा कार्यक्रममा क्यानसर स्क्रिनिङ सेवाको व्यवस्था भएता पनि सेवाको विस्तारका लागी प्रयाप्त बजेट सुनिश्चिता नभएको दाहालले उल्लेख गरिन् ।

पाठेघरको मुखको क्यान्सर लक्षण र उपचार 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार धेरै जनासँग असुरक्षित यौन सम्पर्क गर्नु, कम उमेरमा बिहे वा सानैदेखि यौन सम्पर्क हुनु, कम उमेरमा बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, पटकपटक गर्भपतन गराउनु, धूम्रपान गर्नु, लगायत कारणले यो समस्या हुने गर्दछ । 

यौन सम्पर्क गर्दा रगत देखिनु, योनीबाट अनियमित रगत बग्नु, सेतो गन्हाउने पानी आउनु, तल्लो पेट दुखिरहनु पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरू रहेको डा. शाहीको भनाई छ । यस्तै, दिसापिसाब गर्दा अप्ठ्यारो हुनु, ढाड दुख्नु, बढी थकाइ लाग्नु, तौल घट्दै जानु लगायत लक्षण पनि देखिने उनले उल्लेख गरे । 

३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनुपर्दछ । सरकारी स्वास्थ्य संस्थामा भीआईए विधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क रहेको सरकारी निकायले जनाएको छ । शारीरिक सम्बन्धमा संलग्न हुनु अगावै पाठेघरको मुखको क्यान्सरको हुनुबाट जोगिन सकिने चिकित्सकले बताएका छन् । प्रारम्भिक चरणमै रोग पहिचान भएमा उपचार सहज हुने उनीहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप