बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘मधुमेह नभईकन ब्लड सुगर मनिटर चलाउनु हुन्न’

आइतबार, ०४ चैत २०८०, १७ : ३६
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । मधुमेह नभएका मानिसका लागि ब्लड सुगर मनिटर गर्न आवश्यक नरहेको डाक्टरहरूले बताइरहेका छन् । स्थिति भयावह बन्दै जाँदा यस्ता उपकरण प्रयोग गर्ने बानीले खानपानसम्बन्धी विकार नै ल्याउन सक्ने चेतावनी उनीहरूले दिइरहेका छन् । यी सबै पर्सनलाइज्ड डायट ट्रेन्डको हिस्सा हो । सामाजिक सञ्जालहरूमा मधुमेह नभएकाहरूले पनि यसको प्रयोग गर्न हुन्छ भन्दै प्रचारप्रसार भएको देखिन्छ ।

तर मधुमेह विज्ञहरूले भने यसको समस्या नभएकाहरूलाई यो उपकरण उपयोगी हुन्छ भन्ने कुनै बलियो प्रमाण नदेखिएको बताएका छन् । मधुमेह भएका मानिसहरूमा रगतमा चिनीको मात्रा खाएको कयौँ घन्टापछि पनि उच्च स्तरमा रहन्छ । निगरानी नगरिएको खन्डमा चिनीको मात्रा निकै उच्च स्तरमा पुगेर अङ्गमा क्षति नै हुन सक्छ । 

जेड्ओई यस्तै उपकरण बनाएर बेच्ने कम्पनीहरू मध्ये एक हो । कम्पनीले यसअघि कोभिडको लक्षणहरू ट्र्याक गर्ने एप बेच्थ्यो । अहिले यसले मधुमेह नभएका मानिसहरूलाई पनि उपयोगी भन्दै ब्लड सुगर मनिटर बेचिरहेको छ । यो उपकरण शुरुआती चरणमा रहेको भएपनि यो कटिङ ‘एज’ भएको दाबी कम्पनीको छ ।  

सुगर मनिटरले कसरी काम गर्छ ?

रगतमा चिनीको मात्रा हेर्न यो उपकरण प्रयोग गर्नेले यसलाई दुई हप्तासम्म लगाउँछन् । यसले खाना खाएपछि शरीरको चिनीको मात्रा निगरानी गर्छ ।  केही परीक्षणहरूमा भने यसले शरीरको बोसोसँग कसरी प्रतिक्रिया गर्छ भन्ने हेरिन्छ । पेटमा भएको ब्याक्टेरियाको पनि परीक्षण हुन्छ । जेड्ओईका अनुसार अलग अलग मान्छेको शरीरमा एउटै खाले भोजनले किन अलग अलग तरिकाले प्रतिक्रिया देखाउँछ भन्ने पत्ता लगाउन यो उपकरण उपयोगी हुन्छ ।

उदाहरणका लागि उत्ति मात्रामा कार्बोहाइड्रेट खाएपनि एउटा व्यक्तिको रगतमा चिनीको मात्रा धेरै बढ्छ भने अर्कोमा ठिकठाक हुन्छ । यसले व्यक्तिलाई भोजन छान्न मद्दत मिल्ने आशा गरिएको छ । तर अनुसन्धाकर्ताहरुले यस उपकरणबारे प्राप्त डेटालाई राम्ररी बुझिसकेका छैनन् । रगतमा उच्च मात्रामा चिनीको मात्रा भेटिनु मधुमेहको लक्षण हो र तर यो सिधै मधुमेहको कारण हुन नसक्ने अक्सफोर्ड विश्वविद्यालयका डायटिशियन र मधुमेहसम्बन्धी अनुसन्धानकर्ता डा. निकोला गेस भन्छिन् ।

जब प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ र टाइप वान मधुमेहको स्थिति उत्पन्न हुन्छ । शरीरमा यसको स्तरलाई निरन्तर कायम राख्न इन्सुलिन इन्जेक्सन चाहिन्छ । शरीरका कोशिकाहरू इन्सुलिन प्रतिरोधी हुन थालेपछि टाइप २ मधुमेह हुन्छ । यस्तो स्थितिमा शरीरमा रगतमा ग्लुकोजको स्तर सामान्य राख्न थप इन्सुलिन चाहिन्छ । टाइप २ मधुमेहलाई खानपान, व्यायाम र नजिकको निगरानीले नियन्त्रण गर्न सकिन्छ । मानव शरीरमा पेटको ब्याक्टेरिया, आहार र स्वास्थ्यबिच सम्बन्धबारे आफूले अनुसन्धान गरिरहेको जेड्ओईले बताएको छ ।

स्वास्थ्यमा के असर हुन्छ ?

कम्पनीले दशकौँसम्म पोषण अनुसन्धानको डेटा प्रयोग गरेको जेड्ओईका प्रमुख वैज्ञानिक डा. साराह बेरीले भनेकी छिन् । यसबाहेक ब्लड सुगर र स्वास्थ्यबीचको सम्बन्धसँग सम्बन्धित आफ्नो अनुसन्धान तथ्याङ्क पनि प्रयोग गरेको छ । तर आफूसँग ठोस निष्कर्षमा पुग्न सबै प्रमाण नभएको चाँहि उनी स्वीकार गर्छिन् । तर खराब खानपिन हुन सक्ने जोखिम र लामो समयसम्म हुने ब्लड सुगरको असरबारे बुझ्न दशकौं कुर्नु त भएन नि ।

स्वास्थ्य सेवाहरू प्रदान गर्ने स्टार्ट अपको मालिक तथा एक सामान्य चिकित्सक डा. रायन क्रुक रगतमा चिनीको मात्रासँग सम्बन्धित सबै प्रमाणहरू प्राप्त गर्ने लक्ष्यको सट्टा यस दिशामा जारी प्रयोगको समर्थन गर्छन् । ब्लड सुगर सम्बन्धी प्रमाण आउँछ भनेर कुर्दा यस क्षेत्रको नवीनता समाप्त हुने उनी बताउँछन् ।

निरन्तर ग्लुकोज मनिटरहरू (सीजीएम)ले मानिसहरूलाई ब्लड सुगरको व्यवस्थापन गर्न र आहार परिवर्तनका लागि प्रेरित गर्न सक्छ भन्ने चाँहि  क्रुक र जेड्ओईका आलोचकहरू पनि मान्छन् । खानपिनका कारण हुन सक्ने रोगहरूबारे दशकौँदेखि चेतावनी सुनिँदै आएको छ । तर सयौँ डायट कार्यक्रमहरू पनि मानिसलाई उनीहरूको आहार परिवर्तनमा अडिग गराइराख्न असफल साबित भएको छ । तर जेडओईले भने कम्पनीले कडा वैज्ञानिक परीक्षणहरूमा जोड दिएको दाबी गरिरहेको छ । उद्योगमा कुनै पनि कम्पनीले यस्तो क्लिनिकल परीक्षणहरू सञ्चालन गरेका छैनन् । तर जेड्ओआईको अनुसन्धान ठोस भएको बताइएको छ ।

सावधानी अपनाउन जरुरी छ ?

गेस चिन्ता भने जेड्ओईको प्रडक्ट प्रयोग गर्ने मानिसहरूले आफ्नो स्वास्थ्यको लागि फाइदाजनक हुने खानेकुराहरूमा समेत कटौती गरिरहेकोमा छ । यसले आफ्नो रगतमा चिनीको मात्रा बढाउन सक्छ भन्ने सोचेर मानिसहरूले यस्ता खानेकुरामा कटौती गरिरहेका छन् । यसले अलग्गै खालका स्वास्थ्य समस्याहरू पैदा हुन सक्छ । कार्बोहाइड्रेट नखाने मानिसहरूले अर्को पटक कार्बोहाइड्रेट्स खाँदा आवश्यकता भन्दा धेरै ग्लुकोज प्रतिक्रिया आउँछ । यो सामान्य कुरा हो । तर यसो गर्ने मानिसहरूलाई आफूमा कार्बोेहाइड्रेट पचाउने क्षमता नभएको महसुस हुन थाल्छ ।

उनीहरू रगतमा चिनीको मात्राबारे झनै सतर्क रहन थाल्छन् । यो स्थिति बिस्तारै खानपिन विकार अर्थात् इटिङ डिस्अर्डरमा परिणत हुन्छ । ईटिंग डिसअर्डर च्यारिटी बीट भन्छ कि खानपिनमा विकार पीडितहरूले प्रायः तथ्याङ्कहरूमा बढी ध्यान दिन्छन् । त्यसैले यसले यस्ता रोगबाट पीडितहरुलाई कहिले पनि ग्लुकोज मिटर प्रयोग गर्न सिफारिस गर्दैनन् । आफूले यस्तो खालका बिरामीको जाँच गर्ने गरेको जेड्ओईको भनाई छ । आफ्ना सदस्यहरूको स्वास्थ्यको पूरा ख्याल राख्ने कम्पनीको भनाई छ ।

ग्राहकहरूसम्म कम्पनीका पोषण कोचहरूको पहुँच भएको अनि उनीहरूलाई खानपिनसम्बन्धी चिन्ता हटाउन मद्दत गर्न सक्ने जेड्ओईको दाबी छ । कम्पनीले मानिसको खानाप्रतिको रुचि, भोक र रगत परीक्षणको नतिजासँग सम्बन्धित तथ्याङ्कमा आधारित अनुसन्धान प्रकाशित गरी त्यसमा एक खालको प्याटर्न खोज्ने प्रयास गरेको थियो । तर यीमध्ये कुन पक्षले मानिसको स्वास्थ्यमा फरक पारिरहेको छ र कुन संयोग मात्रै हो भन्ने चाँहि देखाउन उसले सकेन ।

ओड्ओईले आफ्नो कार्यक्रमबाट आएको परिवर्तनबारेमा एउटा अध्ययन गरेको छ । तर यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । यो अध्ययनले परीक्षणको आधारमा बनाइएको व्यक्तिगत आहारको नतिजा र सर्पोट र कोचिङपछि नतिजाहरूबिचको भिन्नता जस्ता सारा पक्षहरू बाहिर ल्याउन असफल भएको आलोचकहरूको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप