शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

४० ओभर, ५२३ रन, ३८ छक्का : रेकर्डहरू भत्किएको रात

बिहीबार, १५ चैत २०८०, १० : २६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ ।  

बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । 

बुधबारको खेलमा थुप्रै रेकर्डहरू तोडिएका छन् भने नयाँ रेकर्डहरू बनेका छन् :

  • ५२३ – बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सले हैदराबादमा बनाएको रनको कूल सङ्ख्या । यो कुनै पनि टी–२० खेलमा दुई टोलीले बनाएको सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२३ मा सेन्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेलमा ५ सय १७ रन बनेको थियो ।
  • ३८ – हैदराबादमा प्रहार भएको छक्काको सङ्ख्या । कुनै पनि टी–२० खेलमा हिर्काइएको सबैभन्दा धेरै छक्का हो । खेलमा हैदराबादले १८ र मुम्बईले २० वटा छक्का हिर्काएको थियो । यसअघि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिगमा बाल्ख लिजेन्ड्स र काबुल जवानानविरुद्धको खेलमा ३७ वटा छक्का प्रहार भएका थिए । त्यस्तै, सन् २०१९ मा सीपीएलमा सेन्ट किट्स र नेभिस प्याट्रियट्सविरुद्ध पनि सोही संख्यामा छक्का हिर्काइएको थियो ।

378414

  • २७७/३ –सनराइजर्स हैदराबदले मुम्बईविरुद्ध बनाएको स्कोर आईपीएलको इतिहासमा सबैभन्दा उच्च हो । यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुणे वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।
  • ३ – सनराइजर्सले बनाएको २ सय ७७ रनको स्कोरभन्दा मात्र तीनवटा स्कोर अघि रहेका छन् । यसमा गत वर्ष एसियन गेम्समा नेपालले मंगोलियाविरुद्ध बनाएको ३ विकेटको क्षतिमा ३ सय १४ रन, सन् २०१९ मा अफगानिस्तानले देहरादुनमा बनाएको ३ विकेटको क्षतिमा २ सय ७८ रन र सन् २०१९ मा चेक रिपब्लिकले बनाएको ४ विकेटको क्षतिमा २ सय ७८ रन रहेको छ ।
  • २४६/५ – मुम्बईले हैदराबादले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा बनाएको रन । कुनै पनि टोलीले आईपीएलमा बनाएको पाँचौँ ठुलो स्कोर हो । लक्ष्य पछ्याउने क्रममा आईपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर हो ।
  • ० – बुधबारको खेलअघि हैदराबादका ब्याटरले २० बलभन्दा कममा ५० रन बनाएको अवसर । बुधबार ट्राभिस हेडले १८ बलमा अर्धशतक बनाउँदै रेकर्ड नयाँ बनाए । तर, त्यसको चार ओभरपछि नै अभिषेक शर्माले उक्त रेकर्ड १६ बलमा अर्धशतक बनाउँदै तोडे । यसअघि डेभिड वार्नरले सन् २०१५ मा चेन्नईविरुद्ध तथा सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध र सन् २०१५ मा मोइसेस हेनरिक्सले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २० बलमा अर्धशतक बनाएका थिए ।

abhisekh sharma

  • १ – हेड र अभिषेक शर्मा आईपीएलको कुनै खेलमा एउटै टोलीका लागि २० बलभन्दा कममा अर्धशतक बनाउने पहिलो दुई खेलाडी बनेका छन् ।
  • १४८ – पहिलो १० ओभरमा हैदराबादले बनाएको स्कोर । आईपीएलमा कुनै पनि टोलीले १० ओभरमा बनाएको सबैभन्दा उच्च स्कोर हो । मुम्बई इन्डिन्सले बुधबार नै बनाएको १ सय ४१ रन दोस्रो स्थानमा रह्यो ।
  • १४.४ – २०० रन बनाउन हैदराबादलाई लागेको ओभरको संख्या । आईपीएलमा कुनै पनि टोलीले २ सय रन बनाएको सबैभन्दा दोस्रो चाँडो अवसर हो । यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरले सन् २०१६ मा ओभर घटाइएको खेलमा १४.१ ओभरमा २ सय रन पुरा गरेको हो ।

Kwena Maphaka

  •  ६६ – क्वेना माफाकाले खर्चेको रन । आईपीएलमा कुनै पनि बलरले खर्चेको तेस्रो सबैभन्दा धेरै रन हो । 
  • ८१ – हैदराबादले पावरप्लेमा बनाएको रन । टोलीले पावरप्लेमा बनाएको सबैभन्दा उच्च रन हो । यसअघि टोलीले सन् २०१७ मा कोलकाताविरुद्ध ७९ रन बनाएको थियो ।
  • १८ – हैदराबादले प्रहार गरेको छक्काको सङ्ख्या । टोलीले कुनै पनि खेलमा हिर्काएको सबैभन्दा धेरै छक्का हो । यसअघि टोलले यही सिजनको पछिल्लो खेलमा कोलकाताविरुद्ध १५ छक्का हिर्काएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप