मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
तेस्रो लगानी सम्मेलन

कस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना ?

९ खर्ब लागतका परियोजनामा आशयपत्र मागिँदै
बुधबार, २८ चैत २०८०, ०६ : १५
बुधबार, २८ चैत २०८०

काठमाडौँ । लगानी बोर्डले वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजना टुङ्ग्याउने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । दुई दिने सम्मेलन सुरु हुन तीन साता मात्रै बाँकी रहँदा लगानीकर्ता समक्ष प्रस्तुत गरिने परियोजना करिब–करिब टुङ्गो लगाएको हो ।

बोर्डका अनुसार लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि १२५ वटा परियोजना छानिएका छन् । यी परियोजनामा १० प्रतिशतसम्म थपघट हुन सक्छ । बोर्डले सम्मेलनमा प्रस्तुत गर्न तयार पारेका परियोजना विभिन्न ९ चरणमा बाँडिएका छन् । सम्मेलनमा सहभागिता जनाउने स्वदेशी–विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गरिने परियोजनालाई ९ चरणमा विभाजन गरिएको हो ।

लगानीकर्ता समक्ष प्रस्तुतका लागि छानिएकामध्ये ४ वटा आयोजनाको विकास सम्झौता (पीडीए) हुनेछ । यो आयोजनालाई अघि बढाउनका लागि अन्तिम चरणको सम्झौता हो । विकासकर्ता र लगानी बोर्डबिच ४ वटा आयोजनाको पीडीए हुने गरी आयोजना तयार भएका छन् । पीडीए हुने चरणमा रहेका आयोजनाहरूको सूचीमा चीन–नेपाल फ्रेण्डसीप इन्डष्ट्रियल पार्क अग्रस्थानमा छ ।

अप्पर मर्स्याङ्दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी वृद्धि परियोजना पीडीएका लागि छानिएका अन्य आयोजना हुन् । बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए । यस्तै सम्मेलनमा २० परियोजना आशयपत्र माग्दै प्रस्तुत गरिँदैछ ।

लगानीको सम्भाव्यता देखिएका ६ परियोजना, पहिचानको चरणमा रहेका ३३ परियोजना, वित्तीय सुनिश्चितताका चरणमा रहेका २० र निजी लगानीमा बन्ने गरी अघि बढेका १८ परियोजना प्रस्तुत हुँदैछन् । यस्तै निजी क्षेत्रका छाता संगठन र अन्य संस्थाले पहिचान गरेका १२ परियोजना र अन्य १२ गरी १२५ परियोजना लगानी सम्मेलनका लागि छानिएका हुन् ।

‘यी परियोजना विभिन्न चरणमा छन् । यसमध्ये ४ वटा पीडीए चरणमा छन्,’ बोर्डका अधिकारीले भने, ‘२० वटा परियोजनामा आशयपत्र मागिँदै छ ।’

२० परियोजनामा आशयपत्र मागिँदै
बोर्डले प्रस्तुत गर्नेमध्ये २० परियोजनामा लगानीका लागि इच्छुक लगानीकर्ता समक्ष आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग्दैछ । अर्थात् छनौट भएका परियोजनामध्ये कुनैमा लगानीका लागि इच्छुक भएमा सम्मेलनमा सहभागी स्वदेशी–विदेशी लगानीकर्ताले आशयपत्र दिन सक्छन् । आशयपत्र दिनुको अर्थ बोर्डले प्रस्तुत गर्ने परियोजनामा लगानी गर्न आफू वा आफ्नो संस्था, फर्म वा कम्पनी इच्छुक छ भन्नु हो ।

तर लगानीका लागि तयार हुँदै आशयपत्र दिइनु परियोजना अघि बढ्ने निश्चित हुने भने होइन । बोर्डका संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त आशयपत्र आउनुको अर्थ आयोजना अघि बढ्ने चरणमा प्रवेश हुनु बताउँछन् । ‘आयशपत्र आह्वान गरिँदैमा र लगानीकर्ताले आशयपत्र हाल्दैमा आयोजना बन्छ भने निश्चित हुँदैन,’ पन्तले भने, ‘आशयपत्र आइसकेपछिका अन्य धेरै चरण हुन्छन् ।’

हालसम्म विश्वभरका साढे २ दर्जन देशका (नेपालसहित) करिब २०० लगानीकर्ताले सम्मेलनमा सहभागिताको प्रतिबद्धता जनाइसकेका छन् । जसमा अमेरिकाका लगानीकर्ता धेरै छन् । यसपछि भारत र चीनबाट सम्मेलनमा सहभागिताको प्रतिबद्धता धेरै आएको छ । सम्मेलनमा सहभागिता जनाउने तीनै लगानीकर्तासमक्ष बोर्डले छानेका परियोजना प्रस्तुत गरिन्छ ।

सम्मेलनमा परियोजनाको अनुमानित लागत, निर्माण अवधि र निर्माणपछि दिने अनुमानित प्रतिफलसमेत उपलब्ध गराइन्छ । परियोजना र परियोजनाबाट हुने आम्दानी लगायत पक्ष मन परेपछि लगानीकर्ताले सो आयोजनामा लगानीका लागि इच्छा प्रकट गर्छन् । बोर्डले २० वटा परियोजनामा आशयपत्र आह्वान गर्ने गरी तयारी अघि बढाइरहेको छ ।

जसमध्ये जलविद्युत आयोजनाको बाहुल्यता छ । आशयपत्र आह्वानका लागि छानिएका २० परियोजनामध्ये १० परियोजना जलविद्युत उत्पादनसँग मात्रै सम्बन्धित छन् । यो ५० प्रतिशत हो । आशयपत्र आह्वानलाई छानिएका परियोजनाको यो प्रारम्भिक सूचीमा एक–दुई परियोजना थपघट समेत हुन सक्छन् ।

यी हुन् आशयपत्र आह्वान गरिने परियोजना
qmस्रोत – लगानी बोर्ड, नेपाल
जलविद्युतको बाहुल्यता
सम्मेलनमा प्रस्तुत गर्न तयार पारिएका १२५ परियोजनामध्ये ३६ वटा जलविद्युत, सोलार, फास्ट चार्जिङ स्टेसन र प्रसारणलाइनसँग सम्बन्धित छन् । यसको अर्थ आगामी लगानी सम्मेलन जलविद्युतमय बन्दैछ । सम्मेलनका लागि तयार पारिएका कूल परियोजनामध्ये २८ प्रतिशत जलविद्युत उत्पादन, सोलार उत्पादन र प्रसारणलाइनसँग सम्बन्धित छन् । जलविद्युत उत्पादन (एक सोलारसहित)का लागि मात्रै २२ परियोजना छन् भने १० परियोजना प्रसारणलाइन निर्माण सम्बन्धी छन् । 

यस्तै समान एक–एक वटा वायु ऊर्जा उत्पादन र फास्ट चार्जिङ स्टेसन परियोजना छन् भने २ वटा उत्पादनम क्षमता नखुलाइएका जलाशययुक्त परियोजना छन् । केबलकार निर्माणसम्बन्धी ३ परियोजना छन् । यस्तै, मेट्रो परियोजना ३, बहुउद्देश्यीय पार्किङ, उत्पादनमूलक उद्योग, एक्सप्रेस वे, सुरुङ मार्ग, होटल तथा रिसोर्ट लगायतका परियोजना समेत सम्मेलनमा प्रस्तुतका लागि छानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप