सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फिल्मी कुरा

‘महाजात्रा’ले नेपाली राजनीतिलाई झ्याली पिट्छ : हरिवंश आचार्य

‘मेरो कारणले फिल्म बिग्रिएको छ कि भन्ने कुराले राति निन्द्रा नै लाग्दैन’
मङ्गलबार, २९ फागुन २०८०, ०९ : ३०
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । ‘भर्सटाइल’ अभिनेता हरिवंश आचार्य सानो पर्दादेखि ठुलो पर्दासम्म राज गर्न सफल छन् । उनी हरेक चरित्र निर्वाह गर्न माहिर छन् । हरेक नयाँ काममा उनको चरित्र फरक हुने गर्छ । त्यसैले पनि उनको अभिनयलाई दर्शकले निकै रुचाउने गर्दछन् ।

केही अगाडि सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा उनी एकल पुरुषको भूमिकामा देखिएका थिए । समाजमा खुसी हुन संघर्ष गरिरहेका एकल पुरुषको मर्मस्पर्शी भूमिका मार्फत उनले राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत सर्वश्रेष्ठ अभिनेताको पुरस्कार हात पारेका थिए । अहिले उनी फिल्म ‘महाजात्रा’मा नेगेटिभ भूमिकाको कारण चर्चामा छन् ।

‘महाजात्रा’मा आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नेगेटिभ भूमिका भए पनि पोजेटिभ सन्देश दिने भएकाले आफूले अभिनय गरेको उनी बताउँछन् । फिल्म ‘महाजात्रा’ र अभिनयको विषयमा केन्द्रित रहेर अभिनेता आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

  • तपाईंको फिल्म ‘महाजात्रा’ रिलिज हुने तयारीमा छ, यो कस्तो फिल्म हो ?

– ‘जात्रा’ भनेको झ्याली पिट्नु हो । हामीमा पहिलेदेखि नै भोटो देखाउने, इन्द्र जात्रा लगायत विभिन्न जात्रा छन् । जात्राले एउटा चार्डपर्व समेत बुझाउँछ । चाडपर्वमा ठुलो हल्लाखल्ला हुन्छ । मानिसले ठाउँठाउँबाट अवलोकन गर्छन् । जात्रा भनेको भिडलाई केही कुरो देखाएर मनोरञ्जन दिनु पनि हो । ‘महाजात्रा’ले पनि नेपाली राजनीतिलाई झ्याली पिटेको हो । राजनीतिलाई झ्याली पिट्दै दर्शकलाई मनोरञ्जन दिन्छ ।

  • ‘जात्रा’ फिल्मको तेस्रो सिक्वेल हो ‘महाजात्रा’, दुई सिक्वेलमा नअटाएको तपाईं तेस्रो सिक्वेलमा कसरी जोडिनुभयो ?

– ‘जात्रा’ सिक्वेलमा काम नगरे पनि यो टिमले बनाएको फिल्म ‘महापुरुष’ काम गरेको थिएँ । त्यसमा राम्रो चर्चा पनि मिल्यो । ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘महापुरुष’ जस्तो फिल्म निर्देशन गरेका प्रदीप भट्टराईसँग मेरो २०औँ वर्ष अगाडिदेखि संगत थियो । फिल्म निर्माण संस्था षट्कोण आर्ट्सले पनि निर्माणमा राम्रो छवि बनाएको छ । फिल्ममा मेरो रोल पनि निस्किएछ । मलाई स्क्रिप्ट दिनुभयो । त्यो हेर्दा राम्रो लाग्यो, जोडिएँ । मेरो काम नै अभिनय हो ।

WhatsApp Image 2024-03-08 at 10.09.06 AMफिल्ममा जोडिँदै गर्दा विशेषतः के कुरोमा ध्यान दिनुहुन्छ ?

– पहिलो कुरो कथा नै । त्यसपछि स्क्रिप्ट हेर्छु । स्क्रिप्ट चित्तबुझ्दो भएपछि टिम र निर्देशक हेर्छु । यो निर्देशकले कत्तिको राम्रो फिल्म बनाएको छ । नयाँ निर्देशक भए पृष्ठभूमि के हो, सोच के छ जस्ता सबै कुरा विचार गरेर जोडिन्छु ।

  • ‘महाजात्रामा’ तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

– फिल्ममा मेरो भूमिका भ्रष्ट राजनीतिक नेताको छ । जसको छवि अहिलेका जुनै नेतासँग तुलना गर्दा पनि फरक पर्दैन । ‘महाजात्रा’ भित्र सबै पात्रलाई ‘महाजात्रा’ गराउने खेल मेरो भूमिकामा छ ।

  • फिल्ममा किन राजनीतिक विषय आउनुपर्छ भन्ने लाग्छ ?

– राजनीति हरेक कुरोमा गएर ठोक्किने विषय हो । यो नसुध्रिएसम्म व्यक्ति, घर, समाज र देश सुध्रिँदैन । सबै चिजलाई राम्रो ट्रयाकमा ल्याउने भनेकै राजनीतिले हो । त्यसैले राजनीतिका विषय फिल्ममा आउन जरुरी देख्छु । फिल्म समाजको ऐना पनि हो । यसले दिमागमा सुक्ष्म तवरबाट चेतना भरिदिने काम गर्छ ।

पहिले पहिले कम्युनिस्ट पार्टीहरूले राजनीतिक परिवर्तनका लागि कलाकार गाउँगाउँ पठाउँथे । रामेश, रायन दाइहरूका गीतले नै क्रान्ति छेड्थ्यो ।

  • फिल्ममा तपाईंले किन नेगेटिभ भूमिका रोज्नुभयो ?

– कलाकार भएपछि नेगेटिभ, पोजेटिभ दुवै भूमिका निर्वाह गर्नुपर्छ । नेगेटिभ र पोजेटिभ दुवै भयो भनेमात्र बत्ती बल्ने हो । नेगेटिभले बिगार्न खोज्ने र पोजेटिभले सपार्न खोज्ने गर्दा कथा राम्रो बन्छ । फिल्ममा सकारात्मक सन्देश दिने खालको नेगेटिभ भूमिका मेरो छ ।  

  • कस्तो प्रतिक्रियाको अपेक्षा गर्नु भएको छ ?

– मुख्य कुरो फिल्मलाई लिएर निर्देशक प्रदीप भट्टराई दङ्ग छन् । फिल्ममा मेरो तर्फबाट केही कमजोरी भएको भए मेरो अनुहार हेर्दा निर्देशक अलिकति खिस्स हुन्थे होला । मेरो प्रोजेक्टमा यो मानिसले राम्रो गरेन, फिल्म के हुने हो भन्ने उसमा चिन्ता देखिन्थ्यो होला । निर्देशक मात्र होइन, निर्माता पनि खुसी देखिएका छन् । सबैको खुसीले फिल्म राम्रो भएको जनाउँछ । रिजल्ट पनि राम्रो आउँछ भन्ने अपेक्षा छ ।

  • दिग्गज कलाकार नयाँ फिल्ममा देखिँदै गर्दा सफलता र असफलताको प्रेसर कति हुन्छ ?

– एकदमै प्रेसर हुन्छ । फिल्मको व्यवसाय कस्तो होला, फिल्म चल्छ कि चल्दैन होला । कतै मेरो कारणले फिल्म बिग्रिएको छ कि भन्ने कुराले राति निन्द्रा नै लाग्दैन । फिल्म प्रदर्शनमा आएपछि राम्रो भयो भनेर सुन्न पाएमात्र आनन्दको निन्द्रा लाग्छ होला । यो ‘माहाजात्रा’ चैत ९ गते रिलिज हँुदैछ । रिलिज नभएसम्म सुत्नेबेला अनेक तर्कना आइरहने गर्छ ।

  • अहिले पनि तपाईंको सक्रियता लोभलाग्दो छ, त्यसको रहस्य के हो ?

– हाम्रो कलाकारिता रिटायर हुने पेसा होइन । जागिर खाएको भए यति उमेरपछि गर्न पाइँदैन भन्ने हुन्थ्यो । कलाकारले शरीर र दिमागले दिएसम्म अभिनय गर्न मिल्छ । मेरो हकमा पहिले युवा भएर खेल्थेँ, त्यसपछि अधबैँसे भएर खेलेँ । अहिले वृद्धको भूमिकामा अभिनय गरिरहेको छु । अझै केही समय गर्छु होला । पुग्यो, अब अभिनय नगरौँ भन्ने मेरो मनस्थिति छैन ।

काम नगरेर दिनभर घरमा बसेर के गर्ने ? कामले फिजिकली, मेन्टल्ली सक्रिय राखेको छ । मेरो विचारमा काम भनेको ओखती हो । बेरोजगार भनेको रोग हो ।

  • कलाकारिताको यो यात्रामा तपाईंलाई अभिनय गर्न अझै मन लागेको कुनै भूमिका पनि छ ?

– त्यस्तो केही छैन । अहिले आफ्नो लागि जस्तो भूमिका आउँछ, त्यो अभिनय गर्दै अगाडि बढिरहेको छु । ह्युमर हुने काम धेरै गरियो । सिरियस अभिनय पनि गरेकै हो । नेगेटिभ भूमिका पनि गरिरहेको छु । अहिले प्रत्येक नयाँ फिल्ममा नयाँ भूमिका गर्न पाए हुन्थ्यो भन्ने छ । 

  • एक कार्यक्रममा हिटलर बन्न मन छ भन्नुभएको थियो नि, किन ?

– ‘महाजात्रा’ अभिनयलाई धेरैले नेगेटिभ भूमिका भनेर प्रश्न उठाए । यसको जवाफमा मैले कसैले विश्वयुद्धको विषयमा फिल्म बनाउँछ भने हिटलरको भूमिका गर्छु भनेको हो । हिटलर नहुने हो भने विश्वयुद्ध नहुन पनि सक्थ्यो । मैले नेगेटिभ भूमिका पनि महत्त्वपूर्ण छ भनेर बुझाउन त्यसो भनेको हो । कलाकार हो, जुन भूमिकामा पनि अभिनय गर्नुपर्छ ।

  • फिल्म निर्माणमा निष्क्रिय हुनुभयो, के अब नबनाउने ?

– अहिले तत्कालै निर्माणको सोच छैन । किनभने फिल्म निर्माणमा प्रेरित गर्ने खालको कथा पाएको छैन । अर्को कुरा, बाहिरको फिल्म अभिनयले फुर्सद पनि छैन । फिल्म बनाउनु भनेको धेरै ठुलो भारी बोक्ने काम हो । त्यो भारी मेरो उमेरले बोक्न सक्दैन कि ! अहिले बाहिरको फिल्म गरिरहेको छु, ठिक छ । राम्रो विषय भयो भने मह सञ्चारबाट फेरि फिल्म बन्ला ।

  • फिल्मले व्यवसाय गरिरहेको छैन, के कारण हुनसक्छ ?

– सङ्ख्यात्मक हिसाबले फिल्म धेरै भयो । त्यसले पनि नचलेको हो । एउटा फिल्म हेर्दा एक मानिसको कम्तीमा पनि एक हजार रुपैयाँ खर्च हुन्छ । अहिले आर्थिक क्राइसिस छ । फिल्म एक्लैभन्दा पनि २ जना गएर हेर्ने चिज हो । सातामा ३ फिल्म लाग्छ । त्यसैले कसरी चल्छ फिल्म ?

हामी मात्र फिल्म बनाउँछौँ, तिमीहरू नबनाओ भन्न कसैले कसैलाई मिलेन । व्यवसाय नभए पनि धेरै फिल्म बन्नु भनेको धेरैले रोजगारी पाउनु हो । त्यो सकारात्मक पाटो हो । विश्वमै बनेको फिल्मको ५ प्रतिशतले मात्र व्यवसाय गर्छ ।

  • अहिले सानो पर्दामा मिस गरिरहनु भएको होला ?

– टेलिभिजनमा मात्र नआएको हो । हाम्रो मह सञ्चार भन्ने युट्युब च्यानल छ । त्यसमा हाम्रो पहिलेदेखि अहिलेसम्मका सबै कन्टेन्ट छ । हप्तैपिच्छे छाउनु भनेको ओभर एक्सपोज हो । त्यो अहिले मन लाग्दैन । पहिलेको जस्तो काम गर्न पनि सकिन्न । २÷३ महिनामा एउटा नयाँ कन्टेन्ट युट्युबमा दिएका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप