शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई पत्रकार भैरव रिसालले सोधे– सरकारी अड्डामा मासु बेच्न पाइन्छ ?

शुक्रबार, ३० चैत २०८०, ०० : ००
शुक्रबार, ३० चैत २०८०

‘सक्रियता हो जीवन,’ वरिष्ठ पत्रकार भैरव रिसालले छोटो जवाफमा ठुलो दर्शन भने । 

यति भन्न उनलाई दुई सेकेन्ड पनि लागेन होला । जीवनका ९५औँ वसन्तमा हिँड्दै गरेका उनी यही ठुलो दर्शनमा बाँचिरहेछन् । पत्रकारिताप्रतिको उनको सक्रियता लोभलाग्दो छ । अझै पनि उनी रेडियोमा बोल्छन्, पत्रिकामा आलेख छाप्छन् । ‘भोलि (मंगलबार) रेडियो सगरमाथाको कुरोकन्थो कार्यक्रममा बोल्नुपर्छ,’ २०७९ साल कात्तिक पहिलो साताको भेटमा भक्तपुरबाट प्रकाशित हुने ‘मजदुर दैनिक’को विचार पृष्ठ देखाउँदै उनले भनेका थिए, ‘यसमा साताको एउटा आलेख पनि लेख्छु ।’ 

यो पत्रिका नेपाल मजदुर किसान पार्टीसँग सम्बन्धित छ । यस पार्टीमा भैरवले सुरुवात (२०२८ साल) देखि अहिलेसम्म आस्था राख्दै आएका छन् । ‘अझै पनि मैले भोट हाल्ने यही पार्टीलाई हो,’ उनी आफ्नो राजनीतिक आस्था र अडान व्यक्त गर्छन्, ‘अहिले कुनै पदमा रहेर सक्रिय छैन ।’ 

०४८ सालको आमनिर्वाचनमा भैरव यही पार्टीबाट भक्तपुर–२ को उम्मेदवार बनेका थिए, हार बेहोर्नुपर्‍यो । भैरवले कम्युनिस्ट विचारधारा बोकेको भने २००८ सालदेखि हो । 

उनले पत्रिकामा लेख्न थालेको ६६ वर्ष भयो । जीवन गुजाराको बाटो खोज्दै जाँदा उनी पत्रकारिता पेसामा लागेका हुन् । ‘म पत्रकार हुन पत्रकार भएको होइन,’ भैरव भन्छन्, ‘जागिर खान पत्रकार भएको हुँ ।’

पत्रकार भैरव

०१३ सालमा भैरव हालखबर दैनिक पत्रिकामा संवाददाता हुन पुगे । कार्यालयले दिएको साइकल चढेर भैरवले सरकारी अड्डा–अदालत धाउँथे । पसलेदेखि मन्त्रीसम्मलाई भेटेर थिति–बेथिति टिपेर ल्याउँथे । पत्रकारितामा उनको उदय, उठान वा उडान सम्बन्धमा एउटा चर्चित प्रसंग छ, सरकारै हल्लाउने । जुन प्रसंग उनी प्रायः अन्तर्वार्तामा बडो चाखपूर्ण किसिमले सुनाउने गर्छन् ।  

एक दिन उनी डिल्लीबजारको चारखाल अड्डा भएर आइरहेका थिए । शनिबारको दिन थियो, हल्लाखल्ला सुने । पत्रकार भएपछि उनलाई जिज्ञासा भयो– सरकारी कार्यालयमा बिदाको दिन कस्तो खीर पाकिरहेछ ? त्यहाँका कर्मचारीले खसी काटेर मासु बाँड्दै रहेछन् । अफिस पुगेर उनले यही समाचार दिए । भोलिपल्ट समाचार छापियो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यबाट भैरवलाई बोलावट भयो । समाचारको विषयवस्तु र संवेदनशीलतालाई लिएर प्रधानमन्त्रीले भैरवलाई केरकार गरे । भैरवको सोलोडोलो जवाफ थियो– ‘सरकारी अड्डामा मासु बेच्न हुन्छ त ?’

उनको तर्कमा प्रधानमन्त्री सहमत भए । यसरी उनको पत्रकारिता सुरु भएको थियो । उतिबेला समाचारको मूल्य थियो, आफ्ना भ्रष्ट आचारसँग सरकार डराउँथ्यो । अचेल समाचारलाई सरकारले टेर्दैन, समाचार र सरकार दुवै सस्ता भएका छन् । सरकार होस् वा समाचार– बाँडफाँड र बिक्री हुन्छ, खसीको मासुजस्तै ।  

पहिले संस्कृत पढेकोले भन्दा अंग्रेजी पढेकोले बढी तलब खान्थ्यो । बराबर तलब कायम बनाउनका लागि २००९ सालमा ‘न्यून वैतनिक कर्मचारी संघ’को आन्दोलन चलेको थियो । त्यसमा संस्कृत छात्रसंघबाट सहभागी भएकाले भैरव केही दिन जेल परे । 

यसपछि लोकसेवाले २०१२ सालमा अस्थायी जागिर खोल्यो, भैरवले शाखा–अधिकृतमा नाम निकाले । तर कम्युनिस्ट पार्टीमा आस्था राख्ने थाहा पाएकाले राज्यले उनलाई जागिर दिएन । त्यतिबेला राज्यले कम्युनिस्ट पाल्दैन भनिएको थियो । 

गर्जो–गुजाराका लागि भैरव जागिरको खोजीमा थिए । भक्तपुरका पूर्णप्रसाद उपाध्याय (ढुंगेल), जो पछि दरबारमा जनसम्पर्क अफिसर भए, उनीसँग भैरवको चिनजान थियो, पूर्णप्रसादको सानो चिट लिएर उनी हालखबर दैनिक पत्रिकाको कार्यालय पुगे । रंगनाथ शर्मा प्रोप्राइटर र दाताराम शर्मा सम्पादक रहेको ‘हालखबर दैनिक’ त्यतिबेला चर्चित थियो । उनलाई मासिक सय रूपैयाँ तलब दिएर जागिरमा राखियो । त्यसैले भैरव दोहोर्‍याउने गर्छन्, ‘कुनै क्षेत्रमा जागिर नपाएकाले पत्रकार भएँ’ । यही शीर्षकमा ०५३ माघ २४ गते उनले श्रीसगमाथा दैनिकमा आलेख नै लेखेका छन् ।

आफूले जीवनभरि हासिल गरेको अनुभवका आधारमा भैरव आजका पत्रकारलाई के सुझाव देलान् ? ‘पत्रकार पत्रकार मात्रै हुनुपर्‍यो,’ भैरव संक्षिप्तमा भन्छन्, ‘अहिले पत्रकार धेरै थोक भए के ।’ प्रायः हरेक वाक्यको पछाडि उनले ‘के’ भन्ने गर्छन् । 

उनले स्रोतलाई गोप्य राख्थे, यसलाई उनी पत्रकारिताको महत्त्वपूर्ण सूत्र ठान्छन् । स्रोत गोप्य राखेकै कारण उनलाई समाचार दिने स्रोत बढ्दै गए । भैरव समाचार स्रोत बढाउने आफ्नो सूत्र बताउँछन्, ‘कतिपय सरकारी अड्डामा म समाचार लिन होइन, दिन जान्थेँ । फलानोको सरुवा भयो, बढुवा वा घटुवा भयो, फलानोलाई कारबाही भयो भनी सुनाएपछि उनीहरूले मलाई आफ्नो मान्छे सम्झन्थे र मलाई अरु सूचना दिन्थे ।’ 

हालखबरपछि भैरवले केही समय निजीस्तरको न्युज एजेन्सी ‘सगरमाथा संवाद समिति’मा काम गरे, त्यसपछि २१ वर्ष उनले राष्ट्रिय समाचार समिति (रासस)मा बिताए । राससमा उनी २०२० सालमा समाचारदाता भएर प्रवेश गरेका थिए, प्रमुख समाचारदाता हुँदै केही समय सम्पादक भई २०४१ सालमा राजीनामा गरे । ०४७ यता उनी गैरसरकारी संस्थाकोजागिर छाडी स्वतन्त्र पत्रकारका रूपमा सक्रिय छन् ।

पुरेत भैरव र एक ईख

भैरवको जन्म भक्तपुरको साबिकको गुन्डु गाविस, तिथली भन्ने ठाउँमा भएको हो । भैरवका बुवा (गोवद्र्धन) पुरेत थिए । जेठी श्रीमती योगमायाको हैजाका कारण निधन भएपछि गोवद्र्धनले दोस्रो विवाह गरे, गणेशकुमारी (तुलसी)सँग । भैरवलाई जन्म दिएको साढे तीन वर्षमा तुलसीको प्राण पनि हैजाले छिन्यो । 

हैजा लागेपछि भैरवकी आमालाई अस्पताल नलगेर आर्यघाट लगेछन्, तीर्थमा मरे मुक्ति हुन्छ भन्ने विश्वासले । गुन्डुबाट भक्तपुर अस्पताल वा वीर अस्पताल ल्याउन त्यति टाढा होइन । ‘मलाई थाहा छैन, त्यो बेलाको के चलन थियो, झाडापखाला लागेको मान्छेलाई घाट लैजाने,’ भैरव भन्छन्, ‘हैजा लागेपछि मेरी आमालाई आर्यघाट लगिएछ, आमा त्यहीँ बित्नुभएछ ।’

दोस्री श्रीमती पनि खसेपछि गोवद्र्धन गले, विक्षिप्त भएर भने, ‘जोगी हुन्छु ।’ 

दधिकोटका ढकालहरू उनका जजमान थिए, एक जजमानले सल्लाह दिए, ‘जोगी हुने कुरा नगर, छोरा छँदै छन्, बसाइँ सर ।’ 

गोवद्र्धन दधिकोटमा बसाइँ सरे । घरमै बाबुबाजेबाट अक्षर चिनेका गोवद्र्धनले रुद्री, श्राद्ध, अग्नि स्थापना (तुलसीको होम), मासिक, सत्यनारायणपूजा आदि पुरेत्याइँ गर्थे, तर गरुड पुराण लगाउन सक्दैनथे । आफ्नो जेठो छोराले गरुड पुराण लगाउन र लगन लेख्न सक्ने गरी पढोस् भन्ने उनको चाहना थियो । 

त्यतिबेला धनी बाहुनक्षत्रीको मृत्युमा गरुड पुराण लगाउने चलन थियो । गरुड पुराण लगाउँदा सात मोहर दाम, १३ माना चामल तसला (पकाउने भाँडो)मा राखेर पाइन्थ्यो, त्यो जमानामा यो दक्षिणा निकै आकर्षक थियो । जजमानका घरमा गरुड पुराण लगाउनुपरे गोवद्र्धनले नै पण्डित खोजिदिनुपथ्र्यो । त्यसैले गोवद्र्धनले छोराबाटै यस कामको अपेक्षा गरेका थिए । सात वर्षको उमेरमा व्रतबन्ध गरी घरमै अक्षर चिनेका भैरवले सानै उमेरदेखि जममानीमा पितालाई सघाउन थालेका थिए । 

उनको औपचारिक पढाइ भने १० वर्षको उमेरदेखि सुरु भयो । ‘लुभु भाषा पाठशाला’मा तोयानाथ न्यौपाने नाम गरेका पण्डितले पढाउँथे । भैरवका बाले ती पण्डितलाई भने, ‘मेरो छोरालाई कक्षा उत्तीर्ण हुने गरी पढाउनुपर्दैन, गरुड पुराण लगाउन र लगन लेख्न सक्ने बनाइदिए हुन्छ ।’

गुरुले भैरवलाई एकछिन नियालेर भने, ‘यो केटो चलाख छ, पास हुन्छ, गरुड पुराण पनि भन्छ ।’ यसरी भैरवले पाठशाला जाने अवसर पाए । पाठशालामा बिहान पढ्नुअघि र साँझ बिदा हुनुअघि हरेक दिन छात्रले गुरुको खुट्टामा ढोग्नुपथ्र्यो । त्यतिबेला छोरीहरूले पढ्ने चलन थिएन ।

कक्षा १ देखि ८ सम्म भैरवले त्यहीँ पढे । त्यसभन्दा माथि पढ्न काठमाडौं (रानीपोखरी संस्कृत पाठशाला) आउनुपथ्र्यो, काठमाडौंमा बसेर पढ्न सक्ने उनको आर्थिक अवस्था थिएन । 

उनी कक्षा ८ उत्तीर्ण भएकै साल उनको गाउँका एक धनी व्यक्तिले ५४ गोदान गरेका थिए । ५४ जना बाहुनलाई भोजन गराएर गाई दान गर्नुलाई ५४ गोदान भनिन्छ, तर गाईको नाममा पैसा दिइन्थ्यो । त्यहाँ दान लिने ५४ बाहुनमध्ये भैरव र उनका साथीहरू पनि थिए । उनीसँगै पास भएका तीन साथीमध्ये दामोदर नामका एक साथीले मात्रै काठमाडौंमा पढेका थिए । काठमाडौंमा पढ्ने साथीलाई भेटेपछि भैरवलाई जिज्ञासा भयो– माथिल्ला कक्षामा के कति किताब पढाइ हुँदा रहेछन् ? 

साथीले भैरवको जिज्ञासालाई हाँसेर उडाए । अर्थात्, साथीले भैरवलाई आफ्नो स्तरको ठानेनन् । त्यसपछि भैरवलाई ईख भयो, म जसरी पनि काठमाडौंमा पढ्छु । भनिन्छ, ईख नभएको मानिस र विष नभएको साँपको कुनै मूल्य हुँदैन । ईखले उक्ति र उपाय पनि देखाउँछ । भैरवका लागि एउटा उपाय थियो, जजमानी । भैरवका बुवाका आठ घर जजमान काठमाडौं खाल्डो र यस वरपर थिए– हाँडीगाउँमा दुई घर, कुपोन्डोलमा एक, पुतली सडकमा एक र कीर्तिपुरमा चार घर । भैरवले बालाई भने, ‘बा ! यी आठ घर जजमानलाई मैले भ्याउँछु, मलाई काठमाडौंमा बसेर पढ्न दिनुस् ।’ 

बाको आज्ञा पाएर २००३ सालमा भैरव काठमाडौंको ‘नेपाल राजकीय संस्कृत प्रधान पाठशाला’मा भर्ना भए । कक्षा ९ देखि सम्पूर्ण मध्यमा (प्रवीणता प्रमाणपत्र तह)को अध्ययन उनले यहीँबाट पूरा गरे । त्यहाँ संस्कृत पढ्नेले तीनधारा छात्रवासमा बस्न पाउँथे । तर भैरवले सुरुमै छात्रावास पाएनन् । एक वर्ष उनी कुपोण्डोल कानदेवताको थाननेर डेरा गरी बसे । ‘छात्रवासमा बस्न काँठेलाई प्राथमिकता दिइँदैनथ्यो,’ उनी भन्छन्, ‘म काँठको परेँ । दुःखैले पढियो, त्यो बेला झोला पनि हुँदैनथ्यो, धोतीमा पोको पारेर घरबाट चामल ल्याउँथे ।’ 

एक वर्षपछि छात्रवासमा ठाउँ खाली भयो, भैरवले छात्रवासमा बस्ने अवसर पाए । २००४ सालदेखि २०१५ सालसम्म उनी छात्रवासमै बसे । योबीचमा उनले जजमानी पनि गरे । एकपटक अन्य पण्डितको साथमा उनले गरुणपुराण पाठ गरेका थिए, तर अथ्र्याउन सकेनन् । ‘संस्कृत श्लोक पढेर अथ्र्याउनुपथ्र्यो,’ भैरव भन्छन्, ‘मैले सकिनँ, यसमा मलाई रुचि पनि भएन ।’

छात्रवासमा बसेरै उनले शास्त्री (स्नातक तह) गरे । तीन वर्षे आचार्यको अन्तिम वर्षमा ‘रसगंगाधर’ भन्ने पुस्तक पढ्नुपथ्र्यो । संस्कृत साहित्यशास्त्रमाथि लेखिएको यस मौलिक कृति भैरवका लागि भारी भयो, त्यसलाई पढेर जाँच दिने आँट उनले गरेनन् । ‘यो पुस्तकको परीक्षा दिँदा छन्दमा कविता लेख्नुपथ्र्यो,’ भैरव भन्छन्, ‘मलाई छन्द कविता आउँदैनथ्यो, परीक्षा दिने आँटै आएन ।’ 

तीन वर्षसम्म आचार्य पढेको तर उत्तीर्ण नभएका कारण उनले पहिले उपआचार्य लेख्थे, पछिपछि आचार्यकल्प लेख्न थाले । भैरव भन्छन्, ‘अरु जान्नेसँग सोध्या, आचार्यकल्प भन्ने हुन्छ भने, अनि आचार्यकल्प लेख्न थालेँ । तर, यसको खासै मान्यता छैन । जागिर खानलाई त मलाई शास्त्रीले पुग्थ्यो ।’  

कम्युनिस्ट भैरव

उनी विद्यार्थी छँदा देश क्रान्तिकारी परिवर्तनको संघारमा थियो । निरंकुश जहाँनियाँ राणाशासनको जञ्जिरबाट फुत्कन चेतनशील जनता जुर्मुराउँदै थिए । बिस्तारै उनी पनि राजनीतिक विचारधाराबाट प्रभावित हुन पुगे । सात सालको परिवर्तनपछि (२००८ सालमा) उनी संस्कृत छात्र संघ (यसमा सबै पार्टीका छात्र आबद्ध थिए) र कम्युनिस्ट पार्टीको ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’मा संलग्न भए । यसको लगत्तै उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पनि लिए । त्यतिबेला कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो । भैरव गोप्य रूपमा कम्युनिस्ट भए र गोप्य रूपमै पार्टीको काममा खटिए । उनी किन र कोबाट प्रभावित भएर कम्युनिस्ट बने ? ‘आफ्नो आर्थिक अवस्था कमजोर, कम्युनिस्ट पार्टीले गरिबलाई हेर्छ भन्ने थियो,’ भैरव भन्छन्, ‘त्यसैले म कम्युनिस्टको संगतमा पुगेको थिएँ ।’ 

२०१३ सालतिर माक्र्सवादी लेखक तथा प्रचारक गोविन्दप्रसाद लोहनीले टुँडिखेलमा हरेक साँझ कम्युनिस्ट विचारधाराबारे पढाउँथे । त्यहाँ कक्षा लिन भैरव पनि पुग्थे । 

संस्कृतका गुरुसँग पढ्ने भएकाले पार्टीले उनलाई जिम्मावारी दिएको थियो– गुरुहरूलाई सकेसम्म कम्युनिस्ट बनाउने, नसके कम्तीमा कम्युनिस्टको विरोधी नबनाउने । ‘गुरुहरू कम्युनिस्ट हुने त प्रश्नै आएन, उहाँहरू कम्तीमा कम्युनिस्टको विरोध नगर्ने हुनुभएको थियो, यही हाम्रा लागि उत्तम थियो ।’ 

गरुड पुराण लगाए मृतात्माले मुक्ति पाउँछन् भन्ने विश्वास थियो र छ । तर, भैरवले सर्वहाराको मुक्ति दिने ‘कम्युनिस्ट विचारधारा’ रोजे, राज्यलाई बेथितिबाट मुक्त गराउने पत्रकारितामा जमे ।

त्यतिबेला किसानहरू सोझा र अशिक्षित थिए । बाली, कुत, भर्पाइ, मोहियानी हक, जग्गाधनी आदि भनेको के हो भन्ने उनीहरूलाई थाहै हुँदैनथ्यो । पार्टीबाट किसान संंघको पनि जिम्मा पाएका भैरवले यस्तै कुरा किसानलाई पढाउनुपथ्र्यो । किसानलाई पढाउन उनले गोकर्ण, कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, किलागल, भेडासिंह आदि क्षेत्र पुग्थे । 

पार्टी प्रतिबन्धित भएकाले नेताहरू निस्कन मिल्दैनथ्यो । सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर मानव, पूर्णबहादुर एमए आदि कम्युनिस्ट समर्थक थिए, उनीहरूले कम्युनिस्ट सिद्धान्त र व्यवहारसम्बन्धी कक्षा दिन्थे । भैरवले कहाँ, कसले, कसलाई कक्षा दिने भनेर संयोजकको काम गरे । काठमाडौंका टोलटोलमा पनि कक्षा दिने व्यवस्था मिलाइएको थियो । भैरव भन्छन्, ‘प्रहरीसँग छलिँदै पार्टीका गतिविधि गथ्र्यौं ।’ 

उतिबेला यहाँका किसानले धान, मकै, गहुँ, तरकारी लगायत खेती गर्थे । पहिले काठमाडौंमा खेतैखेत थियो । भैरवले यहाँ ठाउँठाउँमा कुलो बगेको देखेका हुन् । त्यतिबेला काठमाडौंमा दिसापिसाब गर्नका लागि ठाउँठाउँमा सार्वजनिक पाइखाना हुन्थे । पाइखानाको खाल्डोमा जम्मा भएको दिसालाई पोडे लगायत जातिले उठाएर खेतसम्म पुर्‍याउँथे । यसरी दिसा उठाएर खेतीमा हालिदिएबापत उनीहरूले पैसा पाउँथे । 

०२८ सालसम्म आइपुग्दा कम्युनिस्ट पार्टी वैचारिक बेमेल र टुटफुटको अवस्थामा पुग्यो । त्यसपछि भैरव नेपाल मजदुर किसान पार्टीमा लागे । ‘यसमा ठुलो कारण छैन, पुष्पलालसँग सम्पर्क टुट्यो,’ भैरव भन्छन्, ‘त्यसपछि मेरो गृह क्षेत्र भक्तपुरबाटै उदाएको पार्टीमा लागेँ ।’ 

सदूरपश्चिम 

०१४ वैशाख १२ गते राजा महेन्द्र सुदूरपश्चिम भ्रमणमा गएका थिए । समाचार संकलनका लागि त्यस भ्रमण टोलीमा भैरव पनि थिए । विकट गाउँठाउँमा घोडामा गएकाले यसलाई भैरव घोडे–भ्रमण भन्न रुचाउँछन् । ठाउँठाउँमा राजाको दर्शन गर्न मान्छे जम्मा भएका हुन्थे । उनीहरूलाई दर्शन दिन राजा घोडाबाट ओर्लन्थे । राजधानीमा ‘काँठे’ भएर संघर्ष गरिरहेका भैरवका लागि सुदूरपश्चिमका जनताको अवस्था र चेतनास्तर हैरान बनाउने खालको थियो । भैरव भन्छन्, ‘हुनेखाने घरका आमा–हजुरआमाहरू आएर राजाको चरणको धुलो निधारमा लगाउँथे, राजाले टेकेका ठाउँमा ढोग्थे ।’ यी र यस्ता कतिपय प्रसंग उनले आफ्नो पुस्तक ‘उहिलेको नेपाल’मा समेत उल्लेख गरेका छन् ।

त्यस तेइसदिने राजकीय भ्रमण भैरवका लागि नौलो थियो । त्यतिबेला उनले कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका जनता अर्थात् वास्तविक नेपाली जनताको अनुहार हेर्ने अवसर पाए । यात्रामा जहाँ रात पर्छ, त्यही बास बस्नुपथ्र्यो । राजा बस्ने क्याम्पमा डिजेलबाट बिजुली निकालिन्थ्यो, त्यो उज्यालो हेर्न जनता परपरबाट आउँथे । त्यतिबेला राजासँग जनताले हुलाक मागेका थिए । ‘मैले स्कुल, पुल, बाटोघाटो, खानेपानी माग न भनेँ,’ भैरव त्यतिबेलाको सुदूरपश्चिमको चित्रण गर्छन्, ‘त्यताका मानिस भारतको बम्बई, पन्जाबतिर काम गर्न जाँदा रहेछन् । घरका सदस्यले परदेशीको खबर नपाउँदा र परदेशीले घरको खबर नपाउँदा समस्या भएको रहेछ ।’

०१७ मंसिरदेखि भैरव तथ्यांक विभागमा अस्थायी (२६ महिने) जागिरे भए, शाखा–अधिकृत पदमा । यसको लगत्तै सरकारले ‘छैटौँ राष्ट्रिय जनगणना–२०१८’ गर्‍यो । भैरवको जिम्मामा सुदूरपश्चिमका तत्कालीन तीन जिल्ला (डोटी, बैतडी र डडेल्धुरा) परेको थियो । त्यतिबेला ती जिल्लामा पुगेर जनगणना गर्नु सामान्य थिएन । यस गणना कार्यस्थलमा भैरव हाकिम थिए, उनको नेतृत्वमा केही कर्मचारीको टोली थियो । उनले श्रीमती (सुशीला)लाई पनि साथै लगेका थिए ।

‘त्यहाँका मानिसले नेपाली भाषा कम बुझ्थे । नयाँ लोग्नेमान्छे देखेपछि घरका लोग्नेमान्छे डराएर भाग्थे,’ भैरव भन्छन्, ‘त्यतिबेला जनतामा चेतना थिएन । कारबाही गर्छ भनेर डराउँथे ।’ 

भैरवकी सुशु

भैरवको विवाह १२ वर्षको उमेरमा भयो । यसको पनि कथा छ । भैरवकी आमाले दुई छोरालाई जन्म दिएकी थिइन् । आमाको मृत्युपछि भैरवका भाइलाई मामाघरमा राखिएको थियो, त्यहीँ उनको मृत्यु भयो । भैरवका बाले घर–परिवारको रेखदेखका लागि एक पत्नीको आवश्यकता महसुस गरी विवाह गरे । जेठो छोरो (भैरव)भन्दा चार वर्ष मात्रै जेठी बालिकासँग विवाह गरेकाले समाजले उनको कुरा काटेका पनि थिए । 

उतिबेला आमा नभएका टुहुरालाई छोरी दिन हिच्किचाउँथे, सौतेनी सासुले हेला गर्छन् भन्ने मान्यता थियो । कीर्तिपुर सल्यानथानका एकनाथ खनाल भैरवका बाका जजमान थिए । एकनाथले आफ्नी छोरी जगतकुमारी भैरवलाई दिने भए । पछि एकनाथलाई पक्षघात भयो, उनका एक मात्र छोराको पनि मृत्यु भएको थियो । त्यसैले उनको हेरचाहका लागि जगतकुमारी माइतीमै बस्नुपर्ने भयो । ‘यस कुरालाई मैले बुझिनँ, आत्मसात गरिनँ,’ भैरव भन्छन्, ‘स्वास्नी घरमा नभएकाले मलाई अर्को बिहे गर्ने निहुँ भयो । र, मैले ०१६ सालमा दोस्रो विवाह गरेँ, ललितपुरको चापागाउँ टाहाखेलका खेचरनाथ आचार्यकी कान्छी छोरी सुशीलासँग ।’

त्यसको दुई वर्षपछि, बुवा बितेकाले जगतकुमारी घरमा आइन् । त्यसपछि जगतकुमारीबाट एक छोरा भए, सुशीलाबाट दुई छोरा र एक छोरी छन् । ०३७ सालमा जगतकुमारीले संसार छाडिन् । यतिखेर भैरव र सुशीला घट्टेकुलोस्थित घरमा बस्छन् । भैरवले राससको जागिर छाडेपछि यो घर बनाएका हुन् । 

पत्रपत्रिकामा छापिने भैरवका आलेखहरू सुशीलाले नै टाइप गरिदिन्छिन् । विवाह गर्दा सुशीला १७ की थिइन्, भैरव ३१ का । भैरवले सुशीलालाई असाध्यै माया गर्छन् । ०५८ सालमा भैरवको चिठी संग्रह प्रकाशित छ, ‘लोग्ने–स्वास्नी र केही मित्रका चिठी’ । यस संग्रहमा रहेका १०७ चिठीमध्ये १५ वटा चिठी भैरवले लेखेका हुन् । यी चिठीको संकलन र प्रकाशनमा सुशीलाकै भूमिका रह्यो । भैरवले सुशीलालाई लेखेको एउटा चिठीको अंश यस्तो छ, ‘ए सुशु ! म त तिमीसँगै छु । यसो ध्यान दृष्टि लगाऊ त, म तिम्रो छातीमा टाँसिएको भेटाउनेछौ । नपत्याए छाती छाम त ।’

६३ वर्षदेखि भैरव दम्पती एक अर्काको सहारा बन्दै आएका छन् । ‘अचेल सुशीला पनि टाइप गर्न त्यति सक्दिनन्,’ भैरव भन्दै थिए, ‘एउटा टाइप गर्ने मान्छे पाइँदैन, कति पैसा लिन्छन् ?’ 

पुरस्कार

पञ्चायतकाल (०४३)मा राजधानी साप्ताहिकमा भैरवको एउटा लेख छापियो– ‘एसियाली मापदण्ड ः मन्त्रीमण्डलको ठगी खाने भाँडो’ शीर्षकको । यस लेख लेखेबापत राज्यविरुद्धको अपराधको मुद्दामा भैरव १० महिना जेल परे । जेलमा बसेका बेला लेखेको डायरीलाई पुस्तकाकार दिएर उनले ०५३ मा प्रकाशन गरे– ‘साधुलाई सुली’ । 

आजसम्म पत्रपत्रिकामा आफ्ना कति आलेख छापिए भन्ने भैरवलाई थाहा छैन । उनलाई बाले गरुड पुराण लगाउन सक्ने पुरेत बनाउन चाहन्थे । गरुड पुराण लगाए मृतात्माले मुक्ति पाउँछन् भन्ने विश्वास थियो र छ । तर, भैरवले सर्वहाराको मुक्ति दिने ‘कम्युनिस्ट विचारधारा’ रोजे, राज्यलाई बेथितिबाट मुक्त गराउने पत्रकारितामा जमे । 

२०६२ सालमा उनलाई मदन पुरस्कार गुठीले ‘जगदम्बा–श्री’बाट सम्मान ग¬र्‍यो । सम्मानपत्रमा लेखिएको छ, ‘संवत् २०६२ सालको पुरस्कार जगदम्बा–श्री ‘गत आधा शताब्दिदेखि नेपाली पत्रकारिता क्षेत्रको सेवा अनवरत रूपले गरी छापादेखि विद्युतीय माध्यमसम्म पूर्ण रूपले संलग्न रही नेपाली पत्रिकारितालाई संवद्र्धन गर्दै नेपाली भाषाको विकासमा अद्यापि उल्लेखनीय योगदान गरिरहेबापत’ श्री भैरव रिसाललाई प्रदान गरिएको छ ।’ 

यसलाई उनी उच्च सम्मान मान्छन् । भैरवले थुप्रै पुरस्कार पाएका छन् । २०७६ मा युद्धप्रसाद मिश्र पुरस्कार पाउँदा भैरवले भनेका थिए, ‘हालसम्म मैले धेरै पुरस्कार पाइसकेको छु । मैले पाएको पुरस्कारमध्ये यो अमूल्य छ । कारण, पहिलो गणतन्त्रवादी कविले गणतन्त्र शब्दमार्फत समाजमा प्रभाव पारेका थिए ।’ 

भैरवले सरकारले दिने पुरस्कार भने पाएका छैनन् । यस सम्बन्धमा भैरव भन्छन्, ‘सरकारले दिने पुरस्कार नपाएर राम्रै भयो, किनभने त्यो प्रायः चाकरी गर्नेले पाउँछन् ।’ 

०००

भैरवलाई घुँडा दुख्न थालेको आठ–दश वर्ष भयो । पछिल्लो तीन–चार वर्षदेखि उनी पार्किन्सनबाट पनि पीडित छन् । 

नयाँ पुस्तासँग कुरा गर्न उनले खास रुचि र जाँगर देखाउँछन् । उनको स्मरण शक्ति तीक्ष्ण नै लाग्छ । राजा महेन्द्रले सुदूरपश्चिमको भ्रमण गरेका सम्बन्धमा उनले मितिसहित भनेका थिए । उनको सक्रिय जीवन देखेर जिज्ञासा हुन्छ– उनको लेखपढ, ध्यान–व्यायाम, खानपानको तालिका कस्तो होला ?

उनी साधारण जवाफ दिन्छन्, ‘अचेल लेखपढ गर्‍यो, बिर्सियो । ध्यानयोग गर्दिनँ । बिहानमा हिँड्न सक्दिनँ ।’ 

दिनको ३ बज्दै थियो, उनको घरको छतमा बसेर हामी गफिँदै थियौँ । कात्तिकको घाम दक्षिणतिर ढल्कँदै थियो । एउटी सानी नानीले हाम्रा लागि फुरनदाना, लड्डु र मिल्क–कफी लिएर आइन् । भैरवले यी परिकार बडो स्वाद मानेर खाए ।

(नोट : रातोपाटीमा यसअघि प्रकाशन भइसकेको यो सामग्री पठनीय र सङ्गहणीय हुने ठानेर हामीले एक्सक्लुसिभ रातोपाटीमा पुनः प्रकाशन गरेका हौँ — सम्पादक ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप