मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

सोमबार, १९ चैत २०८०, १२ : ४६
सोमबार, १९ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ । भारतका विभिन्न सहरमा आईपीएलका खेलहरु भइरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने राष्ट्र भारतमा आईपीएललाई पनि विशेष पर्वकै रूपमा लिन्छन्, समर्थकहरू ।

यसैक्रममा आईपीएलको एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोलीका समर्थकले एक ६३ वर्षीय व्यक्तिको हत्या गरेका छन् । यो घटना सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिचको खेलका क्रममा भएको थियो ।

हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत टिबिले नामक व्यक्तिको हत्या गरिएको हो । बांडुपंत हैदराबादका समर्थक थिए र मुम्बईका समर्थकले उनको हत्या गरेको समाचारमा जनाइएको छ ।

उक्त खेलमा दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान रोहित शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माद्वारा क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।

रोहित शर्मा मुम्बईका पूर्वकप्तान पनि हुन् । उनले हालसम्म सर्वाधिक पाँचपटक मुम्बईलाई आईपीएलको उपाधि चुमाएका छन् । उक्त अप्रिय घटना कोल्हापुरको हनमंतवाडी क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीकाअनुसार, बलवंत झांझगे र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर एउटा घरमा मुम्बई र हैदराबादबिचको खेल हेरिरहेका थिए । यी दुवै मुम्बई इन्डियन्सका समर्थक थिए । पहिले ब्याटिङ गरेको हैदराबादले विशाल रन बनाएपछि मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए ।

त्यसमाथि सबैभन्दा सफल र अनुभवी खेलाडी आउट भएपछि त मुम्बईका समर्थकहरू झनै आक्रोशित बनेका थिए । रोहित आउट हुनासाथ हैदराबादका समर्थक बांदुपंत पनि खुसीयाली मनाउँदै त्यहाँ पुगे । रोहित शर्मा नै आउट भएपछि मुम्बईको हार निश्चित भयो भन्दै उनी खुसीयाली मनाउँदै थिए ।

त्यसपछि मुम्बईका आक्रोशित समर्थक बलवंत र सागरले बांदुपंतमाथि अचानक आक्रमण गरे । उनीहरुले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएका थिए । खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीय प्रहरीले सामान्य विषयलाई लिएर यति ठुलो घटना भएकोमा आफूहरू पनि आश्चर्यचकित भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप