शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा

मङ्गलबार, ०६ चैत २०८०, १५ : ०९
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४  हुने भएको हो ।  

यही चैत १७ र १८ गते सो सम्मेलन हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । 

कृषिको रूपान्तरणकारी भविष्य: कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता मूल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ । 

सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, महिलामुखी कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा छलफल हुनेछ । 

उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरूको सशक्तीकरण तथा प्रवर्द्धनका समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरूलाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो । 

सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरू पेस गरिनेछ । सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरूको प्रदर्शनी समेत गरिनेछ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप