बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी समायोजनलाई मूर्त रूप दिन छलफललाई तीव्र पारेका छौँ : उपप्रधानमन्त्री लामिछाने

बुधबार, २८ चैत २०८०, १९ : १८
बुधबार, २८ चैत २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रूप दिनका लागि छलफल तीव्र पारिएको बताएका छन् ।  

जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भीर भएर छलफललाई तीव्र पारिएको बताएका हुन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहेको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटि बिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे । प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरूसँग दुई चरणको छलफल समेत भइसकेको उनले बताए । यद्यपि यकिन गरेर कहिले प्रहरी समायोजन कहिले हुन्छ ? भन्ने विषयमा भन्न नसकिने उनको भनाई थियो ।

उनले भने, ‘प्रहरी समायोजनको ड्राफ्टमा काम भएको छ । मैले पदभार सम्हालेपछि त्यसलाई छलफलको विषय पनि हामीले बनाएका थियौँ । यसमा हामीले मन्त्रालयमा वृहत् छलफल पनि गरेका छाँै । गत हप्ता पनि छलफल गरेका थियौँ । त्यसमा केही काम गर्नुपर्ने ठाउँहरू अवश्य रहेका छन् । सरकारको काम कारबाही भनेको अविच्छिन्नता पनि हो । का आउँछ, को जान्छ त्यो ठुलो कुरा भएन । त्यसमा काम गर्ने ठाउँहरू थुप्रै छन् । निरन्तर रूपमा अघि बढाउने कुरामा हामी छलफल गरिरहेका छौँ । हामीले स्पष्ट भनिसक्यौँ, हामीले आरोप लाग्ने बित्तिकै, उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गरौँ भनेर एक स्टेप माथि गएर भनिसकेका छाँै । कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गरौँ भनेर स्पष्ट भनिसकेका छौँ ।’

गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्ने बित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताए । उनले नेपाली कांग्रेसले राजीनामा माग गरेको र संसद् अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा कांग्रेसको माग भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक कदम अघि बढेर उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए । कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए । 

गोष्ठीमा स्थानीय प्रशासनले कानुन कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मातहतका निकायहरूबिचको समन्वयलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप