शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल

शुक्रबार, १६ चैत २०८०, १२ : ४३
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार राति राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच खेल भएको थियो । घरेलु मैदान जयपुरमा खेलिएको उक्त खेलमा राजस्थान रोयल्स १२ रनले विजयी भएको थियो ।

उक्त खेल दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङका कारण दुईपटक रोकिएको थियो । पोन्टिङले राजस्थान रोयल्सले प्रयोग गरेको ‘इम्प्याक्ट खेलाडी’ को विषयलाई लिएर आपत्ति जनाएपछि दुईपटक खेल रोकिन पुगेको थियो ।

खेलमा पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सले पाँच विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो । दिल्ली क्यापिटल्स जवाफी ब्याटिङमा आएपछि राजस्थान रोयल्सले नान्द्रे बर्गरलाई ‘इम्प्याक्ट खेलाडी’ का रुपमा फिल्डिङका लागि मैदानमा उतारेको थियो ।

त्यसअघि राजस्थान रोयल्सले ब्याटिङ गर्दा तीनजना विदेशी खेलाडीलाई मात्र प्रयोग गरेको थियो । ब्याटिङका क्रममा राजस्थानले विदेशी खेलाडीका रुपमा जस बट्लर, सिमरन हेट्मायर र ट्रेन्ट बोल्टलाई मात्र प्रयोग गरेको थियो ।

त्यसपछि फिल्डिङका क्रममा राजस्थानले ‘इम्प्याक्ट खेलाडी’ का रुपमा नान्द्रे बर्गरलाई पनि प्रयोग गर्‍यो । राजस्थानले बर्गरलाई हेट्मायरको स्थानमा फिल्डिङका लागि प्रयोग गरेको थियो । आईपीएलको नियम अनुसार, सुरुमा तीनजना विदेशी खेलाडीलाई खेलाउने टोलीले मात्र ‘इम्प्याक्ट खेलाडी’ का रुपमा पनि विदेशी खेलाडीलाई प्रयोग गर्न पाउँछ । 

सुरुमै चारजना विदेशी खेलाडी खेलाउने टोलीले भने ‘इम्प्याक्ट खेलाडी’ का रुपमा विदेशी खेलाडीलाई प्रयोग गर्न पाउँदैन । त्यसैले नान्द्रे बर्गरलाई फिल्डिङमा उतार्ने राजस्थानको निर्णय सही थियो । तर, विवाद त्यसपछि सुरु भयो ।

राजस्थानको तर्फबाट अर्का विदेशी खेलाडी रोभमन पोवेल पनि फिल्डिङका लागि मैदानमा प्रवेश गरे । त्यसपछि दिल्लीका प्रशिक्षक पोन्टिङले रिसाउँदै अम्पायरलाई यसको उजुरी गरे । पोन्टिङले एउटै खेलमा राजस्थानले पाँचजना विदेशी खेलाडी प्रयोग गरेको आरोप लगाएका थिए ।

सोही कारणले खेल केही समय अवरुद्ध हुन पुग्यो । राजस्थानका खेलाडीले भने पोन्टिङको उजुरीको प्रतिवाद गरेका थिए । राजस्थानले आफूले एकैपटक चारजना विदेशी खेलाडी प्रयोग नगरेको दाबी गर्‍यो । 

विवाद बढ्दै गएपछि दुबै पक्षका खेलाडी र अम्पायर नितिन मेनन मिलेर छलफलबाटै समाधान खोज्ने प्रयास गरे । सहमतिपछि पोवेललाई फिल्डरका रुपमा स्वीकार गरियो र खेल पुनः अगाडि बढ्यो । तर, दिल्लीका प्रशिक्षक पोन्टिङको चित्त अझै बुझेको थिएन ।

त्यसपछि पोन्टिङले फोर्थ अम्पायरलाई गुहारे । दुई बलपछि नै खेल फेरि रोकिन पुग्यो । अनि फोर्थ अम्पायरले पोन्टिङलाई सम्झाउन दुबै टोलीको खेलाडीको सूचि मगाए । राजस्थानले एकैपटक मैदानमा चारजना विदेशी खेलाडी प्रयोग नगरी एउटा विदेशी खेलाडीका स्थानमा अर्का विदेशी खेलाडीलाई फिल्डिङ गर्न लगाएको कुरा पनि फोर्थ अम्पायरले पोन्टिङलाई सम्झाए । 

फोर्थ अम्पायरले पोन्टिङलाई रोभमन पोवेल एउटा विदेशी खेलाडीको ‘सब्सटिच्यूट’ बनेर फिल्डरको रुपमा आएको बताएपछि खेल पुनः अगाडि बढेको थियो । आईपीएल क्रिकेटमा ‘इम्प्याक्ट खेलाडी’ को नियम सन् २०२३ को संस्करणदेखि सुरु भएको हो । 

‘सब्सटिच्यूट’ खेलाडीको तुलनामा ‘इम्प्याक्ट खेलाडी’ को अधिकार बढी हुन्छ । ‘सब्सटिच्यूट’ खेलाडीले फिल्डिङमात्र गर्न पाउँछ । जबकी ‘इम्प्याक्ट खेलाडी’ ले बलिङ र ब्याटिङ पनि गर्न पाउने नियम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप