आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

आईपीएलमा आज ः लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात

मङ्गलबार, १३ चैत २०८०, १३ : २६
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच खेल हुँदैछ । खेल चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।

गुजरातले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । त्यसैले मंगलबारको खेलमा यी दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्लो संस्करणको फाइनल खेल पनि यही दुई टोलीबिच खेलिएको थियो । फाइनलमा चेन्नई विजयी भएको थियो ।

chennai super kings

आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो । चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । चेन्नईले हालसम्म १० पटक आईपीएलको फाइनल खेल खेलिसकेको छ । आईपीएलमा चेन्नईको यो १५औँ सहभागिता हो ।

यसअघि केवल दुईपटक चेन्नई प्ले अफ चरणमा पुग्न सकेको छैन । गुजरातले भने सन् २०२२ देखि आईपीएलमा सहभागिता जनाउन थालेको हो । गुजरातले पहिलो सिजनमै उपाधि पनि चुमेको थियो । अघिल्लो सिजन पनि गुजरात उपविजेता बनेको थियो ।

  • हेड टु हेडमा गुजरात अगाडि

आईपीएलमा हालसम्म गुजरात र चेन्नईबिच कुल पाँचवटा खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा गुजरात विजयी भएको छ । चेन्नईले भने दुई खेलमात्र जित्न सकेको छ । चेन्नईले यसअघि दुवै खेल प्ले अफ चरणमा जितेको थियो ।

गुजरातले भने तीनवटै खेल लिग चरणमा जितेको हो । चेन्नईमा भने यी दुई टोलीबिच हालसम्म एक खेलमात्र खेलिएको छ । त्यो खेलमा चेन्नई १५ रनले विजयी भएको थियो ।

mustafizur

  • मुस्तफिजुर रहमान चेन्नईका प्रभावशाली बलर

जारी आईपीएलको पहिलो खेलमा चेन्नईलाई विजयी बनाउन मुस्तफिजुर रहमानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले चार ओभरमा केवल २९ रन खर्चिएर चार विकेट लिएका थिए । उनी यो सिजन चेन्नईका सर्वाधिक विकेट लिने बलर हुन् । यसका अतिरिक्त पहिलो खेलमा चेन्नईका लागि रचिन रविन्द्रलगायतका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

shuvman gill

  • गुजरातका लागि साई सुदर्शनको सर्वाधिक रन

पहिलो खेलमा गुजरातका लागि साई सुदर्शनले महत्त्वपूर्ण योगदान गरेका थिए । उनले टोलीका लागि ४५ रनको योगदान गरेका थिए । यसका अतिरिक्त पहिलो खेलमा शुभमन गिलले पनि ३१ रन बनाएका थिए । पहिलो खेलमा स्पेन्सर जोन्सन र उमेश यादवले पनि दुई–दुई विकेट लिएका थिए । मंगलबारको खेलमा पनि गुजरातले यी खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।

  • दुवै टोलीमा नयाँ कप्तान

जारी आईपीएलमा चेन्नई र गुजरात दुवै टोली नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लिएका छन् । आईपीएलमा महेन्द्रसिंह धोनी चेन्नईका सर्वाधिक सफल कप्तान हुन् । उनले चेन्नईलाई पाँचपटक उपाधि चुमाएका छन् ।

तर, जारी आईपीएलमा भने धोनीको स्थानमा ऋतुराज गायकवाडले कप्तानको जिम्मेवारी पाएका छन् । चेन्नईले अन्तिम समयमा आएर धोनीको स्थानमा गायकवाडलाई कप्तान बनाएको हो । अर्कोतिर गुजरातले पनि शुभमन गिललाई कप्तानको जिम्मेवारी दिएको छ । गुजरातले हार्दिक पाण्ड्यालाई रिलिज गरेपछि गिललाई कप्तान बनाएको हो ।

  • स्पिनरलाई साथ दिने पिच

चेन्नई र गुजरातबिच खेल हुने एम. ए. चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिनर बलरलाई साथ दिने प्रकृतिको छ । यो पिचमा ब्याट्सम्यानहरुले रन बनाउन निकै सँघर्ष गर्नुपर्ने देखिन्छ । चुन्नईले यो स्टेडियममा हालसम्म ६५ खेल खेलेको छ ।

त्यसमध्ये ४६ खेलमा चेन्नई विजयी भएको छ । १८ खेलमा चेन्नई पराजित भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । यी दुई टोलीबिचको खेलका क्रममा वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप