आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केका लागि विद्यार्थी आन्दोलन ?

मङ्गलबार, २९ फागुन २०८०, १४ : ३३
मङ्गलबार, २९ फागुन २०८०

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा ३० जनाका लागि सिट संख्या तोकिएको छ, जसमा अहिले हामी २५ विद्यार्थी मात्र भर्ना भएका छौँ । पढ्दै कमाउने नीतिअन्तर्गत यहाँ साँझको सत्रमा साढे ५ बजेदेखि कक्षा सञ्चालन गरिएको छ । दिनभर आफ्नो पेसा तथा व्यवसायमा संलग्न विद्यार्थीका लागि यो समय उपयुक्त हो । 

युग सुहाउँदो विषय, समयका हिसाबले दिनभर पेसा व्यवसायमा संलग्न भएर अध्ययन गर्न पाइने हुँदा पनि तोकिएको कोटामा विद्यार्थी भर्ना हुन आएनन् । अन्य केन्द्रीय विभाग एवं क्याम्पसमा पनि विद्यार्थी संख्या घटेकै देखिन्छ । 

पछिल्ला वर्ष औसतमा प्रतिदिन ४६० विद्यार्थीले सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिने गरेका छन् । युवा विद्यार्थीको यो पलायनसँगै समग्र राज्यको ‘ब्रेन ड्रेन’ र ‘इनर्जी ड्रेन’ भएको छ । 

माथि उल्लिखित त्रिविलगायत अन्य विश्वविद्यालयको कुरा छाडौँ; प्रायः विद्यार्थीको चापाचाप हुने काठमाडौँ विश्वविद्यालयले आफ्नो विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्ने ४० प्रतिशत विद्यार्थी घटेको तथ्यांक सार्वजनिक ग¥यो, उसका स्नातकोत्तरका धेरै कार्यक्रम बन्द भएका छन् । 

केही समयअगाडि प्रकाशित एक रिपोर्ट अनुसार, स्थानीय निकायले आफ्नो कुल खर्चको तीन प्रतिशत मात्रै शिक्षामा खर्च गरेका छन् । नार्कको ‘युवा वैज्ञानिक नवप्रवर्तन कार्यक्रम’ विद्यार्थीको प्रस्तावना मागेको तीन महिना बितिसकेपछि स्थगन गरिएको छ ।

हामीकहाँ सानो कक्षा (१–१०) मै विद्यार्थीले स्कुल छाड्ने प्रवृत्ति बढेको छ । निजी शिक्षाको चरम बेथिति अर्थात् महँगीले त्रिवि प्रवीणता प्रमाणपत्र (पीसीएल) हुँदा एक हजार रुपैयाँमा सकिने (पीसीएल) पढाइ अचेल प्लस–टु सक्दासम्म लाखौँ खर्च हुने बाध्यात्मक परिस्थिति छ ।

यी तथ्य तथा तथ्याङ्कले के देखाउँछन् भने हामीकहाँ शिक्षामा विकृति तथा समस्या देखिएका छन् । कताकता यसले विद्यार्थी आन्दोलनको आवश्यकता बढेको आभास गराउँछ । कुनै बेला समग्र परिवर्तनका लागि आन्दोलनको नेतृत्व गरेका विभिन्न विद्यार्थी संगठनले अहिले सार्वजनिक बहसमा विद्यार्थी संगठनको औचित्य सकिएको भनेर आलोचना खेप्नु एकदमै दुःखद छ । विद्यार्थीले सडकमा बालेको आगोको मुस्लोले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनलाई टेवा पु¥याएको थियो । पछिल्लो समय समाजमा दिन प्रतिदिन बढिरहेको भ्रष्टाचार, बेथिति, बेरोजगारीको ज्वाला दन्किरहेको तितो यथार्थलाई नकार्न सकिँदैन, तसर्थ त्यो ज्वाला निभाउन ‘फायर एक्स्टिङगुइसर’को काम गर्न र राष्ट्र विकासका मेरुदण्ड विद्यार्थी र युवाको ‘इनर्जाइजर’ बन्न वर्तमान परिप्रेक्ष्यमा विद्यार्थी आन्दोलन आवश्यक छ ।

हिजो एउटा समय थियो— विद्यार्थी संगठनले आफूलाई राष्ट्रियताको पहरेदार; लोकतान्त्रिक गणतन्त्रको योद्धा; शैक्षिक आन्दोलनको नेता; सामाजिक न्यायका लागि अनवरत संघर्षरत अग्रणी दस्ता र जनजीविकाको भरपर्दाे आवाज भनी परिभाषा गर्थे । यस्ता परिभाषा आउने पुस्ताका लागि पर्याप्त छैनन् । 

पछिल्ला वर्ष औसतमा प्रतिदिन ४६० विद्यार्थीले सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिने गरेका छन् । युवा विद्यार्थीको यो पलायनसँगै समग्र राज्यको ‘ब्रेन ड्रेन’ र ‘इनर्जी ड्रेन’ भएको छ । 

युवा पलायन बढिरहेको अवस्थामा उत्पादनमुखी कार्यक्रमका लागि विद्यार्थीको जोड रहन अत्यावश्यक छ । प्राविधिक, गतिशील, समन्वयकारी र उत्पादनशील विद्यार्थी संगठनको निर्माण गर्न ढिला भइसकेको छ ।

समय सापेक्षित आन्दोलनको स्वरूप र कार्यदिशामा विद्यार्थी स्पष्ट हुनुपर्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समस्याका कारण र समाधानका उपाय पनि हुन्छन् । समस्याको चाङ मात्रै देखाएर भाग्ने छुट हामीलाई छैन । समाधान निकाल्ने गरी विद्यार्थीहरु एकजुट हुन आवश्यक छ । 

मुठीभरका शैक्षिक माफिया; लोकतान्त्रिक गणतन्त्रविरोधी प्रतिगामी शक्ति; राष्ट्रघातीहरू; विस्तारवाद र साम्राज्यवादका दलालहरू विद्यार्थी आन्दोलनलाई कमजोर बनाउनका लागि दृश्य एवं अदृश्य रूपमा लागिरहेका छन् । इतिहासले सुम्पिएको कार्यभारलाई पूरा गर्न अर्थात् माथि उल्लिखित चुनौतीको डटेर सामना गर्ने आन्दोलनमा शैक्षिक संस्था र कक्षा कोठाको प्रतिनिधित्व गर्ने नियमित विद्यार्थी संलग्न हुनुपर्छ । उनीहरूले आफ्नो अध्ययन र अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै देशमा शैक्षिक बिचौलियाको अन्त्य गरी लाखौँ विद्यार्थीलाई नेपालमा बस्ने वातावरण सिर्जना गर्न आवाज उठाउनुपर्छ । 

नवप्रवद्र्धन, आविष्कार र अनुसन्धानका लागि नास्ट तथा नार्कजस्ता रिसर्च युनिट र विश्वविद्यालयको आवश्यक सहयोगी बन्दै उनीहरूलाई खबरदारी पनि विद्यार्थीले गर्नुपर्नेछ । 

नेपालको संविधानका सेता पानामा काला अक्षरले लेखिएका मौलिक हकको अक्षरशः कार्यान्वयन र सचेतनाका लागि विभिन्न कार्यक्रम आवश्यक छ । यसका लागि विद्यार्थीको भूमिका अहं रहन्छ । माध्यमिक तहसम्मको शिक्षामा स्थानीय तहलाई अधिकार छ, स्थानीय तहबाटै शिक्षालाई उत्पादनमुखी बनाउन विद्यार्थी आन्दोलनले पैरवी गर्नुपर्नेछ ।

राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न पनि विद्यार्थीले आवाज उठाउनुपरेको छ । यसका लागि ‘बोर्ड अफ ट्रस्टिज’का माध्यमबाट निष्पक्ष रूपमा पदाधिकारी छनोट गर्न सकिन्छ । यसो हुँदा योग्यता तथा अनुभवले खारिएको नेतृत्व आउने बाटो खुल्छ । 

हिजो व्यवस्था परिवर्तनको आन्दोलनमा फरक–फरक आस्था एवं विचार राख्ने विद्यार्थी संगठनहरू एक ठाउँ उभिएर लोकतान्त्रिक गणतन्त्रको शंखघोष गरेका थिए, त्यसरी नै पुनः एकपटक पार्टीभन्दा माथि उठेर विद्यार्थीले आफ्नो औचित्यमाथि प्रश्न उठाउनेलाई गतिलो जवाफ दिनुपर्नेछ ।  

(त्रिवि केन्द्रीय विभाग कीर्तिपुरमा एमआईटी अध्ययनरत नेपाल अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल नेपाल
गोपाल नेपाल
लेखकबाट थप