आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘द सेकेन्ड सेक्स’ : नारीवादी आन्दोलनका लागि एक सूत्र

शुक्रबार, २५ फागुन २०८०, १८ : ५२
शुक्रबार, २५ फागुन २०८०

सिमोन डे बेउभोइरको जन्म पेरिसको एक मध्यम–वर्गीय क्याथोलिक परिवारमा सन् १९०८ मा भएको थियो । सिमोन आफ्नो पुस्तक ‘द सेकेन्ड सेक्स’मा नारीका विभिन्न विशेषताहरू प्रस्तुत गरेकी छिन् । त्यसैले उनको लेखनबारे तटस्थ धारणा राख्नु र नराख्नु उनका पाठकसँग सम्बन्धित छ, तर सत्य हो कि लेखक र पाठकका बिचमा घनिष्ठ सम्बन्ध हुन्छ । पाठकले आफ्नो जीवन वा समाजमा जे पाउँछ, त्यो उसका लागि आफ्नो हुन्छ । 

सिमोन एक दार्शनिक पनि थिइन् । उनको विश्वास थियो कि महिलाहरूले आफ्नो लागि ‘छनोट गर्ने स्वतन्त्रता’ पाउनुपर्छ । ‘द सेकेन्ड सेक्स’मार्फत उनले महिलामा आत्मविश्वास जगाउन र उनीहरूलाई आफ्नो स्वतन्त्रताको मूल्य बुझाउन चाहेकी थिइन् ।

मानव मनोविज्ञानसँग सम्बन्धित भएर र सामाजिक अवस्थालाई विश्लेषण गरेर लेखिएको पुस्तकप्रति खास वर्ग बढी नजिक हुन्छ, किनभने उसलाई आफ्नो समाजको वातावरणले प्रभाव पारेको हुन्छ । सिमोनको यो पुस्तकको सार पनि त्यस्तै छ । उनको पुस्तक ‘द सेकेन्ड सेक्स’ अर्थात् ‘महिला उपेक्षा’ त्यसको उत्कृष्ट उदाहरण हो । ‘महिलाको उपेक्षा’को सार समग्र समाजलाई अस्वीकार गर्नु वा पुरुष वर्गका विरुद्धमा गुनासो राख्नु पक्कै छैन, तर यो पुस्तकले अधिकांश महिलाले भोग्नुपरेका धेरै सत्य बताउँछ, यो विश्वदृष्टि हो । यो कुनै एक युग, एउटा परिवेश वा क्षण वा कुनै एक भूगोलको मात्र सत्य होइन, यो संसारको सत्य हो । सिद्धान्त र तथ्यहरूबाहेक यस पुस्तकमा धेरै कुरा छन्, जसले पाठकलाई भावनात्मक रूपमा स्तब्ध बनाउँछन् र त्यसैले सिमोनसँग पाठकको घनिष्ठता बढ्छ । यहाँ धेरै महिलाहरू छन्, जसले यो पुस्तक पढेपछि सिमोन आफ्नै आमा, हजुरआमा वा बहिनी हुन् जस्तो महसुस गर्छन् । यो सत्य हो कि पुस्तक पढ्दा कैयौँपटक लेखकले महिलाको पीडा र त्रासदीलाई बुझेको महसुस गराउनेछ । जुन दिन यो पुस्तक लेखिएको थियो, त्यसबेला यसले ठूलो जनसङ्ख्यालाई प्रभाव पारेको थियो । अहिले महिलाका बारेमा धेरै कुरा लेखिएको र पढिएको छ तर सिमोनको विचार अझै पनि समय सापेक्ष छ र बहसको विषय बनेको छ, बन्नु पनि पर्छ । 

यो पुस्तक पढ्दा नारी र पहिलेदेखि अहिलेसम्मको परिवेश थाहा हुन्छ । आज पनि धेरै ठाउँहरूमा, धेरै परिवारहरूमा, महिलाहरूको स्थिति एक अधीनस्थता हो, यो सत्य पनि हो, यो कुरा सिमोनको धेरै वर्षपहिले प्रकाशित पुस्तकमा उल्लेख छ । पहिलेभन्दा धेरै परिवर्तन भयो, यो कुरा यथार्थ हो । तर के सबै महिलामा भयो त ? यो गहन प्रश्नको उत्तर खोज्न सिमोनको पुस्तक हेरे पुग्छ । पुस्तकले नारित्वको मिथकमा गहिरो खोजी गरेको पाइन्छ । महिला अधिकारको कुरा आवेश र आक्रोशमा होइन, त्योबिना पनि गर्न सकिन्छ । तर पुस्तकले धेरै ठाउँमा आक्रोश पैदा गर्छ । किनभने नारीवाद पनि एउटा अधिकार हो, जसले समानताको कुरा गर्छ, न कि महिलालाई अधीनस्थ बनाउन चाहन्छ । 

अवश्य, हामी लैङ्गिक भेदभावबाट धेरै माथि उठेका छौँ तर अझै पनि विश्व समुदायका धेरै महिला छन्, जसले सिमोनको विचारमा आफ्नो अनुहार देख्छन्, पुस्तकमा उल्लेख छ— महिला र पुरुषबिचको जैविक भिन्नताका आधारमा महिलालाई दमन गर्नु एकदमै अन्यायपूर्ण छ र त्यो अनैतिक पनि छ । तर, के विश्वका सबै महिलाहरू त्यो दमन र अन्यायभन्दा माथि उठ्न सकेका छन् कि छैनन् ? यो मूल प्रश्न हो । त्यसैले द सेकेन्ड सेक्स नारीवादी आन्दोलनको पथप्रदर्शक हो । 

सिमोन एक दार्शनिक पनि थिइन् । उनको विश्वास थियो कि महिलाहरूले आफ्नो लागि ‘छनोट गर्ने स्वतन्त्रता’ पाउनुपर्छ । ‘द सेकेन्ड सेक्स’मार्फत उनले महिलामा आत्मविश्वास जगाउन र उनीहरूलाई आफ्नो स्वतन्त्रताको मूल्य बुझाउन चाहेकी थिइन् । जब उनको यो कृति प्रकाशन भयो, त्यसपछि नारीवादी आन्दोलनले नयाँ बाटो समायो र यो अझै व्यापक हुँदै छ । उनले नारीवादी आन्दोलनलाई अगाडि बढाउने जुन अग्रसरता देखाइन, त्यो अग्रसरता नारीवादी आन्दोलनमा एउटा मूल प्रस्थान बिन्दु थियो । उनको मृत्यु १४ अप्रिल १९८६ मा भयो । अहिले विश्वले उनलाई महिला अधिकारका लागि लडाकु, फ्रान्सेली लेखक, अस्तित्ववादी दार्शनिक, बौद्धिक र राजनीतिक कार्यकर्ताका रूपमा सम्झन्छ । विशेष गरी नारीवादी अस्तित्ववाद र नारीवादी सिद्धान्तहरूका बारेमा उनको विचारहरूको सधैँ एक विशेष स्थान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदय पोखरेल
उदय पोखरेल
लेखकबाट थप