सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

आईपीएलमा आज : पहिलोपटक लखनउलाई हराउने योजना बुन्दै दिल्ली

शुक्रबार, ३० चैत २०८०, १९ : ००
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । लखनउ र दिल्लीबिचको खेल लखनउस्थित अटल बिहारी वाजपेई (एकाना) क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको १७ औँ संस्करणमा खेल्न लागिएको यो २६औँ खेल हो । जारी आईपीएलमा लखनउले खेल्न लागेको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा लखनउ विजयी भएको छ । एक खेलमा भने लखनउले हार ब्यहोरेको छ ।

लखनउ ६ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । दिल्ली क्यापिटल्सले भने छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र दिल्ली विजयी भएको छ । चार खेलमा भने दिल्लीले हार ब्यहोरेको छ ।

जारी सिजनमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको दिल्ली केवल दुई अंकसहित तालिकामा सबैभन्दा तल १०औँ स्थानमा छ । दिल्ली क्यापिटल्सले एकमात्र खेलमा चेन्नई सुपर किङ्सलाई २० रनले पराजित गरेको थियो ।

००

हेड टु हेडमा लखनउ अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच कुल तीन खेल खेलिएको छ । हालसम्म खेलिएको तीनवटै खेलमा लखनउले दिल्लीलाई हराएको छ । लखनउमा भने हालसम्म यी दुई टोलीबिच एक खेलमात्र खेलिएको छ ।

उक्त खेलमा लखनउले दिल्लीलाई ५० रनले हराएको थियो । त्यसैले दिल्ली शुक्रबार खेलिने खेलमा लखनउविरुद्ध पहिलो जित हात पार्ने धुनमा रहने छ । अर्कोतिर, लखनउ भने दिल्लीविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्ने योजनामा रहने छ ।

००

लखनउको सर्वाधिक रन निकोलस पुरनको नाममा

जारी सिजनको आईपीएलमा लखनउको सुरुवात भने गतिलो थिएन । तर, पछि लखनउले उत्कृष्ट पुनरागमन गरेको थियो । लखनउ सुपर जाइन्ट्सले पछिल्ला तीन खेलमा लगातार जित हात पार्दै आएको छ ।

लखनउले आफ्नो पछिल्ला तीन खेलमा पञ्जाब किङ्सलाई २१ रनले, रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले र गुजरात टाइटन्सलाई ३३ रनले हराएको थियो । बायाँहाते ब्याट्सम्यान निकोलस पुरन हालसम्म लखनउका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

पुनरले हालसम्म खेलिएका चार खेलमा लखनउका लागि कुल एक सय ७८ रन बनाइसकेका छन् । जारी सिजनमा लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने मयंक यादब हुन् । तर, उनले शुक्रबारको खेल खेल्ने सम्भावना देखिँदैन । लखनउका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा यश ठाकुर दोस्रो स्थानमा छन् । उनले हालसम्म ६ विकेट लिएका छन् ।

००

खलिल अहमद दिल्लीका सफल बलर

जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सको प्रदर्शन भने अत्यन्तै निराशाजनक छ । पाँचमध्ये एक खेलमा मात्र दिल्ली विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्ससँग हार ब्यहोरेको थियो । दिल्लीले एकमात्र जित भने चेन्नई सुपर किङ्सविरुद्ध हात पारेको थियो ।

जारी सिजनको आईपीएलमा दिल्लीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्रिस्टन स्टब्स हुन् । विकेटकिपर ब्याट्सम्यान ट्रिस्टनले हालसम्म पाँच खेलमा कुल एक सय ७४ रन बनाएका छन् । सदिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने खलिल अहमद हुन् । उनले हालसम्म सात विकेट लिइसकेका छन् ।

००

मयंक यादबले खेल्ने सम्भावना निकै कम

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा लखनउ सुपर जाइन्ट्सका तीव्रगतिका बलर मयंक यादबले खेल्ने सम्भावना निकै कम देखिएको छ । उनले यसअघि खेलिएको गुजरातविरुद्धको खेलमा पनि एक ओभरमात्र बलिङ गरेका थिए ।

स्वास्थ्य सम्बन्धि समस्याका कारण सम्भवतः उनी दिल्लीविरुद्धको खेलमा अनुपस्थित रहने छन् । लखनउका प्रमुख कार्यकारी अधिकृत विनोद बिष्टले पनि मयंक यादवको पेटमा समस्या रहेको बताएका छन् । त्यसैले दिल्लीविरुद्धको खेलमा उनलाई खेलाएर लखनउ कुनै जोखिम मोल्न चाहँदैन । उनले जारी सिजनको आईपीएलमा ६ विकेट लिइसकेका छन् ।

००

स्पिन बलरलाई साथ दिने पिच

लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सबिच शुक्रबारको खेल हुने अटल विहारी वाजपेई (एकाना) स्टेडियम खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । हालसम्म यो स्टेडियममा खेलिएको खेलमा स्पिनरहरु नै हावी भएको देखिन्छ ।

त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा कम रन बन्ने गरेको देखिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल नौ खेल खेलिएको छ । यो स्टेडियममा कुनै पनि टोलीले बनाएको सर्वाधिक योगफल आठ विकेट गुमाएर १९९ रन हो । उक्त योगफल लखनउले यसै वर्षको आईपीएलमा पञ्जाब किङ्सविरुद्ध बनाएको थियो ।

००

छैन वर्षाको सम्भावना

दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने दिन शुक्रबार लखनउको मौसम सफा रहने बताइएको छ । वर्षाको कुनै सम्भावना नरहेको जत तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार लखनउको तापक्रम २४ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

००

सम्भावित टोली

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिक्कल वा दीपक हुड्डा, निकोलस पुरन, मार्कुस स्टोइनिस, आयुष बडोनी, कुणाल पाण्ड्या, रवि बिस्नोई, यश ठाकुर, मोहसिन खान र नविन उल हक ।

इम्प्याक्ट खेलाडी : कृष्णप्पा गौतम ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, अलित यादव, जोय रिचर्डसन, इशान्त शर्मा, खलिल अहमद र एनरिच नोर्जे ।

इम्प्याक्ट प्लेयर : कुमार कुशाग्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप