सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

चुलिँदै अर्जेन्टिनी फूटबल गुरुहरूको गरिमा

आइतबार, २१ असार २०८३, ०७ : २९
आइतबार, २१ असार २०८३

सारांश

  • २०२६ फिफा विश्वकपमा अर्जेन्टिनी प्रशिक्षकहरूको वर्चश्व देखिएको छ, जहाँ ६ जना मुख्य प्रशिक्षकले नयाँ कीर्तिमान बनाएका छन् ।
  • यी ६ मध्ये ५ प्रशिक्षकले आफ्ना टोलीलाई नकआउट चरणमा पुर्‍याए भने ४ जनाले क्वाटरफाइनलसम्मको यात्रा तय गरेका छन् ।
  • अर्जेन्टिनी प्रशिक्षण परम्पराको गहिरो जग र मार्सेलो बिएल्साले विकास गरेको रणनीतिको प्रभावले विश्व फुटबलमा प्रशिक्षक निर्यात गर्ने परम्परा निर्माण भएको छ ।

खेलाडीका रूपमा अर्जेन्टिनी लियोनल मेसीले मात्र होइन, एटलान्टिक महासागर पारी आयोजित फिफा विश्वकप २०२६ मा अर्जेन्टिनी प्रशिक्षकले समेत उल्लेख्य वर्चश्व कायम गरेका छन् ।

प्रतियोगितामा एकै राष्ट्रबाट सर्वाधिक ६ जना मुख्य प्रशिक्षक उपलब्ध गराउँदै अर्जेन्टिनाले विश्वकप इतिहासमै नयाँ कीर्तिमान बनाएको छ । अझ उल्लेखनीय कुरा के छ भने यी ६ प्रशिक्षकमध्ये ५ जनाले आफ्ना टोलीलाई सफलतापूर्वक समूह चरण पार गराएर नकआउट चरणमा पुर्‍याए l यी ५ प्रशिक्षकमध्ये ४ जनाले आफ्नो टिमलाई क्वाटरफाइनलसम्म नै डोहोर्‍याइसकेका छन् ।

यसले अर्जेन्टिनी फुटबल रणनीति र प्रशिक्षण प्रणालीको विश्वव्यापी प्रभावलाई पनि पुष्टि गरेको छ ।

विश्वकपमा २०२६ मा अर्जेन्टिनी प्रशिक्षकहरू :

१. लियोनेल स्कालोनी (अर्जेन्टिना)

C Arjentina Scolaniरणनीतिक शैलीः स्कालोनीको फुटबल दर्शन अत्यन्त लचिलो, सन्तुलित र व्यवहारिक (प्राग्म्याटिक) पनि छ । उनी परिस्थितिअनुसार ४–३–३ वा ४–४–२ प्रणाली अपनाउँछन् ।

उनको मुख्य उद्देश्य बलियो रक्षात्मक संरचना कायम राख्दै लियोनेल मेस्सी तथा युवा विङ्गरहरूलाई आक्रमणमा पूर्ण सिर्जनात्मक स्वतन्त्रता दिनु नै हो ।

प्रतियोगिताको अवस्थाः उपाधि रक्षक अर्जेन्टिनाले समूह जेमा लगातार तीनै खेल जित्दै पूर्ण ९ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो । टोलीले समूह चरणभर केवल एक गोल मात्र बेहोरेको थियो ।

त्यसो त स्कालोनीको अन्तर्राष्ट्रिय प्रशिक्षण करिअर पनि अत्यन्त प्रभावशाली छ । उनले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीका लागि केप भर्डेविरुद्धको खेल १००औं थियो भने यसबिच उनले ७३ खेलमा जित निकालेका छन् l उनले केवल ९ खेलमा हार बेहोरेका छन् । ५२ गोल खाँदा २०९ गोल गरेका छन् । विश्वकपको प्रि–क्वाटरफाइनलमा उनको ‘अल्बिसेलेटे’ले इजिप्टको सामना गर्दै छ ।

२. माउरिसियो पोचेटिनो (संयुक्त राज्य अमेरिका)

C Pochetino

रणनीतिक शैलीः पोचेटिनोको टोलीले उच्च गतिमा प्रेसिङ गर्ने, बल खोस्नेबित्तिकै तीव्र आक्रमण गर्ने र खेलको नियन्त्रण आफूतिर राख्ने शैली अपनाउँछ । उनी प्रायः ४–२–३–१ वा ४–३–३ प्रणाली प्रयोग गर्छन् । तर बोस्निया–हर्जगोभिनाविरुद्ध उनले ३–५–२को रणनीति अपनाएका थिए । यस्तो प्रणाली अमेरिकाको शारीरिक रूपमा सक्षम खेलाडीहरूको क्षमतालाई अधिकतम उपयोग गर्न तयार गरिएको हो ।

प्रतियोगिताको अवस्था: सह–आयोजक राष्ट्र अमेरिकाको जिम्मेवारी सम्हालेका पोचेटिनोले टोलीलाई सफलतापूर्वक राउन्ड अफ ३२ मा मात्र पुर्‍याएनन्, बोस्निया–हर्जगोभिनालाई पराजित गर्दै प्रिक्वाटर स्थान सुरक्षित गरेका छन् । उनले अमेरिकाका लागि ३० खेल खेलाउँदा १७ मा जित निकालेका छन् भने ११ मा हार बेहोरेका छन् । विश्वकपको प्रि–क्वाटरफाइनलमा उनको ‘स्टार एण्ड स्ट्राइप्स’ ले बेल्जियमको सामना गर्दैछ ।

३. नेस्टोर लोरेन्जो (कोलम्बिया)

C Lorenjo

रणनीतिक शैलीः लोरेन्जोलाई उत्कृष्ट रक्षात्मक रणनीतिकार मानिन्छ । उनले अनुशासित, आक्रामक काउन्टर–प्रेसिङमा आधारित खेल शैली अपनाउँछन् । महान् प्रशिक्षक होसे पेकेर्मानबाट प्रभावित लोरेन्जोका टोलीहरू विङ्गबाट तीव्र गतिमा आक्रमण गर्ने तथा पेनाल्टी क्षेत्रमा कडा पकड जमाउने रक्षानीतिका लागि परिचित छन् ।

प्रतियोगिताको अवस्थाः लोरेन्जोको नेतृत्वमा कोलम्बियाले सहज रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । लोरेन्जोसँग पछिल्ला केही वर्षको अत्यन्त प्रभावशाली नतिजा छ ।

उनकै टोलीले विश्वकप छनोटमा स्कालोनीको अर्जेन्टिनालाई दुर्लभ हार चखाएको थियो ।

‘लस क्पाफेटेरोस’का लागि ५० खेल खेलाउँदा यि ६० वर्षे गुरुले ३१ जीत निकालिसकेका छन् भने ७ मा मात्र हार ब्यहोरेका छन् । घानालाई ग्रुप अफ ३२मा पराजित गरिसकेपछि विश्वकपको प्रि–क्वाटरफाइनलमा उनले स्विजरल्याण्डको सामना गर्नेछन् ।

४. गुस्ताभो अल्फारो (पाराग्वे)

C Alfaro

रणनीतिक शैलीः ‘एल प्रोफेसोर’ भनेर चिनिने अल्फारो अत्यन्त व्यवहारिक र रक्षात्मक फुटबलका विशेषज्ञ हुन् । उनी गहिरो रक्षात्मक किल्ला (लो ब्लक) निर्माण गर्छन् र सेट–पिसबाट अधिकतम लाभ उठाउने रणनीति अपनाउँछन् ।

उनका लागि बलमा नियन्त्रणभन्दा पनि क्लिन सिट र मानसिक दृढता बढी महत्त्वपूर्ण हुन्छ ।

प्रतियोगिताको अवस्थाः राउन्ड अफ ३२ मा अल्फारोले प्रतियोगिताकै सबैभन्दा ठुलो उलटफेर गराए । उनको टोलीले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै फुटबल महाशक्ति जर्मनीलाई प्रतियोगिताबाट बाहिर निकाल्यो ।

पाराग्वेका लागि २३ खेल खेलाउँदा अल्फारोले १० जित निकालेका छन् भने ५ मा हार बेहोरेका छन् । विश्वकपको प्रि–क्वाटरफाइनलमा उनको टोली फ्रान्ससँग एउटा 'फल पेनाल्टी' व्यहोरेर बाहिरिएको छ ।

५. सेबास्टियन बेकासेसे (इक्वेडर)

C Baccacecee

रणनीतिक शैलीः बेकासेसेको फुटबल शैली अत्यन्त ठाडो (भर्टिकल), आक्रामक र निरन्तर गतिशील हुन्छ । महान् प्रशिक्षक मार्सेलो बिएल्साका शिष्यका रूपमा उनी म्यान–मार्किङ, निरन्तर दौड तथा मैदानको चौडाइ अधिकतम प्रयोग गर्ने रणनीतिमा विश्वास गर्छन् ।

प्रतियोगिताको अवस्थाः बेकासेसेले युवा तथा शारीरिक रूपमा बलियो इक्वेडर टोलीको नेतृत्व गर्दै आफ्ना आक्रामक रणनीतिका माध्यमबाट टोलीलाई सफलतापूर्वक नकआउट चरणमा पुर्‍याएका थिए भने राउन्ड अफ ३२मा घरेलु टिम मेक्सिकोसँग पराजित हुदैँ विश्वकपबाट बिदा भएका छन् ।

६. मार्सेलो बिएल्सा (उरुग्वे)

रणनीतिक शैलीः बिएल्सालाई आधुनिक ‘हेभी–मेटल फुटबल’ का हस्ती नै मानिन्छ भलै यस विश्वकपमा उनको दुई पटकको विश्वविजेता ‘ला सेलेस्टे’ समूह चरणबाटै बाहिरिएको छ । उनको प्रसिद्ध ४–३–३ प्रणाली निरन्तर उच्च प्रेसिङ, तीव्र ठाडो पासिङ तथा अत्यधिक शारीरिक क्षमतामा आधारित हुन्छ । यस अघि स्पेन, अर्जेन्टिना, चिलीलगायत राष्ट्रिय टिम सम्हालिसकेका ७१ वर्षे ‘एल लोको’ उपनामले परिचित गुरुको फुटबल दर्शनमा कुनै सम्झौता हुँदैन ।

प्रतियोगिताको अवस्थाः विश्वकपअघि उरुग्वेले ९ जित, २ बराबरी र २ हारको उत्कृष्ट कीर्तिमान बनाएको थियो । तर त्यस बलियो तयारी गरेको भए पनि बिएल्साको टोली अप्रत्याशित रूपमा प्रारम्भिक नकआउट चरणमै प्रतियोगिताबाट बाहिरियो । फलस्वरूप, प्रारम्भिक नकआउट चरणमा बाहिरिने एकमात्र अर्जेन्टिनी प्रशिक्षक बिएल्सा बने ।

अर्जेन्टिनी प्रशिक्षकहरूको प्रभाव

अर्जेन्टिनी प्रशिक्षण परम्पराको जग निकै गहिरो छ । अझ रोचक तथ्य के छ भने यी ६ प्रशिक्षकमध्ये ५ जना (स्कालोनी, बिएल्सा, पोचेटिनो, अल्फारो र बेकासेसे) अर्जेन्टिनाको सान्ता फे प्रान्तमा जन्मिएका हुन् ।

सन् १९९० को दशकमा बिएल्साले विकास गरेको परिवर्तनकारी रणनीतिकबाट प्रेरित हुँदै गर्दा अर्जेन्टिनाले विश्व फुटबलमा प्रशिक्षक निर्यात गर्ने असाधारण परम्परा पनि निर्माण भएको छ । २०२६ विश्वकपले अर्जेन्टिनी प्रशिक्षकहरूका रणनीतिलाई प्रमाणित गरिदिएको छ भन्दा सायद अनुपर्युक्त नहोला, किनकि अहिलेसम्मको यस विश्वकपको सफलताको दरले भन्छ– अर्जेन्टिनी गुरुहरूको गरिमा चुलिँदै गइरहेको छ ।

त्यसो त यस प्रतियोगितामा दिदिए देसाँ (फ्रान्स),रुडी गार्सिया (बेल्जियम), सेबास्टियन देसाब्र (डीआर कङ्गो), एर्भे रेनार (ट्युनिसिया), सेबास्टियन मिग्ने (हाइटी) गरेर जम्मा ५ प्रशिक्षक फ्रान्सका पनि थिए । तर अब प्रतियोगितामा केबल दिदिए देसाँ र रुडी गार्सिया बाँकी छन् ।

स्पेनका कुल चार मध्ये अब लुइस दे ला फुएन्ते (स्पेन) र रोबर्टो मार्टिनेज (पोर्चुगल) बाँकी छन् । इटाली र जर्मनीबाट तीन–तीन जना प्रशिक्षक थिए भने अहिले पनि जर्मनीका नर्मन थोमस टुचेलले इङ्गल्याण्ड तथा इटालियन कार्लो एन्चेलोटीले ब्राजिलको राष्ट्रिय टोलीलाई सम्हालिरहेका छन् । पाँचपल्ट विश्वकप जितेको ब्राजिलको राष्ट्रिय टोली सम्हाल्ने एन्चेलोटी पहिलो विदेसी प्रशिक्षक हुन् l

पुरुष विश्वकपको इतिहासमा कुनै पनि राष्ट्रले विदेशी प्रशिक्षकको नेतृत्वमा विश्वकप जितेको छैन । तर यसपटक आधाभन्दा बढी टोली त्यसमा पनि फुटबलका जननी इङ्ग्ल्यान्ड र महारथी ब्राजिल नै विदेशी प्रशिक्षकको नेतृत्वमा भएकाले यो ऐतिहासिक तथ्यलाई २०२६ विश्वकपले कतै नयाँ कथा त रच्दैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप