‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
सारांश
- नेपाली कांग्रेसले क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक गर्न नमानिरहेका देउवा र शेखर समूहका सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिदिने तयारी गरेको छ ।
- सदस्यता अद्यावधिकका लागि यसअघि पटकपटक म्याद थपिए पनि देउवा र कोइराला समूहका नेता-कार्यकर्ताले अद्यावधिक नगरेपछि थप एक साताको समय दिइएको छ ।
- महामन्त्री पौडेलले पार्टीभित्रको आन्तरिक राजनीतिक विवाद मिलाउने प्रयास भइरहेको र जेठ अन्तिमसम्म सहमति जुट्ने अपेक्षा व्यक्त गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्न नमानिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिदिने तयारी गरेको छ ।
देउवा र शेखर समूहका नेताहरू तथा उनीहरूनिकट सदस्यहरूले १५औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेको सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्न आनाकानी गरेपछि पुनः म्याद थपिएको छ । सदस्यता अद्यावधिक गर्न समितिले पहिलो पटक वैशाख १ गतेदेखि वैशाख मसान्तसम्मको समय दिएको थियो ।
उक्त समयमा नसकिएपछि २१ दिन बढाएर जेठ २१ गतेसम्म पुर्याइएको थियो । सो अवधिमा पनि देउवा र कोइराला समूहका नेता–कार्यकर्ताले अद्यावधिक नगरेपछि जेठ २८ गते रातिसम्म म्याद बढाइएको छ । बिहीबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले इतर समूहका नेता र कार्यकर्ताको सदस्यता अद्यावधिकलाई लक्षित गर्दै थप एक साता समय बढाएको हो ।
सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले इतर समूहका नेताहरूको सदस्यता अद्यावधिक गर्नकै लागि एक साताको समय थपिएको जानकारी दिए । ‘पार्टीभित्र आन्तरिक विवाद छ । त्यही विवादको असर क्रियाशील सदस्यता अद्यावधिकमा परेको छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘त्यो राजनीतिक विवाद हो । सदस्यता भनेको निरन्तर चलिरहने प्रक्रिया हो । तर, यहीसँग जोडिएपछि विवाद मिलाउन र सबैको क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि हामीले एक साता समय थपेका छौँ ।’
'इतर समूहका नेताहरूले त १५औँ महाधिवेशनका लागि पुसमै क्रियाशील सदस्यता नवीकरण गरिसकेको बताउँदै अहिले अद्यावधिक नगर्ने भनिरहनुभएको छ नि ?' भन्ने प्रश्नमा महामन्त्री पौडेल भन्छन्, ‘उहाँहरूको सदस्यता अद्यावधिक गर्नकै लागि समय थपेका हौँ । हामी हाम्रा वरिष्ठ नेताहरूलाई आग्रह गर्छौँ । उहाँहरू वडा–वडामा र केन्द्रीय कार्यालयमा अद्यावधिक गर्न आउनुभएन भने हामी आफैँ गरिदिन्छौँ । राजनीतिक विवाद आफ्नो ठाउँमा छ । जीवनभर पार्टीका लागि भनेर हिँड्नुभएका नेताहरूलाई अद्यावधिक प्रक्रियाबाट बाहिर राख्दैनौँ ।’
१४औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले थापाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि देउवा र शेखर समूह विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै त्यसबाट आएको समितिलाई मान्यता नदिन माग राखेर निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेका थिए । तर, आयोग र सर्वोच्चले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समितिलाई नै मान्यता दिएपछि विवाद झन् बढेको थियो ।
त्यसपछि गत पुस १० गतेसम्म पार्टीको १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरेका सदस्यहरूले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने निर्णय विशेष महाधिवेशनबाट आएको कार्यसमितिले गरेको थियो । उक्त निर्णय मान्य नहुने देउवा र शेखर समूहका नेताहरूले बताउँदै आएका छन् । उनीहरूले १५औँ महाधिवेशनका लागि भन्दै सदस्यता नवीकरण गरिसकिएकाले अद्यावधिकलाई अनिवार्य नगर्न आग्रह गर्दै आएका छन् ।
अहिलेसम्म निवर्तमान कार्यसमितिका सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठोर, बद्री पाण्डे, पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशाङ्क कोइरालासहितका अधिकांश सिनियर नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन् । उनीहरूको सदस्यता समिति आफैँले अद्यावधिक गरिदिने बताएको हो ।

‘आफैँले अद्यावधिक गरिदिएर भए पनि वरिष्ठ नेताहरूको सदस्यता सुरक्षित राख्छौँ । पार्टीमा उहाँहरूले अहिलेसम्म पुर्याउनुभएको योगदानको हामी कदर गर्छौँ,’ महामन्त्री पौडेलले भने ।
देउवा समूहका नेता एवं पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले पुससम्म नवीकरण गरेका सबैको ‘डिजिटल्ली अद्यावधिक’ गरेमा आफूहरूलाई आपत्ति नहुने बताए । तर, आफैँ पुगेर अद्यावधिक गर्नुपर्ने सर्त राखेर कसैको गर्ने र कसैको नगर्ने कुरा आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।
‘नवीकरण गरेका सबै सदस्यलाई स्वीकार गरेर सबैको अद्यावधिक गर्दा हाम्रो आपत्ति छैन । जिल्ला र वडाले कटाएको बाहेक सबैको अद्यावधिक हुनुपर्यो,’ डा. महतले रातोपाटीसँग भने, ‘तर, अधिवेशनमा भाग लिनका लागि अद्यावधिकलाई पूर्वसर्त राख्न भएन । स्वतः सबैको गरिदिनुपर्यो ।’

उनले अनिवार्य सर्त राख्ने विषय आफूहरूलाई मान्य नहुने बताए । ‘डिजिटल नगर्नु भनेको होइन, तर गर्न नआउनेको हुँदैन, आएर गर्यो भने मात्र हुन्छ भन्ने भनाइको विरोध गरेको हो,’ डा. महतले भने, ‘नेताको मात्रै अद्यावधिक गरिदिएर भएन, नवीकरण गरेका सबैको गरिदिनुपर्यो । पछि अद्यावधिक गर्न आएनस्, त्यसैले अधिवेशनमा भाग लिन पाउँदैनस् भन्न भएन ।’
१५औँ महाधिवेशनका लागि भन्दै गत पुस १५ गतेसम्म कांग्रेसका ५ लाख ९० हजार जनाले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । अहिले देउवा र शेखर समूहले अद्यावधिक नगर्दा त्यो सङ्ख्या घटेको छ । महामन्त्री पौडेलले अद्यावधिक गर्नेको सङ्ख्या ४ लाख काटेको जानकारी दिए । थपिएको समयभित्र गत पुसमा नवीकरण भए जति सबै सदस्यको सदस्यता अद्यावधिक भइसक्ने दाबी महामन्त्री पौडेलले गरे ।
पौडेलले सदस्यता अद्यावधिकसँगै पार्टीभित्र देखिएको आन्तरिक राजनीतिक विवाद मिलाउने प्रयास पनि भइरहेको र त्यो प्रयासले जेठ अन्तिमसम्म सार्थकता पाउनेमा आफू आशावादी रहेको बताए । क्रियाशील सदस्यता प्राविधिक विषय भएको र राजनीतिक विषय अर्को रहेको भए पनि त्यो क्रियाशील सदस्यतासँग जोडिएकाले एकै पटक समस्याको समाधान गर्ने प्रयास भइरहेको महामन्त्री पौडेलले बताए । त्यसका लागि संस्थापन र इतर समूहका नेताहरूबिच वार्ता भइरहेको उनको भनाइ छ । ‘शीर्ष तहमा विवाद मिलाउने प्रयास भइरहेको छ । नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ,’ पौडेलले भने, ‘जेठ अन्तिमसम्म सहमति जुट्ने अपेक्षामा हामी छौँ ।’

नेता रमेश लेखकको पहलमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच पछिल्ला दिनमा निरन्तर अनौपचारिक वार्ता भइरहेको छ ।
नेता लेखकले आफ्नो पहलमा खड्का र शर्माबिच अनौपचारिक वार्ता भइरहेको स्वीकारे । आफूले पार्टी विवाद समाधानका लागि खड्का र शर्माबिच छलफलको समन्वय गरिदिने काम गरेको लेखकको भनाइ छ । ‘पार्टीको विवाद समाधानका लागि वार्ता गर्नुपर्छ, छलफल गर्नुपर्छ भनेर पूर्ण दाइ (पूर्णबहादुर खड्का) र विश्वजी (विश्वप्रकाश शर्मा)बिच समन्वय गरिदिने काम गरेको हुँ,’ लेखकले रातोपाटीसँग भने, ‘अनौपचारिक वार्ताहरू भइरहेका छन् । म वार्तामा भने बसेको छैन । छलफलहरू सकारात्मक भएको बुझेको छु ।’ लेखक देउवा समूहका नेता हुन् । उनी निवर्तमान सभापति देउवाका विश्वासपात्रका रूपमा परिचित छन् ।
विवाद समाधानका लागि भन्दै सभापति थापाले गत वैशाखमा खड्का र डा. कोइरालालाई उनीहरूकै निवासमा पुगेर भेटेका थिए । सभापति थापाले खड्कालाई दुई पटक र डा. कोइरालालाई एक पटक भेटेका थिए ।
सभापति थापाले गत वैशाख ६ र २३ गते निवर्तमान कार्यवाहक सभापति खड्कालाई भेटेका थिए भने वैशाख २२ गते नेता डा. कोइरालालाई पनि भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण