शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
इलाम–२ उपनिर्वाचन

अरू पार्टीको मत आ–आफ्ना पोल्टामा जाँदा एमाले कि कांग्रेसलाई फाइदा ?

बिहीबार, १५ चैत २०८०, १३ : ०३
बिहीबार, १५ चैत २०८०

विराटनगर । आगामी वैशाख १५ गतेका लागि तोकिएको इलाम–२ उपनिर्वाचनको माहौल तातेको छ । एकपछि अर्को दलले उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि माहौल तातेको हो ।

यसअघिको निर्वाचनमा कांग्रेस–माओवादीसहितको गठबन्धनका विरुद्धमा एमाले एक्लै प्रतिस्पर्धी बनेको थियो । अहिले भने रवि लामिछाने अध्यक्ष रहेको रास्वपादेखि सीके राउतको जनमत पार्टीसम्मले सो क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेको एमालेले आफ्नो उम्मेदवार संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई अगाडि सारिसकेको छ । माओवादी केन्द्रले पनि धिरेन्द्र शर्मा (रमण)सहित ४ जनाको नाम सिफारिस गरिसकेको छ । यसअघि माओवादी केन्द्रले एमालेकै उम्मेदवारलाई सघाउने चर्चा थियो । तर, माओवादीले भने छुट्टै उम्मेदवारी दिने केन्द्रीय पदाधिकारीको बैठकले नै निर्णय गरिसकेको छ ।

‘हाम्रो पार्टीले छुट्टै उम्मेदवारी दिन्छ र आफ्नो बलबुतामा लड्छ,’ माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले भने ।

उता, गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको छ । उक्त पार्टीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मिलन लिम्बूलाई उम्मेदवार बनाउने सम्भावना रहेको जनाइएको छ । उक्त पार्टीले आफू एक्लै चुनाव लड्ने बताइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम पार्टीका सभापति डम्बर खड्कासहित ७ जनाको नाम सिफारिस गरेको छ । पार्टीबाट उनै खड्का र भेषराज आचार्यमध्ये एकलाई टिकट दिने स्रोतको दाबी छ । 

पहिचानवादीहरूले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार तय गरिसकेको छ ।

सीके राउतको जनमत पार्टीले प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाइसकेको छ । राप्रपाले पनि आफ्नो उम्मेदवारको नामावली केन्द्रलाई पठाइसकेको जनाएको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा विजयी भएका संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले लामो समयदेखिको आफ्नो विरासत जोगाउन बल गरिरहेको छ भने एमालेको किल्ला तोड्न कांग्रेस प्रयत्नरत छ ।

विगतका दुई निर्वाचनमा आफ्नै उम्मेदवार र आफ्नै पार्टीको चुनाव चिह्नमा मत हाल्न नपाएका माओवादीका कार्यकर्ता आफ्नो उम्मेदवार बनाएर सशक्त प्रतिस्पर्धामा उत्रन चाहन्छ । नयाँ दलको रूपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा आफ्नो सांसद संख्या १ थप्दै २२ पुर्‍याउने घोषणा गरिसकेको छ ।

उता, पहिचानको माग र मुद्दालाई निर्वाचन मार्फत अभिव्यक्त गराउने योजनामा रहेका पहिचानवादीले पनि पहिचानको माग र मुद्दालाई जितमार्फत अझ सशक्त बनाउन चाहन्छ । ‘हामीले परिणाम आफ्नो हातमा पार्नेछौँ  । यो जितले पहिचानवादीको माग र मुद्दालाई सशक्त बनाउने छ,’ पहिचानवादी उम्मेदवार थेगिम भन्छन् ।  

  • विगतको तथ्याङ्क र अबको परिणाम

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

कांग्रेसले २०७९ सालमा माओवादी, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । यसपटक सबै पार्टी आ–आफ्नो उम्मेदवार लिएर चुनावी मैदानमा गएको खण्डमा परिणाम एमाले वा कांग्रेसको पोल्टामा पर्ने सम्भावना बलियो देखिन्छ । तुलनात्मक हिसाबले एमालेको संगठन बलियो भए पनि उम्मेदवार छनोटमा देखिएको असन्तुष्टि र कांग्रेसमा देखिएको आन्तरिक एकता कायम रहे एमालेले सो क्षेत्र गुमाउन पनि सक्छ । तर, अरू सहायक कारणले भने एमालेलाई जितको नजिक पुर्‍याइदिएको छ ।

यसअघि प्रत्यक्षमा कांग्रेसलाई सघाएको माओवादीसँग समानुपातिक मत ५ हजार १५३ छ । एमालेको समानुपातिक मत सबैभन्दा बढी २६ हजार ५६२ रहँदा कांग्रेसको भने ४ हजारभन्दा कम २२ हजार ३३३ मत मात्रै छ । यस्तै चौथो स्थानमा रहेको रास्वपाको समानुपातिक मत ४ हजार ६८६ मत छ । रास्वपाले सोही निर्वाचनमा प्रत्यक्षतर्फ भने १ हजार ३८० मतमात्रै पाएको थियो । अन्य पार्टीहरूको मत २ हजार भन्दा कम नै छ ।

उम्मेदवारको हिसाबले पनि एमालेका उम्मेदवार सुहाङ पपुलर र विश्वस्त देखिन्छन् । ‘मलाई पार्टीले जसरी टिकट दिएको छ र सोही अनुसार परिणाम मेरो पक्षमा आउँछ भन्ने मलाई दृढ विश्वास छ,’ पार्टीमा देखिएको असन्तुष्टिले असर गर्दैन भन्ने प्रश्नमा उनले भने, ‘एमाले विधि, प्रक्रियालाई मान्दै आएको पार्टी हो । नेताहरूले पनि विधि र प्रक्रियाबाट आएको विषयलाई मानेरै यहाँसम्म आउनु भएको छ ।’

युवाहरू सामु सुहाङ लोकप्रिय रहेको स्थानीय एमाले नेताहरू बताउँछन् । तुलनात्मक रूपमा कांग्रेसका सम्भावित उम्मेदवार खड्का भने पुरानै नेता हुन् । उनले सुवास नेम्वाङलाई पराजित गर्न नसकेको बदला छोरा सुहाङबाट लिन चाहन्छन् । तर, कांग्रेसको संगठनात्मक आधार, समानुपातिक मतको अवस्था र अन्य पार्टीको सहयोग नपाउँदा उनलाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुनेछ ।

उता, नयाँ पार्टीको रूपमा आएको रास्वपाबाट सम्भावित उम्मेदवार बन्ने लाइनमा रहेका युवा मिलन लिम्बू सोही ठाउँका स्थानीय हुन् । रास्वपा पार्टी आफैँमा लोकप्रिय पार्टी हो । तर, उसका लागि सहरी क्षेत्रमा जस्तो गाउँ–गाउँमा माहौल ल्याएर जित निकाल्न भने लिम्बूलाई कठिन पर्ने प्रतिस्पर्धी दलहरू बताउँछन् । विगतको समानुपातिक मत र प्रत्यक्षमा पाएको मत हेर्दा पनि सो क्षेत्रमा रास्वपा जित्ने अवस्थामा भने देखिँदैन । यसर्थ यस पटक इलाम–२ को उपनिर्वाचनमा अरू उम्मेदवारले कति मत बढाउने भन्ने प्रतिस्पर्धा भए पनि जित भने एमालेकै हुनसक्ने धेरैले विश्वास गर्छन् ।

तथ्याङ्कमा गत निर्वाचन

t1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप