मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनमाथि ८० करोड हिनामिना गरेको आरोप

बिहीबार, २२ चैत २०८०, २२ : ५२
बिहीबार, २२ चैत २०८०

बारा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ ।

पेट्रोलियम व्यवसायी संघ नेपालले विज्ञप्ति जारी गर्दै आन्तरिक ढुवानी बिमाको नाममा २०६८ सालदेखि पेट्रोलियम डिलर्स एशोसिएशनले कागजको चिर्कटोमा बिमाको रकम काट्दै आएको र सो रकम बिमा कम्पनीमा जम्मा नगरेको आरोप लगाएको छ ।

पेट्रोलियम व्यवसायी संघ नेपालका महासचिव आत्मराम थापाले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत सङ्कलन गरेको रकममध्ये ८० करोडभन्दा धेरै हिनामिना गरेको आरोप लगाएका छन् ।

1

‘आर्थिक अनियमितताको आरोप होइन, हामीसँग तथ्य–प्रमाणसहित छ, हामीले २०६८ सालदेखि बिमाबापत तिर्दै आएको रकम बिमा कम्पनीको खातामा जम्मा भएको छैन,’ उनले भने, ‘विश्वास नलागे वार्षिक प्रतिवेदन हेर्न सक्नुहुन्छ । यसमा गम्भीर ढङ्गले छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

पेट्रोलियम व्यवसायी संघले गत साता जारी गरेको विज्ञप्तिमा धेरै वर्षदेखि ढुवानी बिमाको नाममा कागजको चिर्कटोमा रकम उठाउने र उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखापरीक्षण गर्दा बेरुजु देखिने र ठुलो रकम अपचलन, अनियमितता भइ भ्रष्टाचार भएको उल्लेख छ ।

आयल निगमबाट लोड भएर निस्किएको ट्याङ्कर कतै दुर्घटना, आगलागी भएमा क्षतिपूर्तिका लागि अनिवार्य बिमाको व्यवस्था गरिएको छ । जसअन्तर्गत पम्प सञ्चालकहरूले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत वार्षिक लाखौँ रुपैयाँ एशोसियसनलाई बुझाउँदै आएका छन् ।

एशोसिएशनले हालसम्म ८३ करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको उजुरीपत्रमा उल्लेख छ । यसका साथै मूल्य अभिवृद्धि कर र अन्य करसमेत छलेको आरोप लगाइएको छ ।

पेट्रोलियम व्यवसायी संघ नेपालकी कोषाध्यक्ष सीता केसीले ढुवानी बिमाको नाममा वार्षिक लाखौँ रुपैयाँ बुझाए पनि त्यसको हिसाबकिताब करमा नदेखाउँदा आन्तरिक राजस्व कार्यालयले बर्सेनि ठुलो रकम  बेरुजुमा देखाउने गरेको बताएकी छन् ।

2

‘एशोसिएशनले व्यवसायीको हकहितको लागि काम गर्छु भनेर हामी व्यवसायीबाट उठाएको करोडौँ रकम भ्रष्टाचार गरेको छ, यो पैसा कहाँ छ भनेर छानबिन होस् भन्ने हाम्रो मुख्य माग हो,’ केसीले भनिन्, ‘आयल निगमको प्रतिवेदनमा हाम्रो वार्षिक कारोबार १४ करोड देखिएको छ, एशोसिएशनले वार्षिक ३ करोडमात्रै कारोबार भनेर देखाएको छ । वार्षिक बाँकी १० करोडका दरले अहिलेसम्मको हाम्रो पैसा कहाँ गयो भन्ने हिसाबकिताब सार्वजनिक गर्नुप¥यो ।’

नेपाल आयल निगमले मार्गस्थल बिमाशुल्क अन्तर्गत डिजेलका लागि प्रतिलिटरमा ०.०७ रुपैयाँ, पेट्रोलका लागि प्रतिलिटरमा ०.०६ रुपैयाँ र मट्टितेल प्रतिलिटरमा ०.०७ रुपैयाँ बिमाशुल्क तोकेको छ । तर पेट्रोलियम डिलर्स एशोसिएशनले उक्त दरभन्दा बढी शुल्क उठाएर रकम अपचलन गरेको कोषाध्यक्ष केसीको भनाइ छ ।

बिमाको नाममा उठाएको रकम पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केही सीमित पदाधिकारीको मिलेमतोमा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बिमा समिति, नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सङ्घीय संसदको लेखा समितिलाई आवश्यक छानबिन र कार्बाही गरिपाउँ भन्दै उजुरी परेको छ ।

3

‘आम उपभोक्ताबाट ढुवानी बिमाको नाममा उठाएको ठुलो रकमको सम्बन्धमा पेट्रोलियम व्यवसायीहरू नै बदनाम हुनेगरी चर्चा भएकाले यस सम्बन्धमा आवश्यक छानबिनका लागि एशोसिएशनका वर्तमान पदाधिकारीले राजीनामा दिई बाटो खुला गरिदिनु पर्छ,’ पेट्रोलियम  व्यवसायी संघ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाल देशभर २ हजार १ सय पेट्रोल पम्प छन् । जसमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनसँग १ हजार ६०० पम्प आवद्ध छन् भने पेट्रोलियम व्यवसायी संघ नेपालसँग २ सयभन्दा बढी पेट्रोल पम्प आवद्ध रहेको कोषाध्यक्ष केसीले जनाइन् ।

‘नयाँ संस्था गठन भएपछि हामीले निको बिमा कम्पनीमार्फत भ्याटमा बिल काट्न सुरु गरेका छौँ, अहिले देशभर ९ ठाउँबाट भ्याट बिल काट्न सुरु भएको छ,’ उनले भनिन् ।

एशोसिएशन आर्थिक अनियमिततामा मुछिएपछि २०८० असार ११ गते पेट्रोल पम्प सञ्चालकहरूले अर्को समानान्तर संस्था दर्ता गरेको  संस्थाका महासचिव आत्मराम थापाले जनाए ।  

यता नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले विगतमा संस्था भ्याटमा जान आवश्यक नभएकाले एशोसिएशन आफैँले रसिद काट्दै आएको बताए ।

‘हामीमाथि ठुलो आर्थिक अनियमितताको आरोप लागेको छ, यसमा छानबिनपछि आरोप पुष्टि भए हामी कानुन बमोजिम कार्बाही भोग्न तयार छौँ,’ अध्यक्ष प्रधानले भने, ‘अहिले हामीले पनि बिमा कम्पनी मार्फत ढुवानी बिमा बापत रसिद काट्न सुरु गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप