आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

पश्चिमी मुलुकमा बढ्दै छ नेपाली छुर्पीको लोकप्रियता

सोमबार, १२ चैत २०८०, १५ : २३
सोमबार, १२ चैत २०८०

काठमाडौँ । गत आर्थिक वर्ष (२०७९/८०) को तुलनामा चालु वर्ष नेपाली छुर्पीको निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँको छुर्पी निर्यात भएको थियो । चालु वर्ष सोही अवधिमा नेपालबाट एक अर्ब ९८ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।

चालु वर्ष ८ महिनाको अवधिमा २३ देशमा छुर्पी निर्यात भएको छ । नेपाली छुर्पी सबैभन्दा धेरै निर्यात हुने मुलुक अमेरिका हो । अमेरिकामा चालु आर्थिक वर्ष एक अर्ब ७२ करोड ४६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, बेलायतमा ३ करोडको निर्यात हुँदा क्यानडामा १ करोड ६१ लाखको छुर्पी निर्यात भएको छ ।

सरकारी तथ्याङ्क अनुसार ग्रीसमा ४९ लाखको र हङकङमा ६६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, जापानमा एक करोड ४२ लाख, कोरियामा १ करोड २९ लाख र मलेसियामा ६५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ ।

नेदरल्याण्ड्समा ३९ लाख, फिलिपिन्समा २३ लाख, सिङ्गापुरमा ५३ लाख, ताइवानमा ६३ लाख र संयुक्त अरब इमिरेट्स (यूएई)मा ३२ लाख रुपैयाँको छुर्पी निर्यात भएको तथ्याङ्क छ ।

विदेशमा बिरोलो र कुकुरको खानाका लागि छुर्पी निर्यात हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट एक अर्ब ९३ करोड २५ लाख रुपैयाँको १० लाख २३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष नेपालबाट २४ वटा मुलुकमा छुर्पी निर्यात भएको थियो । गत वर्ष पनि सबैभन्दा धेरै अमेरिकामा एक अर्ब ६५ करोड ५ लाख ९६ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । समीक्षा अवधिमा अमेरिकामा ८ लाख ४७ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।

यस्तै, बेलायतमा २ करोड ११ लाख, संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ लाख, ताइवानमा ३८ लाख, स्पेनमा १५ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । गत वर्ष सिङ्गापुरमा ७५ लाखको छुर्पी निर्यात हुँदा फिलिपिन्समा २८ लाखको र नेदरल्याण्ड्समा ५८ लाख रुपैयाँको निर्यात भएको तथ्याङ्क छ ।

यस्तै, मलेसियामा २४ लाखको र कोरियामा ६२ लाखको छुर्पी निर्यात हुँदा जापानमा १ करोड ९६ लाख रुपैयाँको निर्यात भएको थियो । यसैगरी, सो अवधिमा हङकङमा ७० लाख, क्यानडामा १९ करोड ४३ लाख र ग्रीसमा ३९ लाखको छुर्पी निर्यात भएको थियो ।

के भन्छ निजी क्षेत्र ?

छुर्पीको उत्पादन र निर्यातमा आबद्ध निजी क्षेत्र भने तथ्याङ्कमा देखिए बराबर नै छुर्पी अनौपचारिक माध्यमबाट निर्यात हुने गरेको बताउँछ । खासगरी छुर्पी हिमाली क्षेत्रमा उत्पादन गरिन्छ । तर हिमाली क्षेत्रमा उत्पादन गरिने छुर्पी अधिकांश घरायसी प्रयोजनमै खपत हुन्छ भने बाँकी आन्तरिक बजारमा आउँछन् ।

विदेशमा निर्यात गनेगरी स्थापित छुर्पी उद्योग भने इलाम र पाँचथर लगायतका क्षेत्रमा छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल पछिल्लो समय छुर्पीको निर्यात बढ्दो अवस्थामा रहेको बताउँछन् ।

नेपालमा उत्पादित छुर्पी अमेरिका र युरोपमा निर्यात भइरहेको उनको भनाइ छ । नेपालले व्यवस्थित गर्न सकेमा र सरकारले सहयोगी भूमिका खेलेमा उल्लेख्य मात्रामा छुर्पी निर्यात गर्न सकिने अध्यक्ष दाहाल बताउँछन् ।

छुर्पी व्यवसायी निराजन कोइराला तथ्याङ्कमा देखिए जति नै छुर्पी अनौपचारिक माध्यमबाट विदेश जाने गरेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनी भन्छन्, ‘नेपालमा उत्पादित छुर्पी अनौपचारिक माध्यमबाट भारत जान्छ र भारतमा उत्पादित भन्दै विदेश निर्यात हुन्छ ।’

नेपालले विश्वबजारको मागअनुसारको छुर्पी आपूर्ति नै गर्न नसकेको कोइरालाको भनाइ छ । कोइरालाका अनुसार विश्वबजारको मागअनुसारको आपूर्ति गर्न सकेमा नेपालका लागि विदेशी मुद्रा आर्जनको गतिलो स्रोत छुर्पी हुन सक्छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप