सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँका जनताको घरको धारामा पानी होइन, गनाउने ढल आउँछ : सांसद पराजुली

सोमबार, १९ चैत २०८०, १२ : २८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौँमा खानेपानी वितरणमा समस्या देखिएको बताएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौँका जनताको घरको धारामा पानी नआइ मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको बताए ।

‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ। संविधानको भाग ३ मा मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको वाक्यांश हो यो। तर, गणतन्त्र नेपालको सङ्घीय राजधानी काठमाडौँका जनताको घरको धारामा पानी होइन । मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउँछ,’ उनले भने ।

सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य भएको उनको भनाइ छ । ‘यो कस्तो विडम्बना हो ? झन्डै ३५ अर्बभन्दा बढी खर्च गरिसकेको मेलम्ची परियोजनाको केयुकेएल अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथ भित्र ८० प्रतिशत खानेपानी वितरण प्रणालीको काम सम्पन्न गरी खानेपानी वितरण प्रक्रिया सुरु गरेको भन्छ ,’ सांसद पराजुलीले भने । 

तर अधिकांश क्षेत्रमा नयाँ वितरण प्रणालीबाट पानी वितरण हुन नसकेको भन्दै पुरानो वितरण प्रणालीको मर्मत सम्भार पनि नभएको उनको भनाइ छ । ‘यो व्यवस्थापकीय कमजोरी हो या प्राविधिक लापरबाही ? यो दुर्दशाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाएको जानकारी यथाशीघ्र यस सम्मानित सदनमा गराउनेछ भन्ने आशा राख्दछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप