सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंग्लुरुमाथि कोलकाताको रवाफिलो जित

शनिबार, १७ चैत २०८०, ०५ : ४८
शनिबार, १७ चैत २०८०

बैंग्लुरु । इन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो ।

बैंग्लुरुले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य कोलकाताले मात्र ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पछ्यायो । कोलकाताका लागि वेंकटेश ऐयरले ३० बलमा सर्वाधिक ५० रनको योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए ।

ओपनरद्वय फिल साल्ट र सुनिल नरेनले कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । साल्टले २० बलमा ३० रन बनाए भने सुनिलले मात्र २२ बलमा ४७ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान श्रेयर ऐयरले नटआउट रहँदै ३९ रन तथा रिंकु सिंहले ५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बैंग्लुरुका लागि यश दयाल, मंयक डगर र विजयकुमारले १–१ विकेट हात पारे ।

kohli

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले विराट कोहलीको शानदार ८३ रनको इनिङ्सको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । कोहलीले मात्र ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै, क्यामरुन ग्रिनले ३३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । दिनेश कार्तिकले रनआउट हुनअघि २० रन बनाए । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले २–२ विकेट तथा सुनिल नरेनले १ विकेट लिए ।

दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप